‘हरेक क्षेत्रमा दुःख त गर्नै पर्छ’ : भद्रगोलका जयन्ते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ माघ २०७१, आईतवार १०:०५

govinda1_n (1)नेपाली कला क्षेत्रमा बेला–बेलामा नयाँ – नयाँ कलाकारहरु उदाउँछन् । कोहि यसमा संर्घष गर्दै स्थापित हुने प्रयास गर्छन् भने कोहि त्यसै सेलाउँछन् । पछिल्ला दिनहरुमा हाँस्य टेलिश्रृंखलाहरुको एक पछि अर्को उपस्थितीले नेपाली टेलिभिजनहरुमा प्रतिष्पर्धा नै चलिरहेको छ । हाँस्यव्यङ्ग्य टेलिफिल्महरु उदाउँदो क्रममा रहे सँगैं पुराना तथा नयाँ कलाकारहरुको पनि बाक्लो उपस्थिती देखिएको छ । यसै भिडमा झण्डै डेढ वर्ष अगाडि देखि नेपाल टेलिभिजनबाट प्रत्येक शुक्रबार बेलुकी ८ः४५ मा प्रशारण हुदैं आईरहेको हाँस्य टेलिश्रृंखला भद्रगोल पनि यतिखेर चर्चाको शिखरमा छ । एकाएक भद्रगोलका नयाँ कलाकार र प्रस्तुतीले अहिले नेपाली जनजिब्रोलाई फरक स्वाद मात्र दिएको छैन, समाजमा भएका विकृती र विसंगतीलाई कलात्मक पाराले प्रस्तुत गरिरहेको छ । अर्को अर्थमा भन्दा यसले समाजमा सकारात्मक सन्देश दिने प्रयास पनि गरेको छ । यसका एक नयाँ र रमाइलो पात्रको नाम हो गोविन्द कोइराला अर्थात जयन्ते । प्रस्तुत छ , सिन्धुलीमा जन्मिएर ४ वर्ष अगाडि कलाक्षेत्रमा प्रवेश गर्नु भएका उनै रमाइला पात्र जयन्ते सँग राष्ट्रियखबरका लागि पत्रकार ज्ञानमणि कालोटोपीले गर्नु भएको रोचक कुराकानीको सम्पादित अंशः–
कलाक्षेत्रमा यहाँको उपस्थिती कहिलेबाट हो ?
करिव ४ वर्ष अगाडि देखि यस क्षेत्रमा लागेको हुँ ।
पहिलो अभिनय भएको तपाईंको टेलिश्रृंखला कुन हो ?
सिस्नुपानी झ्याम्मैको १० भाग देखि १८ भाग सम्म सानो रोलमा अभिनय गरेको थिएँ । यो नै मेरो पहिलो टेलिफिल्म हो ।
कसको प्रेरणाले यस क्षेत्रमा लाग्नु भयो ?
सानै देखि कलाकार बन्छु भन्ने सोख थियो । पछि अर्जुन घिमिरे (पाँडे ) र कुमार कट्टेल (जिक्रि) सँग भेट भयो । अभिनय सिकेका कारण उहाँहरुले मलाई सानो रोल दिनुभयो । उहाँहरुकै साथ र सहयोगले म कला क्षेत्रमा आएको हुँ ।
अहिले के के मा व्यस्त हुनुहुन्छ ?

मास्टर दोस्रो वर्षमा अध्ययनरत छु । पढाई र अभिनय सँग – सँगै लैजाने सोचाई भएपनि यतिबेला भद्रगोलमा मात्र संलग्न छु । विस्तारै अन्य म्युजिक भिडियोमा पनि अभिनय गर्ने सोचमा छु ।
तपाईंको अभिनय सानो पर्दाको फिल्ममा मात्र सिमित छ कि ठूलो पर्दा तिर पनि लाग्ने सोच बनाउनुभएको छ ?
मैले रिलिजको क्रममा रहेको ठूलो पर्दाको फिल्म पुर्नजन्ममा ट्राफिकको रोलमा अभिनय गरेको छु । विस्तारै ठूलो पर्दामा पनि जम्ने मेरो प्रयास हो ।
भद्रगोलको कुरा गर्नु पर्दा यसमा जयन्ते कसरी जन्मिएका हुन ?
अर्जुन घिमिरे र कुमार कट्टेल जी ले कथा लेख्ने क्रममा जयन्तेको न्वारान गराईदिनु भयो । पछि यसै नामबाट अभिनय गर्नु परेकाले भद्रगोलमा समाजको एउटा सोझो पात्रका रुपमा जयन्ते जन्मिएको हो ।
भद्रगोलमा प्राय सबैले आ–आफ्नो थेगो प्रयोग गर्नुभएको छ । तपाईंकै पनि लेघ्रो तानेर काका भन्ने थेगो छ । थेगोकै कारण भद्रगोल चर्चामा आएको हो भन्नेहरु पनि छन् नि , के भन्नु हुन्छ तपाईं ?
समाजमा विभिन्न थरिका मानिसहरु छन् । प्राय कुराकानीका क्रममा धेरैले थेगो प्रयोग गरेको पाइन्छ । त्यसैको प्रतिनिधी भद्रगोल भएकाले यसमा थेगोको केहि वढी प्रयोग भएको हो । थेगो कै कारण भद्रगोल चलेको नभएर समाजमा सुहाउँदा पात्र उभ्याएका कारण यसले अरु भन्दा धेरै चर्चा पाएको हो ।
भद्रगोल के हो ?
गाउँ समाजको भद्रगोल अवस्थालाई सुधार गर्नु पर्यो भनेर सन्देश दिन खोजेको उत्साहि युवाहरुको भद्रगोल अभिनयबाट सुधार तिर जान प्रेरित गर्ने रंङ्गमञ्च हो भद्रगोल ।
अहिले हाँस्यव्यङ्ग्य क्षेत्रमा प्रतिस्पर्धा पनि छ । धेरै नयाँ कलाकारहरु पनि यसमा लागेका छन् । यस्तो अवस्थामा कलाकार भएरै बाँच्न सकिएला त ?
हरेक क्षेत्रमा दुःख त गर्नै पर्छ । यसमा पनि इमान्दारिताका साथ काम गर्ने हो भने कला क्षेत्रमा लागेर पनि भोको बस्नु पर्ला जस्तो मलाई लाग्दैन । अहिले सम्म सन्तोषजनक अवस्था छ ।
भद्रगोलमा अभिनय गर्ने कलाकार प्राय सबै जसो युवाहरु छन् तर अभिनय चाहिं बुढापाकाको जस्तो गरेका छन् भनिन्छ । तपाईंको खास उमेर कति हो ?
म अहिले २६ वर्षको भएँ ।
अब त तपाईंलाई धेरैले जयन्ते भनेर चिन्छन् । बाहिर तिर जाँदा कस्तो प्रतिक्रिया पाउनुभएको छ नि ?
बाहिर तिर जाँदा सुरुमा त कसले चिन्छन् र जस्तो लाग्थ्यो । तर अहिले त केटाकेटी देखि बुढाबुढी सम्म सबैले जयन्ते आयो भनेर जिस्क्याउँछन् । खुशि लाग्छ ।
सबैको सेलिब्रेटी भएपछि व्यस्तता वढेको होला नि ?
खासै वढेको छैन । पढाई तिर लागेकाले समय मिलाउन पनि अलि गाह्रो भएको छ । कतिपय अवस्थामा स्टेज कार्यक्रमहरुमा बोलाउँदा पनि जान सकिरहेको छैन । पढाई सकिए पछि भने यसमै भिजेर लाग्ने मनस्थिती बनाएको छु ।
अब केहि पारिवारिक कुरा गरौं न , बिहे गर्नु भयो ?
छैन त ।
बेला भएन र ?
अब ४ वर्ष पछि मात्रै होला कि !
प्रेम प्रस्ताव कतिको आउँछन् ?
आउँछन् , तर तिनीहरुलाई मैले दर्शकहरुको मायाको रुपमा मात्र लिने गरेको छु ।
मन पर्ने ठाउँ कुन हो ?
नेपालका सबै ठाउँहरु मन पर्छ । विशेष गरि जन्म जिल्ला सिन्धुली धेरै नै मन पर्छ ।
मन पर्ने राजनितीक नेताहरु कोहि छन् कि ?
जसले राम्रो काम गर्छ, उसैलाई मन पराउँछु । विशेष गरि भन्नु पर्दा गोर्कण विष्ट । उहाँले उर्जा मन्त्री हुँदा रामै्र काम गर्नु भएको थियो ।
अभिनयका क्रममा यहाँको रमाइलो क्षण भए बताउनुस न ।
म भद्रगोलकै सुटिङ्गको एउटा रमाइलो क्षण सम्झन्छु । केहि समय पहिले पाँडे काकाले मलाई मरेको माछाले हिर्काउनु पर्ने रोल थियो । उहाँले माछाले हिर्काउँदा मेरो आँखा नजिकै निलो डोब नै बस्यो । करिव २ हप्ता सम्म यो ठिक नभएकाले पछिल्ला अभिनयमा मैले मेकअप नै गरेर सुटिङ्ग गर्नु परेको क्षण रमाइलो क्षणको रुपमा रहेको छ ।
जीवनको सुखद क्षण बताइदिनुस न ।
पछिल्ला दिनहरुमा भद्रगोलले जयन्ते भनेर चिनायो । बाहिर तिर जाँदा धेरै दर्शकहरुले ऊ जयन्ते आयो भनेर जिस्क्याउँदा सधैं सुखद क्षणको अनुभुती गर्छु ।
दुखद क्षण नि ?
दुखद भनेर त्यस्तो उल्लेख्य त केहि पनि छैन । तर पनि मैले अभिनय शुरु गरेको पहिलो टेलिफिल्म सिस्नुपानी झ्याम्मै जम्मा १८ भागमै बन्द भएको बेलामा धेरै दुःख लागेको थियो ।
यहाँको भविष्यको लक्ष्य के हो नि ?
एउटा राम्रो कलाकार भएर देशको सेवा गर्ने ।
कुराकानीका लागि समय दिनु भएकोमा धन्यबाद ।
म जस्ता नयाँ कलाकारलाई पनि प्राथमिकतामा राख्नु भएकोमा यहाँलाई र यहाँको मिडिया राष्ट्रियखबर डटकमलाई पनि धेरै–धेरै धन्यबाद दिन चाहन्छु ।

प्रस्तुती :ज्ञानमणि कालोटोपी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१