संविधानसभाको औचित्य सिद्धियो:संयुक्त सनातन मोर्चा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ माघ २०७१, शुक्रबार १२:२१

संयुक्त सनातन मोर्चाले संविधानसभाको औचित्य सकिएको बताएको छ । संविधान जारी गर्न नसकेको कारणलाई लक्षित गर्दै मोर्चाले जारी गरेको प्रेस–विज्ञप्तिमा एक वर्षमा जसरी पनि संविधान दिने वाचा गरेका राजनीतिक दलहरूले जनताको समर्थन र विश्वास लिने आधार पूर्णरूपमा गुमाइसकेको बताएको छ । साथै  संविधान दिन नसकेपछि संविधानसभामा बस्ने नैतिक आधार हुन्छ र ? भनेर प्रश्न गरेको छ ।Press bigyapti  4

मोर्चाका संयोजक डा. मिठाराम विश्वकर्मा र महामन्त्री दीपक सुवेदीद्वारा संयुक्तरूपमा जारी गरिएको सो विज्ञप्तिमा ‘बाँदरको हातमा नरिवलको उक्तिलाई चरितार्थ गरिरहेका संविधानसभामा पुगेका दलबाट संविधानको सम्भावना रहेन । आफ्नो कार्यक्षेत्र अनुरूप काम गर्न नसकेको संविधानसभाको औचित्य समाप्त भएको संयुक्त सनातन मोर्चाको ठहर छ’ भनिएको छ ।

नेपाली जनतालाई आपसमा फुटाउने, विखण्डित गर्ने, समुदाय–समुदायलाई लडाएर एकआपसमा कमजोर बनाउने र क्रमशः विदेशी–फिरिङ्गी, परचक्री–परधर्मीको पोल्टामा यो देशको स्वामित्त्व सुम्पने खेल राजनीतिका खलपात्रले खेलिरहेको स्थितिलाई के नेपालीले टुलुटुलु हेरेर बसिरहने ? प्रश्न गर्दै, गम्भीर अवस्था सृजना भएको छ, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अगाडि ‘संविधानका लागि नभएर अराष्ट्रिय चलखेललाई अवसर दिन एजेण्डाबाजी गरी समयको बर्बाद गर्नेहरूलाई जतिसमय थपे पनि अर्थ रहँदैन । अराष्ट्रिय तत्त्वद्वारा उत्प्रेरितले कहिल्यै पनि राष्ट्रहित गर्दैन भन्ने कुरा प्रमाणित भएको अवस्था हो यो, जुन सबैले बोध गर्नपर्ने तथ्य हो’ उल्लेख छ ।

पराईको प्रलोभनमा परेर सदासर्वदा नेपाल–नेपालीको शिर विश्वको सामु ठाडो रहिरहने विश्वमै एकमात्र हिन्दूराष्ट्र नेपाल भन्ने अतिनै महत्त्वपूर्ण पहिचान एवम् विशेषतालाई फ्याँक्ने दुःसाहसको आँट गर्दै नेपाल आमा र नेपाली जनताप्रति घात गरेकाहरूलाई कसरी सुमति आउँथ्यो ? र यीनले देश–जनताको हितमा संविधान दिन चाहन्थे तथा संविधान दिनसक्थे ? आफै कुकुर बिरालो झै झगडा गरिनै रहे, फलस्वरूप यो दुर्दशा बनेको र पाप धुरीबाट कराउने क्रम जारी रहेको मोर्चाको विज्ञप्तिमा उल्लेख छ ।

विशेष गम्भीरताका साथमा मोर्चाले आफ्नो विज्ञप्तिमा ‘जननीधर्म तथा जन्मभूमिप्रति नकारात्मक भूमिका निर्वाह गर्ने, प्राप्त पदीय अधिकारको दुरूपयोग गर्नेहरूलाई कसरी सद्बुद्धि आउँछ ? कसरी यहाँकी प्रकृतिले यीनको आत्मघाती कार्यलाई पूर्ण गराउन शक्ति प्रदान गर्छिन  ? र यिनीहरूले संविधान लेख्न सक्थ्ये ?’ भनेर प्रश्न गरेको छ । राजनीतिक दलका नेतृत्त्वपंक्तिलाई विदेशीका खेताला–दलालको संज्ञा दिँदै उनीहरूबाट नेपाल–नेपालीको हितमा संविधान आउँछ भनेर पत्याउने आधार नरहेको पुष्टि भएको धारणा राखेको छ ।

साथै यति नाटक हेरिसकेपछि अब नेपाली जनताले आँफै राष्ट्रवादी शक्ति निर्माण गरी आफ्नो देश आँफै बनाऔंको सिद्धान्त अवलम्बन र कार्यान्वयन तर्फ लाग्नपर्ने दिन आएको, राजनीतिक दलहरूको पराश्रित मानसिकताबाट सृजना भएको विषम परिस्थितिलाई संयुक्त सनातन मोर्चाले टुलुटुलु हेरेर नबस्ने दृढता व्यक्त गर्दै त्यसको लागि सम्पूर्ण राष्ट्रवादी नेपाली एक भई यसलाई साथ–सहयोग र सुझाव दिन अपिल गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१