यसरी पढे निस्कन्छ लोकसेवामा नाम

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ पुष २०७१, बुधबार ०९:४५
  • लोकसेवा टपरको परीक्षामा सफल हुने टिप्स

 धेरै मध्यमवर्गीय नेपाली युवाको सपना हुन्छ– लोकसेवामा नाम निकालेर सरकारी जागिर खाने । नेपालमा निजामती सेवाको बढ्दो आकर्षणसँगै लोकसेवामा प्रतिष्पर्धा झन्–झन् कठिन हुँदै गएको छ । लोकसेवा आयोगले यस वर्ष माग गरेको ४६५ शाखा अधिकृतका लागि बिसौं हजारले आवेदन दिइसकेका छन् । त्यसैगरी उपसचिवका लागि पनि परीक्षा चलिरहेको छ । सेवा प्रवेशका लागि योग्य बन्न हजारौं युवायुवती ट्युसन,कोचिङलगायत स्वअध्ययनसहित मिहिनेत गरिरहेका छन् ।

तर,लोकसेवामा नाम निकाल्न सजिलो छैन,सानोतिनो तपस्या नै गर्नुपर्छ यसमा नाम निकाल्न । निरन्तरको मेहनतका साथ धैर्य र आत्मबल पनि चाहिने भुक्तभोगीहरुको धारणा छ । यसै सन्दर्भमा लोकसेवा टपर तथा हालका वन तथा भूसंरक्षण मन्त्रालयका सहसचिव किरणराज शर्माले लोकसेवा परीक्षामा सफल बन्ने केही टिप्स बाँडेका छन्,आजको नयाँ पत्रिका दैनिकमा ।

शर्माका अनुसार सबैभन्दा पहिले अध्ययन सामग्रीको खोजविन गर्ने काममा यसको तयारीमा रहेकाले ध्यान दिनुपर्छ । तर अध्ययन सामग्री खोज्दा पाठ्यक्रम र सोसँग सम्बन्धित सामग्रीमा भने बिशेष चनाखो हुनुपर्छ ।

राष्ट्रिय योजना आयोग,अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय ,लोकसेवा आयोग,विभिन्न संसदीय समितिका प्रतिवेदन,प्रशासन सुधारका प्रतिवेदन संकलन गरी अध्ययन गर्न पनि लोकसेवाको तयारीमा रहेकाले छुटाउनु हुँदैन ।

बिबिसी नेपाली सेवालगायतको राष्ट्रिय,अन्तर्राष्ट्रिय समाचार च्यानल सुन्ने,हेर्ने र महत्वपूर्ण घटनाक्रमको टिपोट गर्ने गर्नाले पनि परीक्षार्थीलाई फाइदा पुग्छ । यसको साथमा सम्बन्धित विषयमा विद्वानहरुको लेख तथा अन्तरवार्ता पढ्ने र महत्वपूर्ण कुराहरु टिपोट गर्ने बानी बसाल्न फिटिक्कै अल्छी गर्नु हुँदैन । अगाडिका परीक्षामा उत्तीर्ण भएकाको अनुभव जान्न उनीहरुसँग कुराकानी गर्नु पनि उत्तिकै हितकर हुन्छ ।

इन्टरनेटमा बृहत्तर ज्ञान छ । त्यसको उपयोग गर्दै पाठ्यक्रम अनुसारको विषयको अध्ययन गर्नाले पनि निकै सहयोग पुग्छ । पाठ्यक्रम अनुसारको नोटकपी बनाएर, अलग–अलग विषय संग्रह गरेर अध्ययन गर्ने बानी बसाल्न ढिलो गर्न हुँदैन ।

निराशाले मानिसलाई गन्तव्यमा पुर्याउँदैन । यो मानिसको सफलताको शत्रु हो । त्यसैले हरेक समय उत्साहित रहिरहनुपर्छ । कहिल्यै पनि मनोबल कम हुने गरी सोच्नु हुँदैन । सधैभरी सकारात्मक सोच राख्नुपर्छ ।

अध्ययनका लागि समय चयन पनि निकै नै महत्वपूर्ण मानिन्छ । त्यसका लागि बिहान ४–६ र साँझ पनि दुई घन्टा पढ्नु राम्रो हुन्छ । साथमा दैनिक पढेका कुराहरु लेख्ने र सम्झने कोसिस गर्न छाड्नु हुँदैन । पढ्दा निरन्तर होइन,एक घन्टामा दश मिनेट जति ब्रेक लिनुपर्छ । दैनिक एउटै विषय नपढेर २–३ वटा क्षेत्र तथा विषय पढ्दा राम्रो हुन्छ । कुनै कुरा नोट गर्दा शुद्व,राम्रा र छोटा वाक्य लेख्नुपर्छ,ताकि त्यसले तपाईंको लेख्ने बानीमा सुधार होस र एउटा लय बसोस् । अबधारणा ,सिद्वान्त र अभ्यासजस्ता विषयमा जानकारी राख्न पनि छुटाउनु हुँदैन । लेख्दा तथा अन्तर्वाता दिँदा ओजपूर्ण शब्दचयन गर्ने बानीको पनि विकास गर्नुपर्छ ।

पढ्दा कुर्सी तथा टेबुलमा बसेर एकाग्र भएर पढ्नुपर्छ । ऐनामा हेरी विश्लेषण गर्ने बानी बसाल्दा त्यसले धेरै नै फाइदा पुग्छ । मिल्ने,खुल्ने र जान्ने साथीसँग सहकार्य गर्ने कुरामा पछि पर्नु हुँदैहुँदैन । वातावरणलाई जतिमैत्रीपूर्ण र हर्षपूर्ण बनाइयो त्यति नै फाइदा हुन्छ,त्यसैले यसतर्फ ध्यान दिनु हितकर नै हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, पुस ११, २०८१