काठमाडौं ,१७ वैशाख । एमाले संसदीय दलका नेता केपी ओलीलाई फंगल्स मेनेन्जाइटिस पुष्टि भएपछि थप उपचारका लागि थाइल्यान्डको बैंकक लगिने भएको छ। एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार शान्त वातावरणमा थप उपचार गर्नुपर्ने भएकाले ओलीलाई बैंककको सुकुम्भित अस्पतालमा लैजान लागिएको हो। अपरान्ह छ बजे बैंकक लगिने भएको छ। त्योभन्दा पहिले अस्पतालमा ओलीको ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, बान्ता हुनेलगायत समस्या देखिएपछि ओली उपचारका लागि आइतबार राति महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। यहाँ उपचार गर्दा भेट्न आउने नेताकार्यकर्ताको भीड बढ्दै गएपछि विदेशमा लगेर उपचार गर्ने निर्णय गरिएको श्रेष्ठले बताए।
उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतम, स्वास्थ्यमन्त्री खगराज अधिकारी, एमाले उपाध्यक्ष विद्या भण्डारी, उपचारमा संलग्न चिकित्सकहरू शशि शर्मा र दिव्या सिंहबीच भएको छलफलपछि ओलीलाई थप उपचारका लागि एअर एम्बुलेन्सबाट बैंकक लैजान लागिएको हो। ओलीलाई बैंकक लैजाने सम्बन्धमा मन्त्रिपरिषद्मा पनि छलफल गरिने स्रोतले बतायो।
ओलीलाई मेनेन्जाइटिस भएको आशंका गर्दै थप पुष्टिका लागि ढाडबाट निकालिएको पानी परीक्षण गर्न भारत पठाइएको थियो। उपचारमा संलग्न मिर्गौला रोग विशेषज्ञ डा। दिव्या शाहले भारतबाट मंगलबार अपराह्न आएको रिपोर्टअनुसार ओलीलाई फंगल्स मेनेन्जिाइटिस पुष्टि भएको बताइन्। उनले भनिन्, ुफंगल्स मेनेन्जिाइटिस पुष्टि भएकाले सोहीअनुसार ट्रिटमेन्ट अगाडि बढाइएको छ।ु
चिकित्सकका अनुसार फंगल्स मेनेन्जिाइटिसले विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै गरेका व्यक्तिलाई आक्रमण गर्छ। यसअघि ओलीको टाउकोको सिटी स्क्यान गरिएको थियो भने रगत जाँच गर्दा टाइफाइडको लक्षण पनि देखिएको थियो। आठ वर्षअघि भारतमा दुवै मिर्गौला प्रत्यारोपण गरेका ओलीमा युरिक एसिड, फोक्सोको निमोनियालगायत समस्या पनि पटकपटक देखिँदै आएको छ।
नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा एक महिना लामो उपचारपछि यही वैशाख ६ गते ओली घर फर्किएका थिए। उनलाई चिकित्सकले कम्तीमा तीन महिना आराम गर्न सल्लाह दिएका थिए। तर एमालेको आगामी महाधिवेशनमा अध्यक्षका दाबेदार ओली स्वदेश फर्कनासाथ राजनीतिक दौडधुपमा व्यस्त भएपछि फेरि बिरामी भएका हुन्।
प्रतिक्रिया