२६ मंसिर, लुम्विनी । बुद्ध जन्मस्थल लुम्विनीको मायादेवी मन्दिर परिसरमा भारतीय राजदूत रञ्जीत रेले वोधिवृक्ष रोपेपछि विवाद सिर्जना भएको छ । लुम्विनी विकास कोषका उच्चस्तरका पदाधिकारीले नरोप्न आग्रह गरे पनि भारतीय पक्षले बुधबार बलजफती बोधिवृक्ष रोपेको थियो ।
विश्वसम्पदा सूचीमा सूचीकृत भएको र पुरातात्विक हिसाबले अति जोखिमयुक्त क्षेत्र घोषणा गरिएको स्थानमा कुनैपनि वृक्ष रोप्न नपाइने प्रावधान छ । तर, भारतीय राजदूत सहितको टोलीले उक्त प्रावधानको बेवास्ता गर्दै मायादेवी मन्दिरको १ सय मिटर दूरीमै वृक्षरोपण गरेको छ ।
परराष्ट्र मन्त्रालयले संस्कृति मन्त्रालय, पुरातत्व विभाग र लुम्विनी विकास कोषसँग समन्वय नै नगरी मायादेवी मन्दिर परिसरमा वोधिवृक्ष रोप्न भारतीय पक्षलाई एकतर्फी रुपमा स्वीकृति दिएपछि विवाद सिर्जना भएको हो ।
लुम्विनीको पवित्र बाटिकाभित्र रहेका ४२ वटा प्लटमध्ये बोधिवृक्ष रोपिएको प्लट अति नै जोखिमयुक्त र महत्वपूर्ण क्षेत्र मानिन्छ ।
पवित्र बाटिका बाहिरको ट्रि प्लान्टेसन जोनमा रोप्नुपर्नेमा युनेस्कोले बेलाबेलामा उत्खनन गरिरहेको मायादेवी मन्दिर नजिकै बोधिवृक्ष रोपिएकोले यसले ठूलो समस्या निम्त्याउने लुम्विनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले बताए ।
सम्राट अशोकका धर्मदूत महेन्द्र र संघमित्राले बोधगयाबाट लगी श्रीलङ्काको अनुराधापुरमा रोपेको र २०५२ सालमा श्रीलङ्काको अनुराधापुरबाट बुद्धले ज्ञानप्राप्त गरेको सोही बोधिवृक्षलाई तत्कालीन समयमा पनि लुम्बिनीको पवित्र बाटिका भन्दा बाहिर रोपिएको थियो । यसपटक भारतीय टोलीले कसैको कुरा नसुनी अति जोखिमयुक्त क्षेत्रमा वृक्षरोपण गर्यो ।
युनेस्को, पुरातत्व विभाग र लुम्बिनी गुरुयोजनाले मायादेवी मन्दिरमा असर पर्ने भन्दै आसपासमा रहेका अन्य वृक्षसमेत काट्न निर्देशन दिएका बेला सोही स्थानमै वृक्ष रोपिंदा ठूलो समस्या आएको पुरातत्वविदहरुले बताएका छन् ।
‘जोखिमयुक्त क्षेत्रबाट बिरुवा हटाइन्छ’
संस्कृति मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले पुरातात्विक हिसाबले उच्च जोखिमयुक्त क्षेत्रमा वृक्षरोपण गरिएको भए त्यसलाई त्यहाँबाट अन्यत्र सार्नुपर्ने बताए । पिपलका जराले ठूलो असर गर्ने भएकाले यसलाई त्यहाँबाट हटाइने उनको भनाइ थियो ।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले पुरातत्व विभागले पुरातात्विक क्षेत्र घोषणा गरेका क्षेत्रभित्र कुनैपनि खालको वृक्ष रोप्न नमिल्ने बताए । उनले भारतीय राजदूतले बोधिवृक्ष कहाँ रोपे भन्ने कुरा आफूलाई थाहा नभएको दाबी गरे । उनले मायादेवी मन्दिर, अशोक स्तम्भ र अति जोखिमयुक्त पुरातात्विक क्षेत्रमा वृक्षरोपण गर्न नपाइने बताए ।
लुम्विनी भ्रमण गर्न आउने राष्ट्रका राष्ट्र प्रमुखहरुले ‘सर्कुलर लेवि’ क्षेत्रमा वृक्षरोपण गर्दछन् ।
युनेस्कोका पुरातत्व परामर्शदाता तथा पुरातत्वविद् कोषप्रसाद आर्चायले संवेदनशील क्षेत्रमा बोधिवृक्ष रोपिएको भए त्यो कार्य उचित नभएको बताउनुभयो ।
युनेस्कोका पुरातत्व परामर्शदाता तथा पुरातत्वविद् कोषप्रसाद आचार्यले संवेदनशील क्षेत्रमा बोधिवृक्ष रोपिनु गलत भएको बताए । ‘युनेस्कोले लुम्विनी क्षेत्रभित्रको अति जोखिमयुक्त क्षेत्रलाई समेटी ‘रिक्स म्याप’समेत बनाएर आफ्नो काम गरिरहेको छ, त्यही म्यापभित्रै त्यो बोधिवृक्ष रोपिएको भन्ने खबर आएको छ,’ पुरातत्वविद आचार्यले भने, ‘यदि त्यसो हो भने त्यसले लुम्विनीको संरक्षणलाई ठूलो असर पुर्याउँछ ।’
पिपलको जराले निकै ठूलो नोक्सान गर्ने हुँदा यसको विकल्प खोज्नुपर्ने जानकारहरुको भनाइ छ । तीन/चार सय बर्षभन्दा बढी बर्ष बाँच्ने र ५० मिटरभन्दा टाढा जराहरु फैलने पिपलको रुख रोप्न नहुने विज्ञहरुको भनाइ छ ।
परराष्ट्रको पत्रले बाध्य पार्यो
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क शिखर सम्मेलनमा नेपाल आएका बेला लुम्बिनीमा आएर बोधगयाबाट ल्याएको बोधिवृक्ष रोप्ने कार्यक्रम थियो । सो कार्यक्रम स्थगित भएपछि बुधबार राजदूत रेले बोधिवृक्ष रोपेका थिए ।
संस्कृति तथा पर्यटन मन्त्रालयसँग समन्वय नै नगरी परराष्ट्र मन्त्रालयले मायादेवी मन्दिर नजिकै वृक्षरोपण गर्न दिने पत्र पठाएपछि नचाहँदा नचाहँदै पनि वृक्षरोपण गर्न दिनुपरेको कोषले जनाएको छ ।
प्रतिक्रिया