किन असुरक्षित बन्दैछ पर्यटनक्षेत्र ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० माघ २०७१, मंगलवार ११:१४

ज्ञानमणि कालोटोपी

gyanmani
‘अतिथी देवो भवः अर्थात् पाहुना देवता सरह हुन् । ’
पहिले–पहिले यसो भन्ने गरिए पनि अव यो मान्यता नेपालमा असफलप्रायः भईसकेको छ । हाम्रो धार्मिक मान्यताले नेपालमा अतिथीलाई देवता सरह मान्ने गरिए पनि अब भने यस्तो मान्यता रद्दिमा फालिए झैं भएको प्रष्ट छ । विगत केहि वर्ष यता नेपालमा घुम्न आएका पाहुना पर्यटक दैनिक जसो लुटिने गरेको तथ्याङ्क सार्वजनिक भए सँगै नेपालको पुरानो मान्यता पनि असफल भएको हो कि भनेर सहजै अनुमान गर्न सकिन्छ । मान्यता असफल मात्र भएन, केहि व्यक्तिहरुको सिमीत स्वार्थले देशको छवि अन्र्तराष्ट्रिय क्षेत्रमै धमिलो बन्ने अवस्था पनि आएको छ ।
नेपालमा पर्यटकिय सम्भावना बोकेका अनेकौं विषयहरु छन् । यहाँको हिमश्रृखला, हरियाली वातावरण , विश्वलाई नै चिनाउने थुप्रै धार्मिक मठमन्दिरहरुका साथै यहाँको कला, नदीनाला , तालतलैया लगायतले पर्यटकहरुलाई आर्कषित गराउनु स्वभाविक नै हो । नेपाल भ्रमणमा आउने गरेका पर्यटकहरु विभिन्न बाहानामा ठगिने र लुटिने गरेको समाचार सँगै पछिल्ला दिनहरुमा अन्र्तराष्ट्रियस्तरमा नेपालको छवि पनि धमिलो बन्न पुगेको छ । प्रायजसो दुर्गम भनिएका र हिमाली जिल्लामा ट्रेकिङ्गका लागि जाने गरेका पर्यटकहरु लुटिने गरेको सुनिंदै आएको थियो । तर अहिले त उपत्यका भित्रै दिउसै पर्यटकहरु लुटिने गरेको तथ्याङ्क बताउँछ ।
हुन त नेपाल भ्रमणमा यहि देशका यति नै पर्यटकहरु घुम्न आउँछन् भनेर ठ्याक्कै भन्न नसकिए पनि ४० भन्दा वढि देशका पर्यटकहरु भ्रमणका लागि आउने गरेको देखिएको छ । जस मध्ये अमेरिका , जापान , वेलायत, चीन , अष्ट्रेलिया , क्यानडा लगायत देशबाट आएका पर्यटकहरु वढि मात्रामा लुटिने गरेका छन् । यस वर्ष ५ सय ६९ पर्यटकहरु विभिन्न आपराधिक गिरोहहरुका शिकार भएका छन् । अघिल्लो वर्ष राजधानी भित्रै ३९ जना पर्यटकहरु लुटिएका थिए । यो वर्ष राजधानीमै लुटिने पर्यटकहरु १७ जना रहेका छन् । त्यस्तै गत वर्ष देशभरिमा ३ सय ८ जना लुटिएका थिए भने यस वर्ष यो संख्या बढेर ३ सय ३३ पुगेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
पछिल्ला केहि दिन यता देखि राजधानीका पर्यटकहरुको भीड धेरै हुने स्थानहरु वसन्तपुर , पाटन र भक्तपुर लगायतमा पर्यटकहरु ठग्न र लुट्न पल्किएकाहरुको गिरोह नै सक्रिय रहेको पाईएको छ । यस्ता घट्नाहरु वढिरहेको र संलग्न केहिलाई पक्राउ गरिसकिएको महानगरिय अपराध महाशाखाको तथ्याङ्कमा उल्लेख छ । कतिपय अपराधीहरु फरार छन् । अपराधीहरुले पर्यटकहरुका क्यामेरा, पर्स लगायत झोलाहरु पनि लुट्ने गरेका छन् । त्यसैले यस्ता गिरोहहरुबाट बच्नका लागि पर्यटकहरुलाई नेपाली जागरुक युवाहरुले सहयोग गर्नु आवश्यक रहेको महाशाखा बताउँछ । प्रहरीकै अर्को एक तथ्याङ्क अनुशार गत वर्ष ठगिने पर्यटकहरु २२ जना रहेकोमा यो वर्ष वढेर ४२ जना पुगेको छ ।
एक महिना अगाडि अष्ट्रेलियन पर्यटक क्याट्रिन पाथको पर्स उनी बसेको ठमेलको एक होटलबाट हरायो । उनले होटलवालालाई सबै बताए पछि प्रहरीको सक्रियतामा अपराधी पक्राउ गरियो । उनको सबै नगद त फिर्ता दिलाउन सकिएन पर्स सँगै हराएका क्यामेरा , ल्यापटप लगायतका सामानहरु भने फिर्ता गराउन सकियो । उनले सामान हराएकोमा दुःख व्यक्त गर्नु भन्दा पनि फेला परेकोमा धेरै खुशि व्यक्त गरिन् । तर यस वर्ष उनी जस्ता धेरै पर्यटकहरुले आफ्नो हराएको सामान फिर्ता पाउन सकेनन् । यस्ता अभागि पर्यटकहरु मध्ये १ सय १७ जनाले आइफोन गुमाए । त्यस्तै ९९ वटा क्यामेरा , ३६ वटा आईप्याड , १९ वटा ल्यापटप पनि गुमाएका छन् उनीहरुले ।
यी त पर्यटकहरुका सामानहरु हराएका कुरा भयो । कतिपय अवस्थामा नेपाल घुम्न आएका पर्यटकहरु नै हराएको पनि पाईएको छ । प्रहरी मुख्यालयका अनुशार गएको २ वर्ष यता १६ देशका २३ पर्यटकहरु हराएका छन् भने ३ जनाको मृत्यु भईसकेको छ । हिमाली भेग तिर ट्रेकिङ जाने क्रममा उनीहरु हराएका हुन् । उनीहरुको खोजी भईरहेको प्रहरीले जानकारी दिएको छ ।
पर्यटकहरुलाई अनावश्यक रुपमा सताउने , सामान बेच्न खोज्ने र लुट्ने जस्ता क्रियाकलाप गर्न नहुने भए पनि यस्ता घटनामा कमी नआएको प्रहरी बताउँछ । आगामी दिनहरुमा यस्ता क्रियाकलाप घटाउन प्रहरी सक्रिय भएर लाग्ने र पर्यटकहरुले पनि आफु सचेत हुन सके मात्र यस्ता घटनामा कमि आउन सक्ने महाशाखाको भनाई छ । पर्यटकहरुलाई अभद्र व्यवहार गरेको पाइएमा प्रहरीलाई खवर गरिदिन पनि प्रहरीले सबैमा अनुरोध गरेको छ ।
हामी विदेश जाँदा त्यहाँका नागरिकले आफूहरुलाई राम्रो व्यवहार गरे हुन्थ्यो भन्ठान्छौं तर यहाँ आएका पर्यटकहरुलाई जे पायो त्यहि गर्छौं, सम्मान पनि गर्न जान्दैनौं । आफूले राम्रो व्यवहार गरे पो अरुले पनि आफूलाई राम्रो गर्छन् भन्ने कुरा शायद हामीले भुलिसकेका छौं । अनि हाम्रै व्यवहारले देशमा पर्यटन उद्योग धराशायी भएको र समग्र देशको अर्थतन्त्र पनि विग्रिएको तिर अलिकति पनि ख्याल गरेका छैनौं ।
पर्यटकिय दृष्टिले महत्वपूर्ण मानिएका राजधानीका मुख्य गन्तव्यहरु हनुमानढोका , पाटन, भक्तपुर, चाँगुनारायण , स्वयम्भु लगायतका स्थानमा स्थानिय व्यापारीहरुले पर्यटकहरुलाई हैरान पारिरहेको देखिन्छ । कतिपय अवस्थामा जोगिहरुले पनि उनीहरुलाई दुःख दिने गरेका छन् । पर्यटकहरु हाम्रा पाहुना हुन् । उनीहरुले यहाँ घुम्दा, खाँदा गर्ने गरेको खर्च हाम्रो आम्दानी हो । उनीहरुलाई दुःख दिइने कार्यले आगामी दिनहरुमा देशमा आउने पर्यटकहरुको संख्यामा कमी आउन सक्छ । त्यसैले उनीहरुलाई आफ्नै परिवार सरह व्यवहार गर्नु आवश्यक छ । उनीहरुलाई दुःख दिएर , लुटेर केहि व्यक्तिहरुले त फाइदा कमाउलान् तर यसले देशको समग्र पर्यटन क्षेत्रमै नकारात्मक असर पुग्ने तर्फ सम्बन्धित निकायले ध्यान दिनु आवश्यक छ । अन्यथा यस्तो कार्यले अन्र्तराष्ट्रियस्तरमै नेपालको बदनाम पनि हुने छ । यस्ता घटनामा संलग्नहरुलाई सरकारले कडा भन्दा कडा कारबहि गर्न आवश्यक देखिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१