भारत,२३ माघ । भोली शनिबार सम्पन्न हुन लागेको दिल्ली विधानसभाको निर्वाचनले भारत तातेको छ । आठ पार्टीका शक्तिशाली उम्मेद्धारहरु मैदानमा उत्रिएका छन् । सत्तारुढ भारतीय जनता पार्टीदेखि पछिल्लो धक्काले तंग्रिदै, उठ्दै गरेको आम आद्मी पार्टी र काँग्रेस आई समेत निर्वाचनमा तीब्र प्रतिस्पर्धामा देखिएका छन् । समग्र भारतीय जनताको सदभाव र मत कता पर्छ, त्यो प्रतिक्षाकै विषय रहेको छ । ६७३ जना उम्मेद्धारहरु मैदानमा उत्रिएका सो विधानसभामा एक करोड ३३ लाख मतदाताले मतदान गर्नेछन् ।
भारतीय जनता पार्टीको प्रतिष्ठा र प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियतासँगै जोडेर सो पार्टीका उम्मेद्धारहरुले आफ्नो नारा तय गरेका छन् । भारतीय सञ्चारमाध्यामहरुले भनेका छनः ‘यो निर्वाचन प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिष्ठासँग पनि जोडिएर आएको छ ।’
उता,अघिल्लो सालको लोकसभा निर्वाचनमा जवर्जस्त हार बेहोरेको आम आद्मी पार्टी समेत सक्रिय रुपमा निर्वाचनको मैदानमा उत्रिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नजरमा अराजकतावादीको संज्ञा खेपिरहेका केजरीवाल आफै चुनावी मोर्चाको नेतृत्व गरिरहेकोले पनि विधानसभा निर्वाचन निकै प्रतिस्पर्धाबाट गुज्रिने अड्कल काटिएको छ । अघिल्लो वर्ष ४९ दिनसम्म दिल्लीमा सरकार चलाएका केजरीवाल र उनको आम आद्मी पार्टीलाई लोकसभा निर्वाचनमा जबर्जस्त धक्का लागेको थियो, तर पछिल्लो सर्वेक्षणलाई आधार मान्दा दिल्ली विधानसभा निर्वाचनमा आम आद्मी पार्टीकै बहुमत आउन सक्ने भारतीय सञ्चारमाध्यामहरुले बताइरहेका छन्, तर परिणाम के हुन्छ, केही दिनपछिको परिणामले नै देखाउनेछ ।
प्रतिक्रिया