रक्तदानमा महिला आकर्षण बढ्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ पुष २०७१, शनिबार ११:२९

काशी पोख्रेल÷बाँके । महिलाहरु रगत लिने मात्रै गर्छ दिदैनन् भन्ने भनाई विपरित नेपालगन्जमा रक्तदान गर्ने महिलाको संख्या बढ्दै गएको छ । रक्तदानप्रति रुची पनि राख्न थालेका छन् । महिला रगत लिनमा मात्र अगाडि हुने भन्ने परम्परागत सोचमा विस्तार परिवर्तन आउँदै गएको छ ।
कैलपाल हस्पिटल एण्ड कलेज नेपालगन्ज र लाइन्स क्लब अफ नेपालगन्ज मिड टाउनले आयोजना गरेको रक्तदानमा ४० प्रतिशत भन्दा बढि महिलाहरुले रक्तदान गरेका छन । रक्तदान गर्ने ८० जना मध्ये ३० बढि महिला रहेको कैपाल हस्पिटलका प्रबन्ध निर्देशक संजय सिंहले जानकारी दिएका छन् ।
केही महिलाले रक्तदान गर्न फारम भरेका भए पनि प्राविधिक कारण उनीहरुले रगतदान गर्न नसकेको प्रबन्ध निर्देशक सिंहले बताए । रक्तदान गरेकी नेपालगन्जकी रेखा खड्काले जनचेतनाको अभावमा महिलाहरु रक्तदान गर्न डराउने गरेको बताइन ।
उनले रक्तदानको बारेमा जनचतेना दिन सकेमा रक्तदान गर्ने महिलाहरु बढ्दै जाने बताएकी छन् । पहिलो पटक दिँदाको अनुभव सुनाउँदै खड्काले भनिन् ‘मलाई सुरुमा त डर लाग्यो तर रक्तदान जीवनदान हो भन्ने सम्झे अनि रमाइलो लाग्यो ।’
पहिलो पटक रक्तदान गरेकी भेरी नर्सिङ्ग कलेज प्रमाण पत्र तह प्रथम बर्षकी छात्रा विनिता घिमिरेले रक्तदान पाएकोमा खुसी प्रकट गरेकी छन् । छात्रा विनिताले भनिन् ‘कस्तो होला जस्तो लागेको थियो तर केही हँुदैन रहेछ ।’
रगतदान गरेकी अर्की छात्रा मिना गुरुङले सुरुमा डर लगे पनि अरुको जीवन बचाउने काम गरेको भन्दै दंग परिन् । नर्सिङ कलेजकी छात्रा प्रिती शा‘रामदाम’ले केटीले पनि केटा जस्तो काम गर्न सक्छ भन्ने आँटसहित रगतदान गरेको बताइन् । उनले भनिन्, ‘केटी चाहिँ के कम, हामी केटाभन्दा अगाडि छौँ ।’
कैपालकी निर्देशक रेवती सिंहले आफुले चाहँदा चाहँदै प्राविधिक समस्याको कारण दिन नसकेको बताइन् । उनले महिलाहरुमा रक्तदानमा आकर्षित गराउन जनचेतना दिनु पर्ने बताएकी छन् । उनले शिक्षित र रक्तदानप्रति बुझेकाहरु रक्तदान गर्न आफै अग्रसर हुने गरेको बताइन् ।
नेपाल रेडक्रस सोसाइटी रक्तदान केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी रक्तदान गर्ने महिलाको सहभागिता बढ्दै गएको बताए । उनले शाररीक अवस्थामा कारण कतिपय महिला रक्तदानबाट बञ्चित हुने गरेको बताए । ‘रक्तदान गर्न आउनेहरु बढिरहेका छन्, तर शाररीक हिसाबले कति पयले दिन सक्दैनन्’ रक्तदान केन्द्रका प्रमुख उप्रेतीले भने, ‘आरविसीको आयु १२० दिन हुन्छ, यो विचमा रगत नदिए पनि आफै नष्ट हुन्छ र नयाँ आरविसी उत्पादन हुन्छ ।’
यसै खेर जाने रगत दान गरेर अरुको जीवन बच्ने कुरामा जानकारी भएमा पनि रक्तदान गर्ने संख्या बढदै जाने छ । उनले महिलाहरुले रगत लिने मात्र अगाडि छन् भन्ने कुरा विस्तारै कम हँुदै गएको बताए । तथ्याङ्को आधारमा ८०÷८५ प्रतिशत महिलाले रगत लिने गरेका छन भने १५÷२० प्रतिशतले मात्र दिने गरेको छन् । अशिक्षा, सामाजिक सोच र महिलाको शाररीरिक अवस्थाको कारणले रक्तदान गर्ने महिला पुरुष भन्दा कम रहेको रक्तदान केन्द्रका प्रमुख उप्रेतीले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१