काठमाडौं,७ फागुन । थानकोटदेखि चन्द्रगिरी डाँडामा पुग्ने केबुलकारको लागि निर्माण कार्य भइरहेको छ । सम्भवतः २०७२ सालको असोजमसान्तसम्म यो केबुलकार संचालन हुनेछ । केबुलकारको माथिल्लो स्टेसन चन्द्रगिरीको डाँडामा स्वच्छन्दता निर्माण सेवा र तल्लो फेँदी थानकोट भागमा सीई कन्स्ट्रक्सनले निर्माण कार्य गरेका छन् । यसमा प्रयोग गरिने केबुलकारको उपकरण नेपालमा आइसकेको छ । झण्डै साढे २ किलोमिटर लम्बाईमा केबुलकारको यात्रा हुनेछ । केबुलकारका निम्ति ११ वटा टावर रहने र ९ मिनेटमै थानकोटदेखि चन्द्रगिरी डाँडामा पुग्न सकिन्छ । एक घण्टामा ५ सयजनालाई सेवा दिने उद्देश्य राखिएको छ । केबुलकारको एउटा क्याबिनमा ८ जनाले यात्रा गर्न सक्नेछन् ।
त्यतिमात्र होइन चन्द्रगिरी डाँडामा पनि अहिले आकर्षक हेर्नलायकका संरचनाहरु निर्माण भइरहेका छन् । ‘इच्छापूर्णेश्वर महादेव’ मन्दिरसहित रिसोर्टको निर्माण कार्य भइरहेको छ । यो मन्दिरमा पूज गर्न जाँदा मनको इच्छा पूरा हुने जनविश्वास कायम राख्न मन्दिरको नाम नै इच्छापूणेश्वर महादेव राखिएको हो । वार्षिक ५ लाख पर्यटकलाई चन्द्रगिरी डाँडामा पु¥याउने लक्ष्य छ । चन्द्रगिरी डाँडा ऐतिहासिक तवरले पनि महत्वपूर्ण डाँडा हो ।यहीं डाडाँबाट पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्न सफल भएका हुन् । काठमाडौं फनपार्कले यसको जिम्मा लिएको हो ।
अर्कोतर्फ यता राजधानी काठमाडौंको शहरमा अव केबुलकारबाट घुम्न पाइनेगरी अध्ययन अनुसन्धान भइरहेको छ । काठमाडौंको व्यस्त सडकलाई मध्यनजर गर्दै केबुलकार चलाउने परिकल्पना भएको हो । यहीं परिकल्पनालाई पुरा गर्नका लागि फ्रान्सले विशेष सहयोगको प्रतिबद्धता जनाइसकेको छ । काठमाडौंको नारायणगोपाल चोक र रत्नपार्क हुँदै लगनखेलसम्म पुग्ने र अर्को रुट कलंकीबाट चाबेल हुँदै बौद्धसम्म केबुलकार चलाउनेगरी अध्ययन भएको छ । यदि यी रुटमा फ्रान्सको अध्ययन सम्भाव्यता सफल भएमा केबुलकारको निर्माणमा फ्रान्सले सहयोग गर्नेछ । त्यसो त नेपालबाट भने यसको अध्ययन भइसकेको छ । ‘काठमाडौं एयर ट्रम एण्ड केबुलकार प्रालि’ले यसको सम्भाव्यता देखाएको हो । सम्भाव्यताले गाडिमा चढेर १ घण्टा लाग्ने यात्रालाई केबुलकारबाट १५ मिनेटमै पुरा गर्न सकिने देखाइएको छ । सडकमाथि संचालन हुने यो २ रुटको केबुलकार निर्माणमा १३ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान छ ।
प्रतिक्रिया