भैरहवा,१ माघ । लामो समयको प्रतिक्षापछि भैरहवामा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम सुरु हुने भएको छ ।
‘गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल’को आज प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गर्दैछन् । विमानस्थल तीन वर्षभित्रमा सञ्चालनमा ल्याइसक्ने लक्ष्य नेपाल नागरिक उड्डयन प्राधिकरणको छ ।
‘बिहीबारदेखि विमानस्थलको निर्माण कार्य औपचारिक रुपमा सुरु हुँदैछ, ठेकेदारले निर्माणलाई तिब्र गतिमा अगाडि बढाउने छ’ गौतमबुद्ध विमानस्थल आयोजनाका निर्देशक मुरारी भण्डारीले भने- ‘सन् २०१८ को जनवरी महिनादेखि सञ्चालनमा ल्याइसक्छौं ।’
विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभियसन एयरपोर्ट कन्स्ट्रक्सनले पाएको छ । उसले विमानस्थलमा क्याम्प खडा गर्ने, इक्विपमेन्टहरु व्यवस्थापन गर्ने लगायतका कामहरु अगाडि बढाइसकेको छ । प्राधिकरणले करिव तीन महिना अगाडि उक्त कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।
क्यानले यस विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बैकल्पिक एयरपोर्टका रुपमा लिएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय विमान कम्पनीको बढ्दो चापसँगै त्रिभुवन विमानस्थल साँघुरो बन्दै गएको छ ।
धावनमार्ग, दुवै टर्मिनल र ती टर्मिनलका पार्किङस्थलसहितको दृष्य
धावनमार्ग, दुवै टर्मिनल र ती टर्मिनलका पार्किङस्थलसहितको दृष्य
मुलुकमा अन्तर्राष्ट्रिय उडान गर्ने एउटामात्र एयरपोर्ट हुँदा यसको निर्माण तथा स्तरोन्नतीको काममा समस्या उत्पन्न हुँदै आएको छ । अहिले त्रिभुवन विमानस्थल जीर्ण भइसकेको छ । त्रिभुभवन विमानस्थलमा अवतरण गर्ने सबै जहाजहरू गौतमबुद्ध विमानस्थलमा अवतरण गराउन मिल्ने बताइएको छ ।
यो विमानस्थल एशियाली विकास बैंक (एडीबी)को सहुलियत ऋण सहयोगमा निर्माण हुन लागेको हो । हाल आन्तरिक उडानमात्र गरिँदै आएको यस एयरपोर्टकाे स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय स्तरको बनाइने छ ।
‘विमानस्थल निर्माणका लागि आठ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ’ भण्डारीले भने- ‘अहिले पहिलो चरणको कामका लागि ६ अर्ब १२ करोड ७३ लाखको टेन्डर आहृवान गरिएको छ ।
पहिलो चरणमा खासगरी विमानस्थलमा भौतिक संरचनाहरु खडा गर्ने काम सम्पन्न हुने परियोजनाका निर्देशक भण्डारीले जानकारी दिए । खासगरी पहिलो चरणमा घाग्रा खोला डाइभर्सन गर्ने, विमानस्थलमा रन वे बनाउने, आन्तरिक तथा अन्तर्राष्ट्रिय ट्रमिनल भवनहरु बनाउने, ट्याक्सी वे, पार्किङ वे निर्माण गर्ने, कन्ट्रोल टावर, खानेपानी, ट्वाइलेट बाथरुमहरु निर्माण गरिने छ ।
अगाडीबाट हेर्दा देखिने अन्तर्राष्ट्रिय ट्रमिनल भवन र पछाडी पार्किङस्थल
अगाडीबाट हेर्दा देखिने अन्तर्राष्ट्रिय ट्रमिनल भवन र पछाडी पार्किङस्थल
त्यसैगरी, एयरपोर्ट वरिपरि बाटो, पार्किङ, रेस्क्यु एन्ड फायर फाइटिङ भवन लगायत अन्य सुरक्षाका कामहरु पनि पहिलो चरणमा सम्पन्न गरिने बताइएको छ । पहिलो चरणमा भौतिक संरचना निर्माण गरी दोस्रो चरणमा नेभिगेसन इक्विपमेन्टहरु जडान गर्ने काम हुने छ । दुबै चरणका कामहरु २०१७ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
रन वे तीन हजार मिटर लामो हुने बताइएको छ । अहिले आन्तरिक उडान भइरहेको धावनमार्गलाई ट्याक्सी वे (जहाज पार्किङ गनै लैजाने बाटो) मा परिणत गरिने भण्डारीले जानकारी दिए ।
विमानस्थलको भौतिक संरचना निर्माणका लागि ६ अर्ब रुपैयाँ खर्च गर्ने र दुई अर्ब रुपैयाँ विमानस्थल निर्माणपछि आवश्यक उपकरण खरिद तथा जडानमा खर्च गरिने बताइएको छ ।
विमानस्थलमा ६ वटा अन्तर्राष्ट्रिय उडान भर्ने जहाज र ४ वटा आन्तरिक उडान भर्ने जहाज पार्किङ गर्न मिल्ने छ । पछिल्लो समय त्रिभुवन विमानस्थल अति व्यस्त हुँदा पार्किङमा समस्या हुँदै आइरहेको छ ।
त्रिभुवन विमानस्थल व्यस्त हुँदा कतिपय समयमा अन्तर्राष्ट्रिय विमानहरु भारतमा लगेर ल्याण्ड गर्नुपर्ने तिथो यथार्थ अहिले नेपालले भोगिरहेको छ । गौतम बुद्ध विमानस्थलको स्तरोन्नती भएपछि जहाज फर्काउनुपर्ने बाध्यता हटेर जाने विश्वास निर्देशक भण्डारीको छ ।
अन्तराष्ट्रिय टर्मिनल र बिमान पार्किङस्थल
अन्तराष्ट्रिय टर्मिनल र बिमान पार्किङस्थल
विमानस्थल सञ्चालनमा आएपछि त्रिभुवन विमानस्थलमा अवतरण हुने जहाजमध्ये १० प्रतिशत गौतम बुद्धमा अवतरण गर्ने र बाँकी नयाँ थपिने अनुमान गरिएको छ ।
फाइदा के ?
गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अवतरण हुन थालेपछि पर्यटन विकासमा ठूलो टेवा पुग्ने सरोकारवालाहरुले विश्वास लिएका छन् ।
‘सबैभन्दा पहिला देशले पहिलो वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल पाउनेछ’ परियोजना निर्देशक भण्डारीले अनलाइनखबरसँग भने- ‘गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय जगतमा प्रत्यक्ष सम्बन्ध हुनेछ ।’
जिल्लाबाट वैदेशिक रोजगारीमा जानेहरुलाई गौतम बुद्ध विमानस्थल सञ्चालनमा आएपछि राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । गौतम बुद्धको जन्मस्थलको प्रचार-प्रसार गर्न सहजता मिल्ने बताउँदै निर्देशक भण्डारीले भने- ‘बौद्धमार्गीहरु सिधै लुम्विनी आएर फर्किन सक्नेछन् ।’
प्रतिक्रिया