३९ वर्षका निकोलस उडम्यान लहडी हुन् । अर्बपतिहरुको दुनियाँमा उनलाई ‘बहुला अर्बपति’ भनी चिनिन्छ । उनको अचम्मको व्यवहार तथा रुचीका कारण उनलाई यस्तो उपमा दिइनु खासै अनौठो पनि हैन् ।
सर्फिङ, क्यानोइङ जस्ता साहसिक खेल उनलाई मन पर्छ । ८ वर्षको छँदा एक म्यागेजिनमा देखेको सफिर्ङको तस्वीरका कारण उनलाई पानीमा बेतोडले कुँद्ने खेल सफिर्ङ प्रति यतिधेरै मोह जाग्यो की सोही मोहले उनलाई अर्बपति बनायो ।
उडम्यानले यस्तै लहडी स्वभावका कारण आफ्नो जीवनलाई सफल मात्र बनाएनन् बिश्वभरका ट्राभलरहरुको अभिन्न साथीका रुपमा गो प्रो क्यामेराको पनि बिकाश गरे । आखिर कसरी पानीमा कुद्ने यी लहडी युवा दश बर्षको समयमा अर्बपति भए ? आउनुहोस् हामी तपाईलाई बताउँदै छौं उनको रोमाञ्चक जीवन कथा-
उडम्यान स्वनिर्मित अर्बपति हुन् । फोर्ब्सका अनुसार उनको सम्पत्ति ३ अर्ब अमेरिकी डलर छ । ४ सय जना अमेरिकी धनाढ्यको सूचिमा उनी १ सय २९ औँ स्थानमा छन् । उनी विश्वका ५ सय ७३ औँ धनी व्यक्ति हुन् ।
उनले सन् २००२ मा उडम्यान ल्याबको स्थापना गरे जसलाई पछि गो प्रो नामाकरण गरे । उनको यो कम्पनीले हाइ डेफिनेसन भिडियो क्यामेरा निर्माण गर्छ । कम्पनी स्थापना भएको १२ वर्ष मात्र भएको छ । तर, यो १२ वर्षे यात्रामा उनी आफै अर्बपति मात्र बनेका छैनन् स्थापना भएको ४ वर्षसम्म केवल ४ जनामात्र कर्मचारी रहेको उनको कम्पनीले अहिले ५ सय जनालाई रोजगारी दिएको छ । सन् २०१३ मा मात्रै उनको कम्पनीले ९८ करोड ६० लाख डलर कमायो ।
यो वर्षको सुरुमै गो प्रो कम्पनीले सर्वसाधारणका लागि सेयर खुला गर्यो । शेयर बजारमा जाँदा यसको कुल मूल्य २ अर्ब ६० करोड थियो । जसबाट उनी विश्वका अर्वपतिको सूचिमा १२ सय ८४ औँ स्थानमा पर्न सफल भए ।
सन् १९७५ मा अमेरिकाको सिलिकन भ्यालीमा हुर्किएका उडम्यानका बुवा इन्भेस्टमेन्ट ब्यांकर थिए । आमा उनी हुर्किँदै गर्दा उनका बाबुलाई छाडेर अन्तै पोइल गइन् । भिजुअल आर्टका विद्यार्थी उडम्यानले सँगै कलेज पढ्ने जिल आर स्कुलीसँग प्रेममा फसे र पछि विवाह पनि भयो ।
हाइस्कुल पढ्दा पकेट खर्च जुटाउन उनले टिसर्ट बेचे । समुद्र प्रति उनको मोह यति थियो की समुद्र हेर्नकै लागि उनले सानडियागो कलेजमा भर्ना भए । त्यसपछि उनी समुद्रको किनारमै अवस्थित एक सफिर्ङ समूहमा आबद्ध भए । ‘बिहान उठ्ने बित्तिकै सफिर्ङ गर्ने, त्यसपछि कक्षामा जाने र पढेपछि पुनः सफिर्ङ गर्ने’ कलेजमा उनको त्यो दैनिकी थियो ।
व्यवसायिक जीवन
सन् २००० को सुरुतिर उनले अनलाइन गेम कम्पनी फनबग संचालन गर्ने प्रयास गरे र त्यसका लागि ४० लाख डलर जम्मा गरे । तर, डटकम डोमेन क्रयास भएसँगै उनको सपना तुहियो ।
पहिलो असफलताका बाबजुत उनले हिम्मत हारेनन् । उनले नयाँ कम्पनी खोल्न चाहन्थे । त्यसैका लागि उत्साह जुटाउन उनले अस्ट्रेलिया तथा इण्डोनेसिया सफिर्ङको योजना बनाए ।
सफिर्ङ यात्राका दृश्य कैद गर्नका लागि क्यामेरा आवश्यक थियो । उनले सर्फिङ गर्दा आफ्नो पाखुरामा रबर ब्याण्डको सहयोगले ३३ एमएमको क्यामेरा कसे । वास्तवमा उनीजस्ता एमेच्योर फोटोग्राफरका लागि त्यसरी सफिर्ङको दृश्य कैद गर्नु कठीन थियो, किनकी पाखुरामा बाँधिएको सामान्य क्यामेराले गुणस्तरीय दृश्य खिच्न गाह्रो थियो भने गुणस्तरीय उपकरणको मूल्य चर्को थियो । उनले आफ्नो सफिर्ङ यात्राबाट गुणस्तरीय दृश्य खिच्न सकेनन् । यहीँ असजिलो उनको लागि प्रेरणा बन्यो र जन्मियो गो प्रो ।
एडभेन्चर फोटोग्राफी तथा भिडियोग्राफीका शौखिनका लागि उपयुक्त हुने क्यामेरा उत्पादन गर्ने लक्ष्यसहित सुरुमा उनले उडम्यान ल्याब स्थापना गरे । पछि यसको नाम गो प्रो राखियो । वास्तवमा क्लोजअप फुटेज खिच्न सक्ने क्यामेरा प्रणालीको विकाश गर्ने उनको इच्छाका कारण कम्पनीको नाम गो प्रो राखेका हुन् ।
यो कम्पनीको व्यवसायका लागि पैसा जुटाउन उडम्यान र उनकी प्रेमिका जिलले इण्डोनेसियाको बालीबाट ल्याएका समुद्री किराका खपेटाबाट बनेका नेकलेस बेच्न थाले । झण्डै २ डलरमा किनेर ल्याएका त्यस्ता नेकलेस ६० डलरमा बेचे । उडम्यानकी आमाले ३५ हजार डलर सापटी दिइन् भने बाबुले २ लाख डलर ।
गो प्रो ले सुरुमा उत्पादन गरेको क्यामेरा ३५ एम एम को प्वाइन्ट एण्ट शूट क्यामेरा थियो जुन मानिसको नाडीमा बाँधिन्थ्यो । जब सन् २००४ मा एक स्पोर्ट शो मा एक जापानी कम्पनीले १ सय क्यामेराको अर्डर गर्यो, तब गो प्रो ले पहिलोचोटी ठूलो स्केलमा क्यामेरा उत्पादन गर्ने अबसर पायो । पहिलोपटक उत्पादन गरेको गो प्रो ३५ एम एम हिरो क्यामेराको बिक्रिबाट पहिलो वर्षमै कम्पनीले डेढ लाख डलर कमायो ।
सन् २००६ मा गो प्रोले पहिलोपटक डिजिटल क्यामेरा उत्पादन गर्यो । गो प्रो ले उत्पादन गरेको कम्प्याक्ट डिजिटल क्यामेरा ले वाइफाइ सपोर्ट गथ्र्यो, रिमोट कन्ट्रोलयुक्त, वाटर प्रुफ खोल, माइक्रो एस डी कार्डमा भिडियो रेकर्ड गर्ने तथा मूल्य २ हजार देखि ४ हजार डलर सम्म पथ्र्यो ।
त्यसपछि वर्षेनी गो प्रोले उत्पादन गरेका क्यामेराको बिक्रि दोब्बरले बढ्दै गयो र सन् २०१२ मा २३ लाख गोटा क्यामेरा बिक्री भए । सन् २०१४ सम्म आइपुग्दा गो प्रो को चौथो पुस्ता हिरो फोर बजारमा आइसकेको छ ।
क्यामेराको बिक्री चुलिएसँगै कम्पनी समेत धनी बन्दै गयो । सन् २०१२ मै ताइबानी कम्पनी फक्सकनले गो प्रो को ८.८८ प्रतिशत शेयर २० करोड डलरमा खरीद गर्यो जसका कारण गो प्रो को बजार भाउ २ अर्ब २५ करोड पुग्यो । कम्पनीको अधिकांस हिस्सा आफ्नो भागमा राखेका उडम्यान त्यो सँगै सन् २०१२ मै अर्बपति बन्न सफल भएका थिए ।
सबै परिवार करोडपति
उडम्यान आफु रातारात अर्बपति भएको कुरा स्विकार्छन् । फोब्र्सलाई उनले भनेका छन्, ‘यो दश वर्षको रातारात भएको प्रगति हो ।’ गो प्रो ले उडम्यानलाई मात्र अर्बपति बनाएन उनका सबै परिवारलाई करोडपति बनायो ।
यद्यपि आफ्नो सफलताका लागि उडम्यानले ठूलै मेहेनत गरे । तर, उनी सडकबाट धनाढ्य भएका मान्छे भने होइनन् । सिलिकन भ्यालीमा हुर्केका उडम्यान धनाढ्य बाउका छोरा हुन् ।
छोराको कम्पनी स्थापना र संचालनका लागि उनले ठूलै आर्थिक सहयोग गरेका थिए । आमाले पनि मोटै रकम दिएकी थिइन् र दुबैजना बहिनीले कर्मचारी भएर काम गरेका थिए ।
त्यसैले होला अहिले गो प्रो को शेयर उनले आफ्नो परिवारका सबैजसो सदस्यालाई बाँडेका छन् त्यसैले उनको परिवारका सबै जना करोडपति बन्न सफल भएका छन् ।
बहिनी पिलार उडम्यानको १ करोड ७६ लाख डलर बराबरको शेयर छ । आमा कन्सेप्सन फेडरम्यानको ८० लाख ९० हजार डलर बराबरको शेयर छ । त्यस्तै अर्की बहिनी एन्ड्री मूडी, जो अहिले पनि कम्पनीमा काम गर्छिन् उनको ३ करोड भन्दा बढिको शेयर गो प्रो मा छ ।
उडम्यानका बाबु डिन उडम्यानको भने कम्पनीमा ६ प्रतिशत हिस्सा नै छ । अर्थात् उनका बाबुको कम्पनीमा रहेको शेयर मूल्य २२ करोड ७४ लाख डलर बराबरको छ ।
तृष्णा नै सफलताको आधार
यी लहडी अर्वपतिको सफलताको मुख्य कडी के होला ? उडमान्यले आफ्नो सफलतालाई मुख्य पाँच बुँदामा समेटेका छन् ।
उडम्यानले भन्छन- तपाईंको प्यासन (तृष्णा) नै तपाईको जीवनको सवैभन्दा ठूलो पथप्रर्दशक हो । त्यही तृष्णाले नै तपाईलाई जीवनमा सफताको बाटोमा पुर्याउँछ ।’ सफिर्ङको शौख र त्यही तृष्णाले जन्माएको निरन्तरको इनोभेसन नै उडम्यानको सफलताको सवैभन्दा ठूलो आधार हो ।
दोस्रो कुुरा, उनी असफलताबाट कहिल्यै डराएनन् बरु त्यसलाई आफ्नो करियरको सम्पत्ति र अनुभवका रुपमा लिए । गो प्रो सुरु गर्नुअघि उनले दुईटा असफलता भोगिसकेका थिए, पछिल्लो असफलताको मूल्य चानचुन थिएन, पुरै ४० लाख डलर ।
तेस्रो, उनले आफ्नो उत्पादनमाथि पुरै आफ्नो नियन्त्रण कायम गरे । भलै उनी कुनै इन्जिनियर थिएनन, तर उनले संसारकै उत्कृष्ट उत्पादनको बिकाश गरे साधनकै बलमा । उनी सुरुवाती दिनमा दैनिक २० घण्टासम्म टेवलमा बसेर काम गरे र त्यसरी बिकाश गरिएका बस्तुलाई सवैभन्दा पहिले आफैले प्रयोग गरे ।
चौथो, बेच्ने कलाको सिकाई । उनी कठिन दिनमा सडकको छेऊमा बसेर लेमोनेड बेचे र आफ्नो कम्पनीलाई पैसा जुटाउन सडकमा टिसर्ट र माला पनि बेचे । यी सवै कामबाट उनले आफुलाई बलियो सेल्सम्यानका रुपमा स्थापित गरिसकेका थिए । उनलाई थाहा थियो, कसरी बेच्नुपर्छ, के बेच्नुपर्छ र के बिक्छ ।
र, पाँचौ नयाँपन वा मृत्युमध्ये एक रोज्नुपर्छ भन्ने उनले कहिल्यै बिर्सेनन् । पहिलोपटक उनले फिल्ममा आधारित क्यामेरा ल्याए र तत्काल थाहा पाए कि डिजिटल दुनियाँमा उनले जे गरिरहेका छन त्यो पुरानो भइसक्यो । त्यसपछि उनी डिजिटल प्रबिधिमा आए । उनले एकपछि अर्को संस्करणमा आफ्नो उत्पादनमाथि आमूल परिवर्तन ल्याएका छन । (हेर्नुहोस् गो प्रोको बिकाशचरण)
किनकी उनलाई थाहा छ- नयाँनयाँ चीजको बिकाश गर्न सकिएन भने मृत्यु अबसम्भावी छ ।
-एजेन्सीको सहयोगमा
प्रतिक्रिया