मुक्त कमलरीले च्याते छात्रवृत्ति निर्देशिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ पुष २०७१, सोमबार ११:४४

download (2)काशी पोख्रेल÷बाँके । आफ्ना माग सम्बोधन गर्न नसकेको भन्दै बाँकेका मुक्त कमलरीले एकीकृत छात्रबृत्ति व्यवस्थापन निर्देशिका २०७१ च्यातेका छन् । कमलरी प्रथा उन्मुलनका लागि संयुक्त संघर्ष समिति र नेपाल सरकारबीच भएको सहमति अनुसार शिक्षा विभागले तयार गरेको निर्देशिका उनीहरूले च्यातेका हुन् ।

एकीकृत छात्रबृत्ति व्यवस्थापन निर्देशिका २०६८ मा मुक्त कमलरीका लागि सीप विकास तालिम दिने उल्लेख भएपनि निर्देशिका २०७१ मा उक्त व्यवस्था हटाएकोमा उनीहरूको आपत्ती छ । निर्देशिका संसोधनका लागि भएको छलफलमा मुक्त कमलरीलाई बोलाइए पनि आफ्ना विचार राख्न नदिएको र राख्न खोज्दा हपारेको मुक्त कमलरी विकास मञ्च बाँकेका अध्यक्ष दिलकुमारी चौधरीले बताइन् ।
निर्देशिका तयार गर्न प्लान नेपालले समेत सहयोग गरेको मुक्त कमलरीहरूले बताएका छन् । छात्रबृत्ति रकम नबढ्नुमा प्लान नेपालको समेत भूमिका रहेको आरोप चौधरीले लगाइन् । उनले भनिन्, ‘निर्देशिका बनाउन प्लानले आर्थिक सहयोग गरेका कारण मुक्त कमलरीको अहितमा निर्देशिका बनाउन प्लानको पनि हात छ भन्ने हाम्रो ठम्याई छ।’
आफुहरुको संलग्नता विना निर्देशिका तयार भएकोले स्वीकार्य नहुने बताउँदै उनले छात्रबृत्ति रकम समयमा नआउँदा छात्रावासमा बस्दै आएका मुक्त कमलरीले अनेकौं समस्या झेल्न परेको बताइन् । आर्थिक वर्ष २०७१÷०७२ को ५ महिना वित्दासमेत छात्रबृत्ति रकम नआएकोले राँझास्थित छात्राबासमा बसेका मुक्त कमलरीले उधारो सामान किनेर खान बाध्य भएको चौधरीको भनाई छ ।
अध्यक्ष चौधरीले गत आर्थिक वर्षमा बाँकेको छात्रावासमा वार्षिक १ लाख ८९ हजार रुपैयाँ वजेट आए पनि यस आर्थिक वर्षमा अहिलेसम्म जम्मा २० हजार रुपैयाँमात्र पठाउने निर्णय भएको बताइन् । यति कम रकमले छात्रावास संचालन हुन नसक्ने मुक्त कमलरी मञ्चले बताएको छ । छात्रबृत्तिका लागि आएको रकम समेत मुक्त कमलरीले थोरै पाउने गरेको बताउँदै उनले परिचयपत्र नहुँदा सरकारी सुविधाबाट समेत बञ्चित भएको जानकारी दिइन् ।
मुक्त कमलरीले सीप विकास तालिमको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सिटीईभिटीले दिने तालिम र पाठ्यक्रम अध्ययन गर्न मुक्त कमलरीका लागि सरकारले निश्चित कोटा निर्धारण गर्नुपर्ने उनीहरूको माग छ । सरकारले कक्षा १ देखि ७ सम्म अध्ययन गर्ने मुक्त कमलरीका लागि वार्षिक १ हजार ५००, कक्षा ८ देखि १० सम्मका लागि १ हजार ८०० र ११ देखि स्नातक तह सम्मका विद्यार्थीका लागि ५ हजार रुपैयाँ छात्रबृत्ति दिँदै आएको छ ।
आफूहरूले पाउँदै आएको रकम अपुग भएको भन्दै उनीहरूले कक्षा १ देखि ५ सम्म अध्ययन
गर्नेका लागि ४ हजार, ६ देखि ८ का लागि ७ हजार, कक्षा ९ र १० का लागि १० हजार र १० जोड दुईमा अध्ययनरत मुक्त कमलरीका लागि १२ हजार रुपैयाँ बनाउन माग गरेका छन् । यसैगरी स्नातक तहसम्मका लागि २० हजार रुपैयाँ व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ । मुक्त कमलरीले आवासिय छात्रबृत्तितर्फ प्रति विद्यार्थी मासिक ४ हजार रुपैयाँका दरले वार्षिक ४८ हजार र उपचार खर्चका लागि आकस्मिक कोष खडा गरी वार्षिक ५ देखि १० लाख रुपैयाँ व्यवस्था गर्न माग गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१