सौराहा, पुस १२ – हात्तीको सामूहिक बनभोज सुन्दा आश्चर्य लाग्न सक्छ । तर यो साँचो हो । पर्यटक बोक्न र उनीहरुलाई स्नान गराउने यहाँका पालुवा हात्तीलाई शनिवार आराम दिइएको थियो ।
फुर्सदिला हात्ती मध्यान्हदेखि स्थानीय बाघमारा चौरमा भेला हुने क्रम सुरु भएको थियो । चौरमा लहरै बनाइएको बाँसको प्याराफिट (टेबल) मा मिठा फलफूल र खानेकुरा सजाइदै थियो । सफारीमा प्रयोग हुने निजी र चितवन निकुञ्ज अन्तर्गतका हात्तीका लागि यस्तो चाँजोपाँचो क्षेत्रिय होटल संघले मिलायो ।
अपरान्ह पालुवा हात्तीलाई लहरै उभ्याइयो । एकै ठाउंमा हात्तीको लाम देख्दा दर्शक मोहित बने । हात्ती भने टेवलमा सजाएका खानेकुरा खान व्यस्त भए । पहिलो पटक यसरी हात्तीलाई बनभोज आयोजना गरिएको थियो । पालुवा हात्तीको स्याहार र रेखदेखमा सचेतना जगाउने उद्धेश्यले भोज आयोजना गरिएको हो । आगन्तुकले हात्तीको आहार र आनीबानी बुझुन भनेर यस्तो आयोजना गरिएको थियो । चितवन हात्ती महोत्सवको ११ औं संस्करणमा थपिएको यस कार्यक्रमले पर्यटक, सर्वसाधरण र संरक्षणकर्मीको ध्यान तान्यो ।
बिदाको दिन भएकाले दर्शकलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे हम्मे पर्यो । दर्शककै भिडविच शिक्षा मन्त्री चित्रलेखा यादवले हात्तीलाई फलफुल खुवाएर उदघाटन गरिन् । वनभोज हेर्न विभिन्न सरकारी कार्यालय तथा बन्यजन्तु संरक्षणमा काम गर्दै आएका ब्यक्तित्वको बाक्लो उपस्थिती थियो । प्याराफिटमा खानेकुरा राखिएको थियो । छेउमा हात्तीको लाईन थियो ।
८० भन्दा बढी हात्तीलाई खिर, उखु, खुदो, बन्दा, केरा, सुन्तला, स्याउ लगायत फलफुल राखेर सामुहिक रुपमा खुवाइएको थियो । दृश्य हेरी रहेका दर्शकले मन थाम्न सकेनन् । हात्ती भएकै ठाउँमा पुगेर धमाधम फलफुल खुवाउन ब्यस्त भए ।
प्रतिक्रिया