धर्मको राजनीति प्रायोजित हल्ला हो – कमल थापा (अध्यक्ष, राप्रपा नेपाल)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ पुष २०७१, शनिबार ०५:५८

kamalरामकुमार एलन ।  धर्मको राजनीति प्रायोजित हल्ला हो – कमल थापा (अध्यक्ष, राप्रपा नेपाल)
पार्टीले गरेको रथयात्राबारे विभिन्न पक्षमा विभिन्न टिकाटिप्पणी भएका
छन् । केही प्रष्ट पारिदिनु होस् ?

रथयात्रा सोखको विषय होइन, राष्ट्रिय दायित्वको रुपमा रथयात्रा गर्ने
निर्णय गरेका हौँ । यो धार्मिक तीर्थयात्रा पनि होइन । रथयात्रा नेपाली
पहिचानको सम्वद्र्धनको आन्दोलन हो । यतिबेला आमनेपालीको चाहना संविधान,
सुशासन र विकास हो । त्यसका लागि देशमा स्थायित्व, शान्ति र
प्रजातान्त्रिक वातावरण बन्नु पर्छ । ९४ प्रतिशत नेपाली जनताको आस्था र
पहिचान बोकेको विषय ‘हिन्दूधर्म’लाई निषेध गरेर शान्ति स्थायित्व प्राप्त
हुँदैन । केही समययता योजनावद्ध र संगठित रुपमा हिन्दू धर्म परिवर्तन
गराउने काम अत्यन्तै आक्रमक र योजनावद्ध रुपमा भइरहेको छ । यतिमात्र
होइन, धर्म परिवर्तनसँगै गौहत्या गरी बहुसंख्यक नेपालीको परम्परागत
मूल्यमान्यतामा वितृष्णा जगाउने र घृणा फैलाउने काम भइरहेको छ । यही कारण
नेपाली समाजको पराम्परागत सद्भाव खल्बलिने र नेपाली जनताको धार्मिक
पहिचान संकटमा परी समग्र राष्ट्रिय पहिचान नै संकटमा पर्ने स्थिति
उत्पन्न भएको छ । यही वास्तविकतालाई आत्मसात् गर्दै संविधानसभाबाट
निर्धारित समयमा संविधान निर्माण गर्न जनजागरणका माध्यमबाट सशक्त जनदबाब
सिर्जना गर्न मेची महाकाली पशुपतिनाथ संकल्प रथयात्रा गर्ने गरेका हौँ ।

रथयात्रामा के के भयो ?

रथयात्राक्रममा सामाजिक, धार्मिक, सद्भाव अभिवृद्धि गर्न विभिन्न सामाजिक
कार्य गरेका थियौँ । विभिन्न स्थानमा भएका जनसभामा संकल्प प्रस्ताव
प्रस्तुत गरियो भने संकल्प प्रस्ताव नेपाली जनताबाट अनुमोदन गराउने कार्य
भएको छ । संकल्पमा नेपाललाई सनातन हिन्दू राष्ट्रका रुपमा पुनःस्थापना
गर्नुका साथै सामाजिक सद्भाव र एकता कायम गर्दै सामाजिक विकृतिका रुपमा
रहेका बहुविवाह, छुवाछुतलगायतका कुरिती अन्त्य गर्दै जनजागरण सिर्जना
गर्ने काममा रथयात्राको मुख्य उद्देश्य पूरा भएको छ । रथयात्रा नेपालको
इतिहासमै ऐतिहासिक रुपमा सम्पन्न भएको महसुस भएको छ र यो रथयात्रा कुनै
एक धर्मविशेषको नभएर सबै धर्मावलम्वीबीचको सहकार्यको सन्देश पनि हो ।

संविधानसभामा संविधान निर्माण हुने–नहुने विषयमा चरम अविश्वास रहेका बेला
त्यहाँ नै संघर्ष नगरी किन रथयात्रा निकाल्ने आवस्यकता देखियो ?

रथयात्रा गर्ने निर्णय पाँच महिनाअघिकै थियो । त्यतिबेला संविधान
निर्माणका कार्य तालिकालाई ध्यानमा राखेर नै रथयात्राको कार्यक्रम तय
भएको हो । पूर्वतालिका अनुसार अहिले नयाँ संविधानको मस्यौदा नेपाली
जनताका हातहातमा जानु पर्ने थियो । तर, दुर्भाग्यवस संविधानसभाका केही
सीमित दलका निश्चित नेताको गलत नीति र आत्मकेन्द्रित स्वार्थी नीतिका
कारण संविधानसभा अलमलमा परेको छ । रथयात्राका सरिक हुँदा पनि
संविधानसभामा राप्रपा नेपालले खेल्नु पर्ने भूमिका र उठाउनु पर्ने आवाज
जारी थियो । रथयात्राक्रममा जनताको चाहनाअनुसारका एजेन्डा र हिन्दू
राष्ट्र नेपालको एजेन्डा स्थापित गर्न क्रियाशील रहन बल पुगेको छ ।

आगामी संविधानमा हिन्दू राष्ट्र स्थापित गर्न कार्यक्रम भइरहेका छन्, तर
संवैधानिक राजतन्त्रबारे कम आवाज उठाएको देखिन्छ नि ? यो एजेन्डामा अडान
छाडेको हो र ?

आगामी संविधानमा हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थाको व्यवस्थाप्रति
राप्रपा नेपालको निष्ठा कत्ति पनि फरक परेको छैन । अहिले पनि नेपालमा
संवैधानिक राजसंस्थासहितको बहुदलीय प्रजातन्त्र आवश्यक छ भन्ने हाम्रो
मान्यतामा हामीहरु पहिले जस्तै अडिग छौँ । विगत आठ वर्षको असफल अभ्यासले
हामीले उठाउँदै आएका एजेन्डाको थप पुष्टि गरेको छ । संविधानमा सनातन
हिन्दू धर्म स्थापित गर्ने कुरा सकेसम्म सहमति, हुन सक्तैन भने
धर्मनिरपेक्षता र गणतन्त्र र संघीयताका विषयमा निर्णय गर्न राष्ट्रिय
जनमत संग्रह गर्नुपर्छ भनेर राप्रपा नेपालले संविधानसभामा औपचारिक
प्रस्ताव नै दर्ता गराएको छ । त्यो प्रस्तावमा औपचारिक छलफल हुने विषयमा
हामी सकारात्मक छौँ ।

नेपाललाई हिन्दू राष्ट्र कायम गरिनु पर्छ भन्ने विषयमा अन्य दलका नेता र
संघ संस्थाले उठाएको आवाजलाई कसरी लिनुभएको छ ?

विगतमा सनातन हिन्दू राष्ट्रका पक्षमा राप्रपा नेपाल एक्लो थियो । अहिले
विभिन्न राजनीतिक दलका महत्वपूर्ण नेताहरु, र विभिन्न सामाजिक संस्थाले
पनि नेपाललाई धर्म निरपेक्षता घोषणा गर्नु गल्ती थियो, नेपाल हिन्दू
राष्ट्र नै हुनुपर्छ भनेका कुराको हामी स्वागत गर्छौँ, त्यसमा हाम्रो
नैतिक समर्थन छ । र, यो हिन्दू राष्ट्रको एजेन्डामा पार्टीको साँघुरो
घेरा भन्दामाथि उठेर एकजुट हुन हामी सम्वद्ध सबै पक्षलाई आव्हान गर्दछौँ
। सम्भव भए सहकार्य र एकता गर्न पनि हामीले आव्हान गरेका छौँ ।

धर्मका नाममा राजनीति भयो भन्ने आरोप छ नि ?

यो प्रश्न आफैँमा एक कोणबाट अत्यन्तै प्रायोजित रुपमा आउने गरेको हामीले
पाएका छौँ । हामीले नेपालका सनातन धर्मको रक्षा हुनुपर्छ भनेर वास्तवमा
९४ प्रतिशत नेपाली जनताको आस्थाको संरक्षण गर्ने प्रयास गरिरहेका छौँ ।
यो धर्मको नाममा राजनीति गरेको होइन । धर्मका नाममा राजनीति त ती व्यक्ति
वा समूहले गरेका छन्, जो ९४ प्रतिशत जनताको आस्थालाई निषेध गरेर अघि
बढ्ने कुचेष्टा गरिरहेका छन् । हामी सर्वधर्म समभाव र पूर्ण धार्मिक
स्वतन्त्राको पक्षमा छौँ । सबै धर्मको स्वतन्त्रताको रक्षा र संरक्षण
हुनु पर्छ भन्ने पक्षमा छौँ । नेपालमा अहिले कतिपय क्रिश्चियन
धर्मसापेक्ष पश्चिमी राष्ट्रले एनजीओ आइएनजीओ खडा गरेर के राज्यको धर्म
हुन्छ भनेर नेपालीलाई प्रश्न गरिरहेका छन् । यो हिन्दू धर्म वा सनातन
मान्यतामाथिकै अपमान हो । आफैँ धर्मसापेक्ष केही पश्चिमा मुलुकले हिन्दू
राष्ट्रविरुद्ध ‘वौद्धिक आतंक’ मच्चाएका छन् । विश्वमा २ सय भन्दा बढी
राष्ट्र अस्तित्वमा रहेका छन् । त्यसमध्ये ७० इसाई, ४० इस्लाम, ९ बुद्ध
धर्मलाई राज्यको धर्म मान्ने देश छन् भने र एउटा देशमा यहुदी धर्मलाई
राज्यको धर्म मानिएको छ । विश्वमा रहेका १ अर्ब ८ करोड हिन्दूको एउटा पनि
राष्ट्र छैन । नेपाल एउटा थियो । त्यसलाई पनि षड्यन्त्रपूर्वक हटाइएको छ

हिन्दू धर्म कायम गराउने आन्दोलनमा विदेशी खासगरी दक्षिणको छिमेकीको
कस्तो सहयोगको अपेक्षा गर्नु भएको छ ?

मैले पश्चिमा मुलुकको कुरा किन गरेको भने केही पक्षले नेपालमा धर्म
परिवर्तन गराइराखेकाले उनीहरुको नाम लिएको हुँ । नेपालको शान्ति र
समृद्धिमा विदेशी मित्रहरुले राख्ने सद्भाव र सहयोग स्वाभाविक छ ।
बेलाबेला छिमेकीबाट पनि कुरा आएका छन् । हामीले के भनेको छौँ भने नेपालको
शासन व्यवस्था र धर्म नेपाली जनताले आफैँ निर्धारण गरेको र गर्ने विषय हो
। संविधानसभाबाट बन्ने नयाँ संविधानको अन्तरवस्तुमा तपाईंहरु तटस्थ
रहिदिनुहोस् ।

हिन्दू भन्ने विषय अलि ‘भेग’ देखिन्छ, तपाईले कसरी बुझ्नु भएको छ ?

‘हिन्दू भन्ने नामको प्रयोग भएको करिब सातसय वर्ष जति भयो । वास्तवमा
भन्ने हो भने हाम्रो धर्मको नाम नै छैन । स्वामी शंकराचार्यकसंग यस
विषयमा सोध्दा उहाँले पनि नाम नै छैन भन्नु भयो । दुई समान अस्तित्वका
विषयको उपस्थिति हुँदा एउटालाई चिनाउन नाम आउने हो । यो धर्म प्रादुर्भाव
हुँदा यो विश्व ब्रम्हान्डमा अर्को धर्मको आस्था र मान्यता नै अस्तित्वमा
थिएन । जसलाई चलन चल्तीमा धर्म भन्छौँ । जस्को अंग्रजीमा ट्रान्सलेसन
‘रिलिजन’ हुन्छ । तर धर्म ‘रिलिजन’ होइन । ‘रिलिजन’ सम्प्रदाय हो ।
‘रिलिजन’को संस्थापक हुन्छ, प्रादुर्भाव मिति र त्यसको आधिकारिक ग्रन्थ
हुन्छ । तर जुन मान्यताको हामी कुरा गरिरहेका छौँ । हिन्दू धर्मको
त्यस्तो केही छैन ।

हिन्दू धर्मका विषयमा छिमेकीको धारणालाई कसरी हेर्नु भएको छ ?

भारतमा अहिले पनि धर्मनिरपेक्षता छैन । जतिबेला भारतको संविधान बन्यो ।
त्यतिबेला संविधानमा ‘सेक्युलर’ थिएन । संविधान बनेको २५ वर्षपछि ईन्दिरा
गान्धीले ‘इमरजेन्सी’ लगाएर गरेको भारतीय संविधानको संशोधन प्रास्तवनामा
‘सेक्युलर’भन्ने शब्द राखियो र भारतलाई धर्मनिरपेक्ष ‘सेक्युलर स्टेट’
भन्ने गरियो । अहिले पनि भारतको आधिकारिक संविधानमा ‘धर्म निरपेक्षता’
भन्ने नै छैन । वास्तवमा भारतमा पन्थनिरपेक्ष मात्र निरपेक्ष हो ।

अपेक्ष के राख्नु भएको छ ?

नेपालको राजनीतिमा अल्पसंख्यकवाद हावी छ । चुनावमा भोटका लागि सानो
संख्यामा रहेका अल्पसंख्यकलाई पुल्पुल्याउने काम भइरहेको छ । बहुसंख्यक
जनतालाई हेला, उपेक्षा र निषेध गर्ने काम गरियो भने त्यसले सामाजिक
सद्भावना र नेपाली समाजमा सदियौँदेखि रहेको एकता खलबलिन्छ । नेपाल
डरलाग्दो अवस्थातर्फ जाँदै छ । जुन ढंगबाट धर्म परिवर्तन गर्ने र धार्मिक
सद्भाव खलबल्याउने काम भइरहेको छ । निश्चित विन्दुमा पुग्यो भने त्यो
विष्फोट हुने छ । यो स्थिति नआओस् भन्ने कामना छ । रथयात्राको दौरानमा
सक्नेले सकारात्मक रुपमा सहयोग गरिदिनु भयो । भएको कुरा लेखिदिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१