काठमाडौं, २६ माघ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले हरेक वर्षझै यस वर्ष पनि लोसार विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको छ । यस वर्ष अलिक पृथक तरिकाबाट पर्यटकीय केन्द्र ठमेलको सडकमा खुल्ला रुपमा लोसार मेला आयोजना गर्न लागिएको टानले जनाएको छ । टानका अध्यक्ष रमेश धमलाले लोसार पर्वको अवसरमा टानले विगतदेखि नै कार्यक्रम आयोजना गर्दै आए पनि यसलाई राष्ट्रिय मेलाकै रुपमा आयोजना गर्दै पर्यटन प्रवद्र्धनको माध्यामको रुपमा विकास गर्न ठमेलको सडकमा लोसार मेला
आयोजना गर्न लागिएको बताउनुभयो ।
उहाँकाअनुसार ठमेलस्थित सञ्चयकोष भवन अगाडि विहान सात बजेदेखि बेलुकी ११ बजेसम्म मेला संचालन गरिने छ । जसमा ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) को पनि सहयोग रहनेछ । एक दिवसीय महोत्वसमा तामाङ, शेर्पा, गुरुङ समुदायका झाकी, बाजागाजात अन्य संस्कृतिको प्रर्दशन गर्नुका साथै विभिन्न परिकारहरुको समेत स्वदा चाख्न पाइने छ । तीनै समुदायको संस्कृतिक पर्वको प्रचार प्रसार तथा संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले महोत्सवको आयोजना गर्न लागिएको टानका उपाध्यक्ष कुलबहादुर गुरुङले बताउनुभयो ।
मेलाको उद्घाटन दिउसो १ बजे प्रधानमन्त्री सुशील कोइरालाले गर्ने कार्यक्रम रहेको छ । नेपाली कला, संस्कृतिको संरक्षण र उचित्त प्रचार प्रसारका लागि हरेक वर्ष ल्होसार मेला संचालन गरिदै आएको छ । यसअघि पनि टानले हरेक वर्ष लोसार पर्वको अवसरमा लोसार विशेष कार्यक्रम आयोजना गर्दै आएको थियो । त्यसैको निरन्तरतास्वरुप यस वर्षको लोसार पर्वलाई पहिलोपटक ठमेलको सडकमा खुल्ला रुपमा मनाउन लागिएको हो ।
प्रतिक्रिया