ज्ञानमणि कालोटोपी
नेपाल परम्परा देखि नै पितृसतात्मक परिवारमा रहदै आएको छ । त्यसैले होला
हरेक निती नियमहरु पनि पुरुषहरु कै पक्षमा बनाईएका पाईन्छ । यति मात्र होइन,
पहिले देखि नै समाजले पनि पुरुषहरुकै पक्षमा वकालत गर्ने गरेको छ । कसैलाई संकेत
गर्नु प¥यो भने पनि पुरुषको नाम तोकेर फलानाको छोरा–छोरी भनेर संकेत गर्ने र
महिलाको नामै हराउने गरेका विषयहरु हामीले देखे सुनेकै हौं ।
परम्परा देखि कै कुरा गर्ने हो भने पनि महिलाहरु हेपिएका थप प्रमाणहरु
हामीहरुले अवशेषका रुपमा अझै पनि भेटाउन सक्छौं । स्वस्थानी महिनाको समय छ ।
सबै तिर चिसो वातावरणको अनुभव सबैले गरेकै छौं । त्यहि चिसो समयमा बेलुका ओड्ने
ओडेरै भएपनि हामी मध्ये धेरैले अहिले स्वस्थानीको पुस्तक झिकेर स्वस्थानी देवी र
श्री महादेवका गुणगानले भरिएका कथा सुन्छौं र सुनाउँछौं । यो परम्परा देखिकै
निरन्तरता हो । पुराना कुरालाई जोगाउनु हाम्रो कर्तव्य पनि हो । यसमा सायदै दुई
मत नहोला ।
यसमा उल्लेखित कथाहरु सुन्दा रोचक लाग्छ । कथा जति रोचक छन् महिलाहरुलाई
हेपिएका र दबाईएका प्रसङ्गहरु पनि त्यति नै मात्रामा रहेको प्रष्टै देखिन्छ । कथामा
पार्वती पात्रलाई उभ्याईएर उनले आफूले चाहेको पति पाउन धेरै कष्टपूर्ण ब्रत र
तपस्याहरु गरेको देखाईएको छ । तर यसको लागि पुरुष पात्र महादेवले भने आफूले
चाहेको पत्नी पाउन कुनै पनि तपस्या र व्रत गरेको देखिदैन ।
कथामा व्रत सम्पन्न गर्ने विधी उल्लेख गरिएको छ । जस अनुसार सय वटा रोटी
आफू खाई आठ रोटी पतिलाई दिनु , पति नभए छोरालाई दिनु, छोरा नभए मित
छोरालाई दिनु, मित छोरा नभए आफूले चाहेको व्यक्तिलाई दिनु । त्यो पनि
सम्भव नभए मनको इच्छा पूरा होस् भनेर खोलामा बगाईदिनु भनिएको छ । यसमा कतै
पनि छोरीलाई दिनु भनिएको छैन । खोलामा बगाउनु सट्टा देवीको प्रसाद छोरीलाई
दिए पनि हुन्छ भनेर कहिं लेखिएको छैन । के छोराले खाने कुरा छोरीले खानु हुदैन
? भगवानको प्रसादमा पनि महिला र पुरुषमा किन विभेद ?
यति मात्र होईन, सात वर्षकी बालिका गोमाको सत्तरी वर्षका वृद्ध शिवशर्मा सँग विवाह
भएको भनिएको छ । अहिलेको सन्दर्भमा हेर्ने हो भने शिवशर्मालाई सरासर
बालविबाहको मुद्धा लाग्नु पर्ने हो । त्यस्तै पार्वतीले एक महिना सम्म व्रत बसेको भनि
कथामा उल्लेख गरिएको छ । एक महिना सम्म कुनै पनि महिला महिनावारी नभई रहन
सक्दिनन् । अहिले हाम्रो समाजमा महिनावारी भएकी महिलालाई ब्रत बस्न र मन्दिर जान
त के पुरुषले छुन पनि हुदैन भनेर अलग्गै राख्ने गरिएको छ । तर पार्वतीको हकमा एक
महिना सम्म महिनावारी भएको प्रसङ्ग कतै पनि उल्लेख गरिएको छैन ।
अर्को एक प्रसङ्गमा स्वस्थानी कथामा शिवभट्ट ब्राह्मणले गरेको धर्मकर्मले गर्दा
इन्द्रले आफ्नो राज्य छोड्नु पर्ने अवस्था आएको र यसलाई रोक्न महादेवले
जोगिको रुप धारण गरेर शिवभट्टको घरमा भिक्षा माग्न गएको कुरा उल्लेख छ । भिक्षा
माग्न घरमा गएका भिक्षुलाई बालिका गोमाले भिक्षा दिन केहि अवेर गरिन् भनेर श्राप
दिएको कुरा पनि बताईएको छ । आफ्ना बाबुले गरेको धर्मकर्मको परिणाम स्वरुप
सात वर्ष पनि नभएकी बालिका गोमालाई महादेव जस्ता व्यक्तिले श्राप दिनु कतिको
न्यायोचीत हुन्छ ?
यी त स्वस्थानी भित्र रहेका केहि कमि कमजोरीहरु हुन् । यस्तै हामीले परम्परा
देखि मान्दै आएका अन्य धार्मिक ग्रन्थहरुमा पनि थुप्रै यस्ता प्रसङ्गहरु भेटिन्छन् ।
पछिल्ला दिनहरुमा देशमा महिलाहरु माथी विभिन्न बहानामा अनेक थरीका हिंशाका
घटनाहरु दोहोरिरहेका छन् । कहिले बाबुले छोरीलाई बलात्कार गरेको त कहिले
प्रेमिले प्रेमिकालाई हत्या गरेको , त्यस्तै आफूले भनेको केटा सँग विवाह गर्न
नमानेको भन्दै परिवारबाटै छोरीलाई जिउँदै आगो लगाईएका विषयहरुले पनि
हिजोआज पत्रपत्रिकाहरुका पाना भरिएका छन् । यस्ता घटनाहरु लाई मलजल गर्न विभिन्न
धार्मिक ग्रन्थहरुमा रहेका विकृतीहरुले पनि भुमिका खेलिरहेको अनुमान लगाउन सकिन्छ
।
देशमा महिलाहरुको हक हितको पक्षमा थुप्रै संघ–संस्थाहरु खुलेका छन् र
क्रियाशिल पनि छन् । अझ उनीहरुको अधिकारलाई पनि विगत केहि वर्ष अगाडि देखि
दिईएको भनिएको ३३ प्रतिशत बाट वढाएर ५० प्रतिशत पु¥याउनु पर्ने माग पनि
उठाईरहेका छन्, ती संस्थाहरुले । तर उनीहरुले यस्ता विषयहरुमा ध्यान पु¥याउन
सकेको देखिंदैन । हुन त यस्ता हिंशात्मक विषयहरु धार्मिक ग्रन्थहरुकै कारण भएका
हुन भन्न त मिल्दैन , महिलाहरुमा चेतना जगाउन पनि जरुरी छ तर विभिन्न धार्मिक
ग्रन्थहरुमा भएका महिलाहरुलाई होच्याउने प्रसङ्गहरुलाई सुधार गर्नु अहिलेको
आवश्यकता भएको तिर कसैको ध्यान नगएका कारण पनि महिलाहरु माथी अन्याय भएको
देखिन्छ ।
यी र यस्ता थुप्र्रै विषयहरु छन् जसले परापूर्व कालमा पनि महिला माथी अन्याय,
अत्याचार र हिंशाहरु हुने गरेका रहेछन् भन्ने कुरालाई प्रष्ट बनाउँछन् । सबैले
मान्दै आएको धार्मिक ग्रन्थ भित्र भएका विषयहरुको आलोचना गर्नु त पक्कै पनि
राम्रो होइन होला तर सबैको मार्ग निर्देशकका रुपमा रहेका यस्ता ग्रन्थहरुमा भएका
विकृति र विसङ्गतिहरुलाई सुधार गरेर राम्रा विषयहरुलाई अंगाल्दै अगाडि जानु भने
अहिलेको समयमा पक्कै पनि सान्दर्भिक नहोला भन्न सकिदैंन ।
प्रतिक्रिया