हिँडडुल गर्दागर्दै एक्कासि थाहै नपाई मृत्यु हुन्छ मुटुरोगीको

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ पुष २०७१, मंगलवार ०७:०५

गंगालालमा उपचाररत सल्यानकी १८ वर्षकी सिर्जना ओली । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र (माथि) र कैलालीको अत्तरियास्थित पुष्पाञ्जली मेडिकलमा सञ्चालन हुँदै आएको घुम्ती शिविरमा आएका बिरामी।

बाजुरा ,२२ पौष  । बाह्रबिस जुवापानीका ३५ वषर्ीय चन्द्रबहादुर सिंहको हिँडडुल गर्दागर्दै एक्कासि ढलेको केही क्षणमै मृत्यु भयो। परिवार र छिमेकीले देउता लागेर उनको मृत्यु भएको अड्कल काटे। स्वास्थ्यकर्मीले भने हृदयाघात भएको ठहर गरे।

अप्रत्यासित रूपमा हृदयाघात भएर मृत्यु भएकाहरूलाई गाउँघरमा देउता लागेको अर्थ लगाइन्छ। कतिपयलाई आफू मुटुरोगी भएको थाहा पाउनै वषौर्ं लाग्छ। जाजरकोट सुवानाउलीका मानबहादुर बुढाका १४ वषर्ीय छोरा दीपकलाई तीन वर्षमै स्वास्थ्य समस्या भयो। उनले छोरालाई ६ वर्षसम्म गाउँ, जिल्ला र सुर्खेतका स्वास्थ्य संस्थामा जाँच गराए। चिकित्सकले सन्चो भइहाल्छ भन्दाभन्दै रोगले च्याप्दै गयो। सात वर्षसम्म दौडधुप गरेपछि चौरझारीका स्वास्थ्यकर्मीले काठमाडौं गएर जँचाउन सुझाए। तर, तत्काल काठमाडौं पुर्‍याउन सकेनन्। आर्थिक अवस्था कमजोर भएका बुढाले ऋण गरेर ११ वर्षपछि बल्ल गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पुर्‍याए।

असोज अन्तिम साता गंगालालको शय्यामा छोरालाई निको हुने आस गरिरहेका मानबहादुरलाई मुटुरोग विशेषज्ञले दुवै भल्ब बिगि्रएकाले शल्यक्रिया गर्नुपर्ने बताउँदा निकै आत्तिए। १५ वर्षमुनिका मुटुरोगी बालबालिकाको निःशुल्क उपचार हुने भएपछि उनलाई केही राहत भयो। मानबहादुरले भने, ‘अन्य खर्च भने एक लाखभन्दा बढी भइसक्यो।’ हृदयाघातका अतिरिक्त बाथज्वरोका कारण मुटुको भल्ब बिगि्रने, जन्मजात प्वाललगायत समस्या दुर्गम क्षेत्रमा बढ्दै गएको स्वास्थ्यकर्मीहरू बताउँछन्। सिकिस्त भएपछि मात्रै बिरामी अस्पतालमा पुग्छन्। स्वास्थ्य संस्थामा पुगेपछि पनि रोग पहिचान गर्न वषौर्ं लाग्छ। ‘दक्ष चिकित्सक र उपकरण अभावले जिल्ला तहमा मुटु रोगको पहिचान गर्नै मुस्किल पर्छ,’ जिल्ला जनस्वास्थ्य अधिकृत ज्ञानेन्द्र दवाडी भन्छन्, ‘रोगीले थाहै नपाई ज्यान गुमाइरहेका छन्।’

दुर्गमको कठिनाइ :

हृदयाघात भएको केही घन्टाभित्र उपचार पाउनसके बिरामीको ज्यान जोगाउन सकिने सम्भावना रहने मुटुरोग विशेषज्ञहरू बताउँछन्। सुदूर र मध्यपश्चिमका दुर्गम जिल्लाका बिरामीका हकमा यो सम्भव छैन। हृदयाघातबाहेक अन्य मुटुरोग लागेका बिरामीसमेत सिकिस्त नहुँदासम्म सुविधायुक्त अस्पताल पुग्न सक्दैनन्। ‘दुर्गम क्षेत्रका मुटुरोगी अधिकांश सिकिस्त भएर थलिने अवस्थामा मात्रै अस्पताल आउँछन्,’ गंगालालका वरिष्ठ शल्यचिकित्सक डा. रामेश कोइरालाले भने।

जाजरकोटका २६ वषर्ीय पृथ्वी रावतलाई बाल्यकालदेखि नै उकालो चढ्दा सास बढ्ने समस्या थियो। स्थानीय स्वास्थ्य केन्द्रहरूमा वर्षौंसम्म विभिन्न थरी औषधि सेवन गरे। निको हुनुको साटो रोगले च्याप्दै गयो। उपचारका लागि जेनतेन काठमाडौं पुग्दा गंगालालका चिकित्सकले उनका दुईवटा भल्ब बिगि्रसकेकाले शल्यक्रिया गर्नुपर्ने बताए। तर, आर्थिक अभावमा उनको उपचार हुन सकेको छैन। पृथ्वीजस्तै दुर्गमका धेरै बिरामी आर्थिक अभाव र जानकारी अभावमा राजधानी पुगेर उपचार गराउन सकिरहेका छैनन्।

सहयोगको प्रावधान :

मुटुरोग लागेको प्रमाणित भए सरकारी अनुदानमा गंगालालले विभिन्न शीर्षकमा सहयोग उपलब्ध गराउँदै आएको छ। जिल्ला तहमा प्रजिअको संयोजकत्वको समितिको सिफारिसमा १५ वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका वृद्धवृद्धालाई निःशुल्क उपचार दिने गरिएको केन्द्रले जनाएको छ। त्यसबाहेक जिल्ला तहको सोही सिफारिसका आधारमा विपन्न समुदाय र परिवारका रोगीलाई उपचारमा एक लाखसम्म छुट दिने गरिएको डा. कोइराला बताउँछन्।

सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार ९ जिल्लाबाट गत आर्थिक वर्षमा गंगालालमा उपचार सहयोगका लागि सिफारिस गरिएका बिरामीको संख्या १ सय ६६ छ। गरिब तथा विपन्नलाई जिल्लाले सहुलियतका लागि गंगालाललाई अनुरोध सिफारिस दिन्छ। तर, सबैले यो प्रक्रियाबारे थाहा नपाएको जनस्वास्थ्य अधिकृत दवाडीले बताए। सर्वसाधारणलाई सहुलियत प्राप्त गर्नसमेत सजिलो छैन। अन्य सरकारी अस्पतालभन्दा व्यवस्थित भए पनि भनसुन नगरी कामै नहुने समस्याबाट गंगालालसमेत मुक्त छैन। विकट क्षेत्रका बासिन्दाले छिटोछरितो उपचारको मेसो पाउँदैनन्। ‘डाक्टरले राम्ररी कुरै बुझाउँदैनन्,’ विकट क्षेत्रबाट गंगालालमा पुगेका अधिकांशको समान गुनासो हुन्छ।

निःशुल्क तथा आर्थिक छुट पाउने बिरामीका अभिभावकले विभिन्न कागजी प्रमाण जुटाउनसमेत सहज छैन। जिल्ला समितिको सिफारिसलगायत कागजात जुटाउनै मुस्किल पर्ने गरेको गंगालालमै उपचाररत रुकुमकी सिर्जना ओलीले बताइन्। स्थानीय स्वास्थ्यकर्मीले काठमाडौं लान सुझाए पनि दुर्गम क्षेत्रका अधिकांशलाई त्यहाँसम्म पुग्ने गाडीभाडाकै समस्या हुन्छ। बाजुरादेखि काठमाडौं पुग्न एकोहोरो गाडीभाडा मात्रै चार हजारभन्दा बढी लाग्छ।

शल्यक्रियापछिको समस्या :

शल्यक्रियाबाट भल्ब फेरेका बिरामीले बाँचुन्जेल हरेक महिना फलोअप गराएर औषधिको मात्रा मिलाइरहनुपर्छ। मुटुमा कृत्रिम भल्ब राखेका बिरामीले नियमित रगत परीक्षण गरेपछि चिकित्सकले औषधि मिलाइदिन्छन्। भल्बमा रगत जमेर तत्काल मृत्यु हुने जोखिम हुने भएकाले चिकित्सकले जम्न नदिने औषधि दिन्छन्। बिरामीले बाँचुन्जेल फारेन नामक उक्त औषधि सेवन गर्नुपर्छ। रगतको पीटी/आईएनआर नामक जाँच गरेर चिकित्सकले औषधिको मात्रा मिलाउँछन्। यो जाँच गर्ने सुविधा राजधानीबाहेक अन्यत्र विश्वसनीय छैन।

पछिल्लो समयमा हाम्रो प्रयास नामक गैरसरकारी संस्थाको सहयोगमा देशभरका १४ स्थानमा घुम्ती शिविर सुरु गरियो। सुदूर र मध्यपश्चिमका बिरामीका लागि हरेक महिना अत्तरिया र नेपालगन्जमा एक दिन रगत जाँच गर्ने व्यवस्था मिलाइएको डा. कोइराला बताउँछन्।

अत्तरियामा सञ्चालन हुने शिविरमा मात्रै हरेक महिना ५० बिरामी आउने गरेको परीक्षणमा संलग्न सुरेशराज शर्माले बताए। तर, यो व्यवस्था सरकारी तवरबाटै हुनुपर्नेमा डा. कोइराला जोड दिन्छन्। उनका अनुसार नेपालमै मुटुको भल्ब फेर्न सकिने चिकित्सा सेवा उपलब्ध भएयता करिब पाँच हजारले पुनर्जीवन पाएका छन्।स्रोत :इकान्तिपुर 

प्रतिक्रिया