मेलम्ची कतै मेलम्चीमै मात्र सिमीत हुने त होइन ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ पुष २०७१, बिहीबार ०८:४३

ज्ञानमणि कालोटोपी

gyanmani
राजधानीवासिको खानेपानीको सपनाका रुपमा रहेको चर्चित तथा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न भई राजधानी ल्याइने भनिएको पनि १६ वर्ष बितिसक्यो तर अहिले सम्म पनि योजना सम्पन्न हुन नसक्दा राजधानीवासिको सपना विपनामा परिणत हुन सकिरहेको छैन ।
योजना निर्माणमा विभिन्न विवाद , स्थानियहरुको अवरोध तथा ठेकेदारले विच–विचमा काम छोड्ने गरेका कारण योजना समयमा सम्पन्न हुन नसके पछि राजधानीवासिको सपना आजका दिन सम्म सपनामै सिमित रहेको छ । दैनिक १७ करोड लिटर पानी सिन्धुपाल्चोकको मेलम्चीबाट राजधानी लैजाने भनेर सन् १९९८ देखि योजना शुरु भएको हो । यस अवधिमा अरवौं रुपयाँ सकिएको भएपनि अहिले सम्म योजना सम्पन्न भएको छैन । एशियाली विकास वैंक (एडिवि) लगायत अन्य संस्था र नेपाल सरकारको संयुक्त लगानीमा शुरु भएको यस योजनाका लागि निर्माण गरिनु पर्ने २७ किलोमिटर सुरुङ्ग मध्ये अहिले सम्म करिव ८ किलोमिटर मात्रै सम्पन्न गरिएको छ । योजना शुरु भए देखिकै हिसाव गर्ने हो भने खर्च र समयको लगानी अनुशार यो ज्यादै कम हो । बाँकि निर्माणलाई तिव्रता दिईएको र आगामि ०७३ सालको बैशाख महिनामा मेलम्चीको पानी राजधानी सम्म पु¥याइने लक्ष्यका साथ काम भईरहेको मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको थियो । तर अहिले आएर कामको जिम्मा लिएको इटालियन ठेकेदार कम्पनी सिएमसिले समय थप्नु पर्ने बताउँदै आएकाले सरकारले भनेको सो समयमा पनि योजना सम्पन्न नहुने सम्भावना वढेको छ ।
हुन त योजना सम्पन्नका लागि सो कम्पनीले अहिले दैनिक २० देखि २५ मिटर सुरुङ्ग निर्माण गर्दै आएको जनाएको छ । यस अघि निर्माण गर्दै आएको पुर्व ठेकेदार कम्पनी चाइना रेल्वे १५ व्युरो कर्पोरेसनले दैनिक यति धेरै निर्माण गर्न सकेको थिएन । निर्धारित समयमा काम सम्पन्न गर्न अब मासिक १ किलोमिटर जति सुरुङ्ग निर्माण गर्नु पर्ने हुन्छ । यसका लागि सम्बन्धित ठेकेदार कम्पनीले अहिले दैनिक करिव ४ सय जना कामदारलाई चौविसै घण्टा परिचालन गरेको बताएको छ । अहिले भएको कामको अनुपातमा योजना ०७३ बैशाखमै सम्पन्न गर्न सकिनेमा आयोजना ढुक्क रहेको केहि समय अगाडि जानकारी गराएको भएपनि पछिल्ला दिनहरुमा जिम्मा लिएको सो कम्पनीले आनाकानी गरेको बुझिएको छ । कम्पनीले समय थप्नु पर्ने माग राखेको छ ।
अहिले सम्म यस आयोजनामा करिव ९ अर्व रुपयाँ लगानी भईसकेको छ । यसको अनुमानित खर्च करिव ३२ करोड अमेरिकी डलर ( २७ अर्व नेपाली रुपयाँ ) रहेको छ । जस मध्ये झण्डै आधा हिस्सा अर्थात १४ करोड डलर एशियाली विकास बैंकले खर्च गर्नेछ । बाँकि मध्ये जापानी अन्र्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले करिव २ करोड डलर , जापानको अन्र्तराष्ट्रिय सहयोग बैंक ( जेबी ) को करिव ५ करोड डलर , तेल निर्यातक राष्ट्रहरुको नियोग ( ओपेक ) को करिव १ करोड ५० लाख डलर , नर्डिक विकास फन्टको करिव १ करोड ५ लाख डलर र नेपाल सरकारको करिव ९ करोड १० लाख डलर खर्च हुने अनुमान छ ।
यतिखेर राजधानीमा दैनिक करिव ३५ करोड लिटर खानेपानीको माग रहेको छ । जस मध्ये खानेपानी संस्थानले करिव १४ करोड लिटर जति मात्र आपूर्ति गर्न सकेको छ । बाँकि खानेपानीका लागि इनार , ढुङ्गेधारा, ट्याङ्कर , जार र बोतलको पानी उपयोग गर्न राजधानीवासिहरु बाध्य छन् । दैनिक झण्डै ४ करोड रुपयाँ भन्दा वढिको पानी खरिद हुने गरेको छ । मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने हो भने अहिलेको मागलाई धान्न सकिने आयोजना बताउँछ ।
आयोजनाले समयमै निर्माण सकिनेमा सकारात्मक हुन सर्वसाधारणलाई बताउँदै आएको भएपनि उनीहरु भने ढुक्क छैनन् । गएको १६ वर्षमा एक चौथाइ पनि काम सम्पन्न हुन नसकिरहेको अहिलेको समयमा अब बाँकि रहेको डेढ वर्षमा काम सकिनेमा राजधानीवासि शंका व्यक्त गर्छन् । आयोजनाका लागि अहिले सम्म त्यति धेरै खर्च भईसकेको भएपनि सम्पन्न हुन नसक्नु पक्कै पनि सरकारको कमजोरी नै मुख्य दोषी रहेको छ । हुन त आयोजनाको बहानामा यसको फाइदा उठाउन मेलम्ची आसपासका जनताहरुले गरेको अवरोध पनि यसमा दोषी छ । पटक पटक आयोजना नै प्रभावित हुने गरि भएका अवरोधहरुलाई सरकारले पन्छाउन पनि धेरै समय खर्चिएकै हो । सिन्धुपाल्चोकका १४ र काभ्रेका ५ गाविसहरुलाई आयोजना प्रभावित गाविस घोषणा गरि प्रत्येक वर्ष ती गाविसहरुको विकासमा मेलम्ची खानेपानी आयोजनाले अहिले पनि निश्चित रकम छुट्याउने गरेको छ । स्थानियवासिहरुलाई यसले राम्रै सहयोग पुगेको भएपनि आयोजना समयमै सम्पन्न हुन भने यसले पनि धेरै प्रभाव पारेको छ ।
जे भए पनि आगामि दिनहरुमा तोकिएको समयमा आयोजना निर्माणमा कति पनि ढिला गर्नु नहुने राजधानीवासिहरुको माग छ । सरकारको ढिलासुस्ती गर्ने रवैयाले पिरोलिएका जनताहरुको २ दशक देखिको सपना ०७३ साल सम्ममा पुरा होला या नहोला त्यो त प्रतिक्षा कै विषय भएको छ । तर यति भन्न सकिन्छ कि बाधा र अवरोधहरुलाई पन्छाए पनि निर्माण जिम्मा लिएको कम्पनीले हात छोड्यो भने मेलम्ची मेलम्चीमै मात्र सिमित पो हुने हो कि ! यस तर्फ सरकारले समयमै सोच्नु आवश्यक छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१