इन्जिनियरिङ पढिरहेका नेपाली विद्यार्थीको भारतमा शंकास्पद मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ माघ २०७१, आईतवार ०७:४६

काठमाडौँ,१८ माघ । भारतको कर्णाटकस्थित अक्सफोर्ड कलेज अफ इन्जिनियरिङमा पढिरहेका रौतहटका प्रशान्तकुमार झाको शंकास्पद मृत्यु भएको छ।

नेपालस्थित भारतीय दूतावासको छात्रवृत्तिमा सिभिल इन्जिनियरिङ पढिरहेका झाको पुस ३० गते कलेजको होस्टेलमा मृत्यु भएको थियो। कलेज प्रशासनले होस्टेलको सातौं तलाबाट खसेर मृत्यु भएको बताए पनि उनको शरीरमा कुनै चोटपटक नलागेको उनका बाबु अनिलले बताए।vartmaneplaiko

अनिलका अनुसार प्रशान्तले पुस ३० गते साँझ साढे सात बजे परिवारका सदस्यसँग टेलिफोनमा कुरा गरेर खाना खान गएका थिए। ‘अकस्मात् राति साढे १० बजेतिर कलेजकै एकजना विद्यार्थीले फोन गरेर प्रशान्त सिँढीबाट लडेर घाइते भएको छ, छिटो आउनुस् भन्यो’, अनिलले अन्नपूर्णसँग शुक्रबार रुँदै भने, ‘त्यतिखेर छोराको मृत्युबारे कलेज प्रशासनले केही बताएको थिएन। भोलिपल्ट जानकारी लिन खोज्दा होस्टेलको सातौं तलाबाट खसेर मृत्यु भएको दाबी गर्दै घटनाबाट जोगिन खोजेको छ।’

लडेर मृत्यु भएको बताइए पनि आफ्ना छोराको शरीरमा कुनै चोटपटक नभएको अनिलले बताए। उनले भने, ‘सातौं तलाबाट खसेको व्यक्तिको शरीर भुइँमा खस्दा टुक्राटुक्रा हुनुपर्ने हो। तर उनको टाउकोबाट रगतसमेत बगेको देखिँदैन। हातमा बोकेको मोबाइल पनि जस्ताको तस्तै लडेको शरीर अगाडि छ।’

अनिलका अनुसार प्रशान्त बसेको सातौं तलामा मानिस हामफाल्ने ठाउँसमेत छैन। सोही कलेजमा पढ्ने अन्य नेपाली विद्यार्थीले पनि प्रशान्तको मृत्युबारे केही बताउन नचाहेको उनले बताए।

राति १० बजे छोराको मृत्यु भए पनि छानबिनका लागि प्रहरी भोलिपल्ट दिउँसो २ बजेमात्र घटनास्थल पुगेको र प्रहरीले पनि अध्ययनमा चासो नदिएको गुनासो अनिलले गरे।

पढाइमा अब्बल प्रशान्त अनिलका जेठा छोरा हुन्। उनी इन्जिनियरिङको अन्तिम अर्थात् आठौं सेमेस्टर पढिरहेका थिए। अनिलका कान्छा छोरा राजधानीकै एक कलेजमा दश जोड दुई पढिरहेका छन् भने छोरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनरत छिन्।

छोराको मृत्युबारे अनुसन्धान गरिदिन अनिलले काठमाडौंस्थित भारतीय दूतावासमा निवेदन पनि दिएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१