अदालतका मिसिल अब कम्प्युटर सफ्टवेयरमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ बैशाख २०७१, सोमबार १३:१३

तुलसीपुर (दाङ), १५ वैशाख । सेतो कपडामा पोका पारेर राख्ने गरेका पुनरावेदन अदालत तुलसीपुरका मिसिलहरु अब कम्प्युटर सफ्टवेरमा राखिने भएको छ ।

सर्वोच्च अदालतले अदालती प्रक्रियाको नयाँ सफ्टवेयर सञ्चालन गरि सकेकाले पुनरावेदन अदालत तुलसीपुरले अब मातहतका सबै जिल्ला अदालतमा सोही सफ्टवेयरअनुसार अदालती प्रक्रिया थालिसकेको पुनरावेदन अदालतका मुख्य न्यायाधीश डा आनन्द मोहन भट्टराईले जानकारी दिनुभयो ।

सूचना प्रविधिको फड्को सँगै निजी सङ्घसंस्था, बैंक , वित्तीय संस्था तथा अन्य सरकारी कार्यालयसमेत सूचना प्रविधिलाई पछ्याउँदै सफ्टवेयर प्रविधिमा गइसकेको अवस्थामा अब अदालत पनि सूचना प्रविधिलाई पछ्याउँदै सफ्टवेयर प्रविधिमा प्रवेश गरेको हो ।

“अब मुद्दाको मिसिल खोज्न कपडाका पोका खोज्नु पर्दैन, त्यसका लागि नयाँ कम्प्युटर प्रणाली राप्तीका सबै जिल्ला अदालत तथा तुलसीपुरस्थित पुनरावेदन अदालतमा सुरु भइसकेको छ”, मुख्य न्यायाधीश भट्टराईले भन्नुभयो ।

उहाँका अनुसार नयाँ सफ्टवेयरसँगै अब कानुनी सेवालाई जनसेवामुखी बनाउन क्यालेन्डर प्रविधिसमेत यही महिनादेखि लागू भइसकेको छ ।

मुख्य न्यायाधीश भट्टराईले भन्नुभयो, “सर्वोच्च अदालतलगायत त्यहाँबाट छनोट भएका केही जिल्लाबाहेक अञ्चलभरि क्यालेन्डर सिस्टम लागू भएको यो सम्भवतः पहिलो हो ।

फैसला कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखिएको बताउँदै मुद्दाको अवस्था हेरेर न्यूनतम दुई साताभित्रै मुद्दा फैसला गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

अदालती प्रक्रियामा निमुखा नागरिकको निःशुल्क कानुनी सेवाका लागि राप्तीका सबै जिल्लामा अबैतनिक अधिवक्ताको समेत व्यवस्था गरिएको न्यायाधीश शेषराज शिवाकोटीले बताउनुभयो ।

उहाँले अवैतनिक अधिवक्ताले अदालतमा सेवा लिन शुल्क तिर्न नसक्ने सबै प्रकारका काममा सहयोग गर्ने उल्लेख गर्नु भयो ।

त्यसैगरी पुनरावेदन अदालत तुलसीपुरले यो वर्षदेखि अर्धन्यायिक निकायले गरेका फैसला तथा कानुनी क्रियाकलापको समेत अनुगमन थालेको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१