सिड्नीको एक क्याफे१६ घन्टा बन्दुकधारीको कब्जामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ पुष २०७१, मंगलवार ०७:२७

अष्ट्रेलियन कमान्डोले चलाएको अपरेशनमा दुईको मृत्यु

एजेन्सी – सुरक्षा कारबाहीमा दुईजना मारिएपछि अष्ट्रेलियाको सिड्नीस्थित एउटा क्याफेमा बन्धक बनाइएका ४० जना १६ घन्टापछि सुरक्षित मुक्त भएका छन् । बन्दुधकारीले सिड्नीको ए लिन्ट क्याफेमा १० कर्मचारी र ३० ग्राहक गरी ४० जनालाई बन्धक बनाएका थिए ।

१६ घन्टासम्म प्रहरी कमान्डोले गरेको अपरेसनमा दुईजना मारिएपछि बन्धक प्रकरण अन्त्य भएको हो । मारिने मानिस बन्दुकधारी हुन् या बन्धक भन्नेबारे स्पष्ट भइनसकेको बिबिसीले जनाएको छ । न्यु साउथ वेल्थ प्रहरीले स्थानीय समयअनुसार बिहान पौने ३ बजे बन्धक प्रकरण समाप्त भएको र यसबारे विस्तृत विवरण पछि दिइने जनाएको छ । बन्दुकधारीहरुले राखेको माग पनि स्पष्ट भएको छैन ।

इरानी शरणार्थीका रुपमा पहिचान गरिएका बन्दुकधारीले क्याफेमा प्रबेश गरी ४० जनालाई बन्धक बनाएका थिए । बन्धकमध्ये ६ जना भने भाग्न सफल भएका थिए । बन्दुकधारीले क्याफेको ढोका अगाडि कालोझन्डामा अरबी अक्षरमा लेखिएको ब्यानर झुन्ड्याएका थिए । अरबी अक्षरमा सबै भगवान एक हुन् भन्ने लेखिएको थियो ,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया