पापीहरुले एक–एक गरी कोपिला चुँडे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ पुष २०७१, बिहीबार १३:११

एजेन्सी – हतियारधारी तालिबान आतंककारीहरूले मंगलबार सैनिक पब्लिक स्कुलमा आक्रमण गर्दा १३ वर्षीय सइद सभाकक्षमा थिए।अन्धाधुन्ध गोली चल्न थालेपछि उनी कुर्सीमुनि छिरे। स्वचालित हतियारबाट गोलीको पर्रा छुटेझैं उनको मुटु धड्किरहेको थियो। त्यही धड्कनले नै आतंककारीको ध्यान तानिएला कि भनेर उनी थुरथुर थिए। बन्दुकबाट गोली चल्दा निस्केको आगोको झिल्काले उनी राम्ररी आँखा उघार्नधरि सकिरहेका थिएनन्। कुर्सीमुनि ज्यान कुप्रो पारेर बल्लतल्ल अडिन सकेका सइद आँखा झिमझिम गर्दै मनै कँपाउने घटनाको साक्षी बनेका थिए, जसमा १ सय ३२ जना उनीजस्तै विद्यार्थी केटाकेटी तालिबानी क्रूर हमलाको सिकार बने। ‘म कुर्सीमुनि लुकेर डराई–डराई सबै हेरिरहेको थिएँ, उनीहरू हुुर्रर हाम्रो सभाहलभित्र छिरे, ड्यामड्याम गोली चलाउन थाले,’ पेसावरस्थित लेडी रिडिङ अस्पतालमा उपचाररत सइदले मंगलबारको हृदयविदारक घटना सम्झिए। एकपछि अर्को साथी ढल्न थालेपछि उनले घटनास्थलबाट लुकिछिपी आफ्नी आमालाई फोन गर्न भ्याएछन्। उताबाट आमाले रिसिभर उठाएपछि यताबाट सइदले घटनाको केही बयान गर्नै परेन। एकोहोरो बर्सिरहेको गोलीको तिखो आवाज टेलिफोनबाट सहरको पल्लो कुनासम्म कान छेड्ने गरी फैलिएको थियो। त्यत्राविधि केटाकेटीको हत्या हुँदा पनि आफ्नो छोरो जीवित आँखाअगाडि देखेर सइदकी आमा आफैंलाई सम्हाल्न सकिरहेकी थिइनन्। अघिल्लो दिन चरम हतासाबाट गुज्रिनुपरेकाले होला, कुराकानी क्रममा उनी धेरैचोटि भक्कानिइन्। सइदसँगै अस्पतालको बेडमा थिए, १७ वर्षीय साहरुख खान। सैनिक स्कुलमा तालिबानी हमला हुँदा उनी आफ्ना साथीहरूसँग कक्षाकोठामै थिए। ‘बन्दुकधारी सुइँसुइँ कक्षाभित्र आए र अन्धाधुन्ध गोली चलाउन थाले,’ घाइते साहरुखले भने,‘म डेस्कुमनि लुकेँ, त्यहीँबाट देखेँ, मेरा साथीहरू गोली लागेर एकपछि अर्को भुइँमा ढलिरहेका छन्। कसैलाई टाउकोमै गोली लागेको थियो त कसैको छातीमा। हेर्दाहेर्दै मेरो आँखैअगाडि दुई जना शिक्षक पनि मारिनुभयो।’ द्धउनीहरूले मेरा साथी र शिक्षकहरूलाई मारे,’ साहरुखले रुँदै भने। उनका अनुसार हतियारधारीहरू सामान्य पोसाकमा आएका थिए। उनीहरूका दाह्री र कपाल लामा थिए। र, प्रशस्त हातहतियार भिरेका थिए। सइद र साहरुखले बुधबार अस्पतालको शऒ्ढयाबाट अघिल्लो दिनको घटना जसरी सम्भ्किए, त्यसले नै उनीहरू कस्तो बीभत्स घटनाबाट गुज्रिन पुगे भन्ने छर्लंग पार्छ। पेसावरको आर्मी पब्लिक स्कुल बुधबार बिहान त्यत्तिकै चकमन्न थियो, जति स्कुलभन्दा ठिकपछाडिको चिहान सधैं नै रहने गर्छ।आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया