विराटनगर, ३ फागुन । जगदम्बा लुम्बिनी फुटबल क्लब रुपन्देही विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भारतको सिक्किमस्थित यूनाइटेड फुटबल क्लबलाई शून्यका विरुद्ध २ गोलले पराजित गर्दै लुम्बिनीले सेमिफाइनलमा स्थान पक्का गरेको हो । शनिबरको खेल सुरु भएको २० औं मिनेटमा लुम्बिनीका रवि सिलवालले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । यस्तै दोस्रो हाफको २० औं मिनेटमा लुम्बिनीका अनिल गुरुङले अर्को गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।
लुम्बिनीकै विश्वास श्रेष्ठ आजको खेलको म्यान अफ द म्याच घोषित भएका छन् । भारतका पूवर्राष्ट्रिय खेलाडी भाइचुन भुटियाको टिम युनाइटेडले बाइ पाएर सिधै क्वाटरफाइनल खेलेको हो भने लुम्बिनी उद्घाटन खेलमा आयोजक मोरङ ११ लाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो । आज हुने दोस्रो क्वाटरफाइनल खेल जर्ज टेलिग्राफ कोलकत्ता भारत र त्रिभुवन आर्मी क्लबबीच हुने अयोजक समितिका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिनुभयो । शनिबारको विजेता लुम्बिनीले फागुन–६ गते हुने पहिलो समिफाइनल खेलमा झापा–११ र नेपाल पुलिस क्लबको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया