काठमाडौं । उपलब्धिका हिसाबले क्रिकेट नेपालका लागि प्रभावकारी साबित हुँदै आएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेट खेलाडीले हातपार्दै आएको एकपछि अर्को सफलताको कथाले यो संकेत गर्छ। टीट्वेन्टी विश्वकपजस्तो प्रतिष्ठित प्रतियोगितामा नेपालको सहभागिता सफलताकै कडी थियो। राष्ट्रका लागि नतिजामुखी खेल भए पनि पछिल्लो समय नेपाली क्रिकेट विवादको भुमरीमा परेको छ। स्रोत सीमित भए पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसमेत क्यान विवादका कारण सकसमा परेको अन्नपूर्ण पोस्टमा खबर छ ।
क्यानमा आर्थिक अनियमितता भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएक छ भने क्यानका निर्वाचित पदाधिकारीलाई निलम्बन गरी युवा तथा खेलकुद मन्त्रालयले तीन सदस्यीय तदर्थ समिति बनाएपछि विवाद अदालतको शरणमा पुगेको छ।विवादले क्रिकेटको प्रदर्शनमा असर पर्ने अवस्था उत्पन्न भएपछि अख्तियार प्रमुख लोकमानसिंह कार्की क्रिकेट विकासको वातावरण बनाउन अघि सरेका छन्।
कार्कीले बुधबार आफ्नै कार्यकक्षमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामा, युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, सहसचिव चूडामणि पौडेल, क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्य, क्रिकेट कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेललगायतसँग भेटे।उनले खेलाडी र पदाधिकारीसँग नेपाली क्रिकेटको अवस्थाबारे जानकारी लिए। राखेपका सदस्यसचिव लामाका अनुसार कार्कीले क्रिकेट विकासमा गहिरो चासो व्यक्त गरेका थिए।
उनले राष्ट्रका लागि क्रिकेट परिणाममुखी खेल भएकाले यथाशीघ्र विवाद समाधान गरी खेलको वातावरण बनाउन सुझाव दिएको लामाले बताए।छलफलपछि कार्कीले सरोकारवाला सबै पक्ष समेट्ने गरी १५ दिनभित्र विवाद समाधानका लागि उपयुक्त निर्णय लिन मन्त्रालयका सचिवको ध्यानाकर्षण गराएका थिए। अख्तियारको कारण देखाई निर्णय गर्नबाट पन्छिने प्रवृत्ति तत्काल अन्त्य हुनुपर्ने धारणा राख्दै कार्कीले आगामी दिनमा खेलविरोधी गतिविधिप्रति अख्तियारले निरन्तर अनुगमन गर्ने आश्वासन दिए।
कार्कीले क्रिकेटमा देखिएको विवाद समाधान गर्न र खेलाडीले निर्धक्क भएर खेल्ने वातावरण बनाउन राखेपका सदस्यसचिवलाई समेत सहभागी गराई ठोस कार्यक्रम तयार पार्न पनि मन्त्रालयका सचिवको ध्यानाकर्षण गराए। ‘क्रिकेट विकासका लागि म संस्थागत र व्यक्तिगत रूपमा हरेक सहयोग गर्न तयार छु’, कार्कीको भनाइ उद्धृत गर्दै लामाले भने।
प्रतिक्रिया