३० अर्बमा बिक्री भयो विश्वकै महंगो पेन्टिङ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ माघ २०७१, आईतवार ०७:१७

बासेल  – फ्रेन्च चित्रकार गाउगुइनले तयार गरेको एक पेन्टिङ लगभग ३० अर्ब रुपैयाँमा विक्री भएको छ । तहिटीका दुई किशोरीहरुको उक्त पेन्टिङ ३०० मिलियन डलरमा बिक्री हुँदै विश्वकै सबैभन्दा महंगो मूल्यमा विक्री भएको पेन्टिङको रेकर्ड समेत बनाएको छ । नाफिया फा इपोइपो (कहिले विवाह गर्छौं ?) नाम दिइएको उक्त पेन्टिङ सन् १८९२ मा तयार गरिएको थियो । यसलाई स्वीटजरल्याण्डका एक संग्रहकर्ताले राखेका थिए ।

बिबिसीका अनुसार उक्त चित्र कतारको एक म्युजिमलाई बिक्री गरिएको छ । यद्यपि यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । विक्री अघि गाउगुइनको रुडोल्फ स्टेचेलिनसँग रहेको थियो । बासेलमा रहेको कुन्सट म्युजियमलाई उक्त पेन्टिङ करारामा राख्न दिइए पनि उक्त संग्राहलयसँग कुरा नमिलेपछि स्टेचेलिनले चित्र बेच्ने निर्णय गरेका हुन् । स्टेचेलिनले खरिदकर्ताको नाम बताउन नचाहेको न्युयोर्क टाइम्सले लेखेको छ । यद्यपि, विभिन्न मिडियाहरुले स्रोतको हवाला दिँदै उक्त पेन्टिङ कतारका खरिदकर्ताहरुलाई बिक्री गरिएको उल्लेख गरेको छ । कतारका अधिकारीहरुले यसको पुष्टि गरेका छैनन् । यसअघि कतारले नै चित्रकार पाउल सिजेनको पेन्टिङलाई २ सय ५९ मिलियन डलरमा खरिद गर्दै विश्वकै महंगो पेन्टिङको रेकर्ड बनाएको थियो । गत वर्ष निधन भएका पूर्व संस्कृति मन्त्री सेश साउद बिन मोहमद अल थानीले १ बिलियन डलरभन्दा बढी चित्रकलाहरु खरिद गर्न खर्च गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, पुस १३, २०८१