काशी पोख्रेल÷बाँके । नेपाली युवा पुस्तामा संगीतको रौनक बढ्दै गइरहेको अवस्थामा नेपालगन्जमा भने समुदायद्वारा सञ्चालित सबैभन्दा पुरानो संगीतालय जीर्ण बन्दै गइरहेको छ । २०२८ सालमा स्थापना भएको नेपालगन्ज–१७ स्थित सरस्वती संगीतालय पछिल्लो समयमा बन्द रहेको छ भने मध्य तथा सुदूरपश्चिमकै यो संगीतालयको भवन तथा प्रांगणमा रहेको सरस्वतीको मुर्तीसमेत जीर्ण बनेको छ ।
संगीत गुरु सुरेशराज शर्माको मृत्यु भएपछि गुरुको अभावमा करिब ११ बर्षदेखि बन्द भएको संगीतालयमा रहेका संगीत सामग्रीहरु समेत हराइसकेका स्थानीयहरु बताउँछन् । स्थानीय रामलाल शर्माले भने, ‘विगतमा यस संगीतालयले धेरै संगीतकर्मी सिर्जना गरेको छ । संगीतालयद्वारा उत्पादित सन्तोष ढकाल अहिले फिल्मी दुनियाँमा जमेका छन् । तर अहिले कसैले पनि गुरुस्थललाई फर्केर हेरेका छैनन् ।’
नयाँ पिढीका युवाहरु संगीत सिक्न आकर्षित हुने गरे पनि संगीतालय नै बन्द भए पछि संगीतको रौनकमा रम्न चाहने युवाहरु बरालिन थालेका छन् । संगीतप्रेमीहरु भन्छन्, ‘संगीतालय सञ्चालन गर्ने चाहना छ, कतिपय साथीहरु बाहिरबाट संगीत कोर्ष गरी आउनुभएको पनि छ । तर, संगीतालयको अवस्था जीर्ण रहेको र पुराना सामग्रीहरु नभएका कारण समस्या देखिएको छ ।’
स्थानीयहरुका अनुसार विगतमा जस्तै दर्जनबढी संगीत सिक्न पाइने संगीतालयमा संगीत प्रशिक्षण सुचारु भए धेरै युवाहरु कुलतबाट समेत जोगिने दावी गर्दै स्थानीय बुद्धिबहादुर खड्काले भने, ‘संगीतालय सुचारु भए समय बिताउन सजिलो हुनका साथै युवाहरुमा संगीतप्रतिको मोह जाग्ने थियो ।’ उनका अनुसार संगीतालय सञ्चालन गर्न धेरै प्रयास गरे पनि कहिँकतैबाट सहयोग नभएकाले व्यवस्थापनमा समस्या छ ।
विगतमा व्यवस्थापनको कमजोरीले संगीतालयमा रहेका करिब ५ लाख मुल्य बराबरका सामग्री हराएका छन् भने सामाग्री कसले लगेको हो भन्ने पहिचान भएको छैन । अहिले संगीतालयको तीन कोठे भवनसमेत जीर्ण बनेको छ । बर्षायाममा छतबाट पानी चुहिनुका साथै भवनका भित्ताहरु चर्किएका छन् । संकटकालका समयमा बन्द भएको संगीतालय आर्थिक अभावका कारण भत्किने अवस्थामा पुगेको छ ।
भवन जीर्ण भएकाले बाद्यबाधनका सामग्रीहरु राख्ने स्थानसमेत छैन । यहाँबाट धेरैले संगीत सिके पनि कसैले यसलाई फर्केर हेरेनन् । सरकारी पक्षको त झनै बेवास्ता छ । मध्यपश्चिम क्षेत्रकै सबैभन्दा पुरानो मानिने सरस्वती संगीतालयमा टाढा टाढाबाट धेरै संगीतप्रेमी युवाहरु संगीत सिक्न आउने गरेको भए पनि पछिल्लो समयमा संगीतालयको अवस्था देखेर स्थानीयहरु निराश भएका छन् ।
अहिलेको समयमा व्यक्तिगत रुपमा कैयन संगीतालय स्थापना भए पनि समुदायको पहलमा स्थापित सरस्वती संगीतालयलाई पुनः सञ्चालन गर्नुपर्ने र संगीतालयको नाममा रहेको सम्पत्तिको खोजी गर्नुपर्ने स्थानीयहरुको माग छ । संगीतालयलाई व्यवस्थित रुपले सञ्चालन गर्न चाहे पनि कतैबाट सहयोग नभएकाले समस्या भएको स्थानीयहरु बताउँछन् ।
प्रतिक्रिया