थिम्पु (भुटान),४ फागुन । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा)को आयोजनामा भुटानको राजधानी थिम्पुमा बिहीबारदेखी एडभेञ्चर ट्राभल एन्ड रेस्पोसिवल टुरिजम कन्फोरेन्स एन्ड मार्ट २०१५ सुरु भएको छ ।
‘एक्स्प्लोर वियोन्ड टुरिजम-सेलिब्रेट हेप्पीनेस’ नारासहित सुरु भएको सम्मेलनमा एशिया तथा प्यासिफिक क्षेत्रका १४ मुलुकबाट करिव २ सय प्रतिनिधिहरुको सहभागिता रहेको छ । सम्मेलनमा सहभागीहरुले साहसिक पर्यटनको दीर्घकालीन विकासमा जोड दिएका छन् । सम्मेलनलाई सम्बोधन गर्दै पाटाका प्रमुख कार्यकारी अधिकृत मारियो हार्डीले दीगो तथा जिम्मेवार पर्यटन विकासमा लाग्नुपर्ने बताए ।
पछिल्ला वर्षहरुमा भ्रमणमा निस्किने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुँदै गएको बताउँदै उनले यसबाट फाइदा लिन नयाँ गन्तव्यहरु पहिचान गरि प्रवर्द्धन गर्न सहभागीहरुलाई सुझाव दिए । पाटाले आयोजना गर्ने सम्मेलन तथा मेलाले नयाँ गन्तव्यहरुको पहिचान गरि एक अर्को देशमा प्रवर्द्धन गर्न सघाउ पुराउने हार्डीले दाबी गरे । विश्वभर पर्यटक आगमन बढ्दै जान थालेपछि धेरै मुलुकहरुको अर्थतन्त्र पर्यटनमा निर्भर हुन थालेको उनको भनाइ थियो ।
‘सन् २०१४ मा अन्तर्राष्ट्रिय पर्यटक आगमन एक अर्ब १० करोड रहेको छ’ हार्डीले भने- ‘सन् २०१५ मा यस्तो पर्यटक आगमन ४.७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।’
पाटा सम्मेलनले बायर र सेलरलाई एक ठाउँमा जम्मा गराई व्यवसाय आदान प्रदान गर्नका लागि सहयोग पुराउँदै आएको हार्डीले बताए । अबको पर्यटन व्यवसाय साहसिक पर्यटनमा आधारित भएको उल्लेख गर्दै यसको विकासमा ट्राभल एजेन्टहरुलाई ध्यान केन्दि्रत गर्न सुझाव दिए ।
पर्यटन परिषद भुटानकी निर्देशक छिमी पेमले भुटानले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर प्रवर्द्धन गरिरहेकेा जानकारी दिइन् । विश्वमा तीव्र गतिमा बढिरहेको पर्यटनको विकासमा भुटान पनि सहभागि हुँदै गएको उनको भनाइ छ ।
भुटानले उच्च प्राथमिकता र मूल्याङ्कनमा परेको पर्यटनका उत्पादनहरुको विविधिकरण गर्ने काम गरिरहेको छ । गुणस्तरीय पर्यटकीय सेवा दिनमा भुटान अग्रस्थानमा रहेको दाबी गर्दै साहसिक पर्यटनको दीगो विकासमा लागेको उनले बताइन् ।
पेमका अनुसार भुटानमा सन् १९७४ मा पहिलो पटक विदेशी पर्यटक आएका थिए । त्यतिबेला देखि नै यस क्षेत्रमा ठूलो सम्भवना देखेर भुटानले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर प्रवर्द्धनको कार्यक्रम आयोजन गर्दै आएको उनको भनाई छ ।
यङफेल एडभेञ्चर ट्राभल भुटानका प्रमुख कार्यकारी अधिकृत कर्मालोटेले सन् २००९ देखि २०१३ सम्म आइपुग्दा ट्राभल मार्केटमा साहसिक पर्यटकको वृद्धि ६५ प्रतिशत रहेको बताए ।
कर्मालोटेले सन् २०१३ मा विश्वभरको साहसिक पर्यटनबाट ३ खर्ब ४५ अर्ब डलर आम्दानी भएको जानकारी दिए । पछिल्लो समय साहसिक पर्यटकीय गतिविधिमा जाने पर्यटकहरु बढेको उनको भनाई छ ।
सेन्टर फर भुटान स्टडीजका अध्यक्ष डासो कर्मा उराले भुटानको कुल ग्राहस्थ उत्पादनमा पर्यटनको योगदान १७ प्रतिशत रहेको बताए ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले साहसिक पर्यटनको मुख्य गन्तव्य दक्षिण एशियाली मुलुकहरु रहेको उल्लेख गर्दै यसबाट फाइदा उठाउन सम्बन्धीत सम्मेलनमा सहभागीहरुलाई आग्रह गरे ।
साहसिक पर्यटनका लागि नेपाल विश्वमै उत्कृष्ट गन्तव्य हो । नेपालमा सानो लगानीमै साहसिक पर्यटनका गतिविधिहरु सञ्चालन गरेर विश्वका नौ जवानहरु भित्राउन सकिने सम्भवना रहेको पाण्डेले बताए ।
अहिले नेपालमा बञ्जी जम्प, र्याफ्टिङ, क्यानोनिङ, माउन्टेन क्लाइम्बिङ, प्याराग्लाइडिङ, अल्ट्रालाइट, रक क्लाइम्बिङ, बुलडेरिङ, हाइकिङ, बुस हाइकिङ, ट्रेल रनिङ, रिभर हाइक, मोटर बाइकिङ, जीप फ्लाई, माउन्टेन फ्लाइट, स्काई डाइभिङ, ट्रेकिङ, साइक्लिङ, केवुलकार लगायतका साहसिक गविधिहरु सञ्चालन गरिँदै आएको छ ।
यी गतिविधिहरुको थप प्रचार प्रसार गरि अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न पाटा मार्टको भूमिका महत्वपूर्ण हुने सुमन पाण्डेले बताए । नेपाली ट्राभल कम्पनीहरुका लागि यो सम्मेलन उत्कृष्ट मञ्च सावित हुने उनको विश्वास छ । सम्मेलनमा एशिया प्यासिफिक क्षेत्रका बायर्स र सेलर्सबीच ‘बि टु बी’ मिटिङ हुने छ ।
सम्मेलनमा भाग लिन नेपालबाट (पाटा) नेपाल च्याप्टर र १४ ट्राभल कम्पनीहरु आएका छन् । शुक्रबारसम्म चल्ने सम्मेलनमा एक्सप्लोर हिमालय, एपिक राइड्स, हिमालय होलिडेज, आइसफल एड्भेञ्चर, केजिएच ग्रुप अफ होटल्सले भाग लिएका छन् ।
साथै, सांगि्रला होटल, टाइगर माउन्टेन नेपाल, एशिया एड्भेञ्चर एक्सकर्सन, बि्रक्स क्याफे, होटल पिस प्लाजा, माउन्ट कैलास रिसोर्ट, नेप्लिज इन्काउन्टर्स, प्याराडाइज क्याफे र रोयल माउन्टेन ट्राभल पनि सम्मेलनमा सहभागी छन् ।
प्रतिक्रिया