काशी पोख्रेल
बाँके,४ फागुन । भारतीय भूमि भएर नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्दै गएको छ । तेस्रो मुलकका पर्यटकको रेकर्ड राखिए पनि भारतीय पर्यटक कति आउँछन् भन्ने अध्यागमन कार्यालय नेपालगन्जसँग कुनै रेकर्ड छैन ।
गत आर्थिक वर्षभन्दा यस आर्थिक वर्षको ७ महिनामा सोही परिमाणका पर्यटक नेपालगन्ज नाका हुँदै नेपाल आइसकेका छन् । आर्थिक वर्ष २०७-०७२ को ७ महिनामा ३५५ जना पर्यटक नेपाल भित्रिएका अध्यागमन कार्यालय नेपालगन्जका प्रमुख शान्ति न्यौपाने भट्टराईले बताइन् ।
आर्थिक वर्ष २०६९-०७० मा २७५ र आर्थिक वर्ष २०७०÷०७१ मा ३५३ जना तेस्रो मुलुकका पर्यटक नेपाल आएका थिए । भारतीय बाटो भएर नेपाल आउने पर्यटकभन्दा नेपालगन्ज नाका भएर भारत जाने तेस्रो मुलुकका पर्यटकको संख्या धेरै भएको अध्यागमन प्रमुख भट्टराईले बताइन् ।
आर्थिक वर्ष २०७१-०७२ को ७ महिनामा ४३७ जना पर्यटक नेपालगन्ज हुँदै भारत गएका छन् भने आर्थिक वर्ष २०६९-०७० मा ३२७ र आर्थिक वर्ष २०७०-०७१ मा ५०२ जना तेस्रो मुलुकका पर्यटक नेपालगन्ज नाका प्रयोग गरेर भारत गएको उनले जानकारी दिइन् ।
नेपालमा जारी द्वन्द्व ब्यवस्था भई शान्ति स्थापना हुने क्रममा रहेकोले नेपालगन्जको बाटो भएर तेस्रो मुलुकका पर्यटकको संख्या बढ्दै गएको अध्यागन कार्यालयले जनाएको छ ।
तेस्रो मुलकका पर्यटक आउने सिजन पुस, माघ भएको बताउँदै अध्यागमन प्रमुख भट्टराईले गर्मी दिनको तुलनामा जाडो मौसममा पर्यटकको संख्या बढी आउने गरेको बताइन् । नेपालगन्जको बाटो भएर आउने पर्यटक बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली, सुर्खेत र पोखराका लागि आउने गरेका छन् ।
दिल्ली–काठमाडौँ बस सेवा नियमित भए पर्यटकको संख्या झनै बढ्ने अध्यागमनको भनाई छ । ‘दिल्ली–काठमाडौँ बस सेवा नियमित भए तेस्रो मुलुकका पर्यटकको संख्या अझ बढ्न सक्थ्यो,’ प्रमुख भट्टराईले भनिन् ।
प्रतिक्रिया