बाँकेको राप्तीपारि सोलार प्रयोगकर्ता बढ्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० माघ २०७१, शनिबार १६:४३

काशी पोखरेल÷बाँके । बाँकेको विकट क्षेत्र मानिने राप्तीपारि बिद्युत नपुगेपछि त्यस क्षेत्रका अधिकाँस गाउँहरुमा सोलार जडान गरिएको छ । मटैहिया गाविस ४ मटेहिया गाउँका अधिकांश

घरहरुमा सोलार जडान गरिएको हो । २०५१ सालमा विद्युतका पोलहरु गाडिए पनि विभिन्न निकायको लापर्वाहीले
गर्दा सो क्षेत्रमा अझैसम्म पनि बत्ती बल्न सकेको छैन ।
गाउँमा डेढ दशक अघि गाडिएका विद्युतका पोलमा तार नजोडिएपछि स्थानीयबासिन्दा पछिल्लो समय सोलारतर्फ आकर्षित भएका हुन् । मटेहिया ४ का रामजस यादवका अनुसार विगत पाँच बर्षदेखि गाउमा सोलार भित्रिएको छ । ‘हाम्रा लागि विद्युत त आकाशको तारा भइसकेको छ,’ यादवले भने, ‘अहिले सोलारले गर्दा केही राहत पाएका छौं ।’
निर्वाचनका बेलामा चुनावी मुद्दा बन्ने राप्तीपारीको विजुली बाल्नका लागि ठड्याइएका पोलहरु केही जस्ताको तस्तै छन् भने केही पोलहरु ढलेर भाँचिएर नष्टसमेत भइसकेका छन् । विजुली बत्ती आउने छाँट नदेखेपछि गाँउलेहरुले २० वाटका सोलारहरु घर घरमा जडान गरेका छन् । २ हजार ५०० रुपैयाँ सरकारी अनुदान पाएपछि आफुहरुले आठ हजार ५०० रुपैयाँमा सोलार खरिद गरि घरमा सोलार जडान गरिएको स्थानीयबासिन्दा बताउँछन् ।
विजुली बत्ती पुग्न नसकेका कारण सो क्षेत्रका वासीन्दाहरु अध्यारोमा बस्नुपर्ने बाध्यता सँगसँगै कृषि पेशामा निर्भर रहेका कृषकहरु ससाना उद्योग व्यवसाय र सिँचाई सुविधाबाट बञ्चित रहेको किसानहरुले बताएका छन् । सोलारबाट ठूला कामहरु गर्न नसके पनि घरमा बत्ति बाल्ने र मोवाइल चार्ज गर्न सहज भएको स्थानीय अगुवा युवराज मौर्यले बताए । विगतमा ट्याक्टरबाट मोवाईल चार्ज गर्ने गरेकोमा गाउँमा सोलार भित्रिएपछि सहज भएका स्थानीयहरुको भनाई छ ।
सदरमुकाम नेपालगन्जदेखि ११ देखि ४० किलोमिटरको दुरीमा रहेको राप्तीपारिका नौ वटा गाविसहरुमा तार नजोडिएका विजुलीका पोलहरु ठिङ्ग गाडेर राज्यले राप्तीपारिका जनतालाई झुक्याएको मौर्यले बताए । विजुली पु¥याउन भन्दै गाडिएका विद्युतका पोलहरु विजुलीका लागि प्रयोग नभएपनि कैयौँ पोलहरु गाउँका कुला र नाला तर्नका लागि राम्रै उपयोग भइरहेका छन् भने कैयौ पोलहरु चोरी भइसकेको यादवले बताए ।
विकासको पूर्वाधार खडा गर्ने खोक्रो आश्वासन दिई चुनाव जितेका नेताहरु र सरकारले
राप्तीपारी विजुली पु¥याउने कुनै छाँटकाँट नदेखेपछि स्थानीयहरुले सुनारी बघौडा ग्रामिण विद्युतीकरण समितिको गठन गरे पनि सो काम पनि बजेट अभावमा पुरा हुन सकेको छैन । नौ वटै गाविसहरुमा विजुली पु¥याउनका लागि करिब २२ करोड रकम लाग्ने भएपछि विद्युतीकरणको काम पुरा हुन अझै केहीबर्ष लाग्ने देखिएको छ ।
‘निर्वाचनका समयमा दिइएका आश्वासन कहिल्यै पुरा भएका छैनन्,’ स्थानीय सोहनलाल यादवले भने, ‘अहिले राप्तीपारि क्षेत्रकै दिनेशचन्द्र यादव सभासद भएपछि विद्युतीकरणका लागि पहल
भइरहेको छ । हामीले विगतमा नेताहरुको भरमा रहे पनि सपना अधुरै रहे । यस पटक सभासद यादव स्थानीय नै भएकाले केही पहल गरिहनुभएको छ ।’
राप्तीपारी क्षेत्रका गंगापुर, मटेहिया, नरैनापुर, लक्ष्मणपुर, कलाफाटा, कटकुइँया लगायतका स्थानमा सोलार प्रयोगकर्ताहरु बढेका छन् । नेपाल टेलिकम, एलसेल लगायतले सोलारको प्रयोग गरेर मटेहिया र आसपासका क्षेत्रमा टावरसमेत राखेका छन् । राप्तीपारिका गाविसहरुमा विद्युतीकरणका लागि करिब डेढदशक अघि विद्युतका पोल गाडिए पनि हालसम्म विद्युत तार जोडिएको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १५, २०८१