विद्यार्थीलाई साक्षरता अभियानमा सहभागी गराउने निर्णय स्थानीय तहमा अन्यौल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ मंसिर २०७१, शुक्रबार १०:२१

काशी पोखरेल

बाँके २६ मङ्सिर   । कक्षा ९ र १० का विद्यार्थीहरुलाई साक्षरता अभियान सरिक गराउने निर्णय गरेर नेपाल सरकार परिपत्र गरे पनि स्थानीय तहमा भने अन्यौलता छाएको छ । कक्षा ९ र १० का विद्यार्थीले कम्तीमा एक जना निरक्षरलाई साक्षर बनाउनै पर्ने सरकारले नीति बनाएको छ । स्वास्थ्य, जनसङ्ख्या र सामाजिक विषयमा प्रयोगात्मक वापत १० अङ्क कम्तीमा एक जनालाई साक्षर बनाएवापत छुट्याइएको छ ।

बाँकेका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाल समेत साक्षरता अभियानमा विद्यार्थी परिचालनमा प्रभावकारी बनाउन समस्या रहेको बताउँछन् । ‘उनीहरुको पढाई नै अवरोध हुने गरी अन्यत्र पढाउन पनि गाह्रो छ, कसरी परिचालन गर्ने भन्नेमा हामी विचार विमर्श गरिरहका छौँ’ जिल्ला शिक्षा अधिकारी खनालले भने ।
विद्यार्थी परिचालन गर्ने सम्बन्धमा खाका नै बनाएर प्रत्येक मध्यामिक तथा उच्च माध्यमिक विद्यालयलाई निर्देशन गरिने जिशिअ खनालले बताए । हालसम्म जिल्लामा निरक्षर रहेका ५१ हजार ४६६ मध्ये ३१ हजार ६६१ लाई यस वर्ष साक्षर गराइने भएको छ ।
यसमध्ये १ हजार ३१९ जनालाई साक्षर गराउन विद्यार्थी परिचालन गर्ने निर्णय जिल्ला अनौपचारिक शिक्षा समितिले गरेको छ । नेपाल शिक्षक युनियन बाँकेका अध्यक्ष बाबुतरुण गौतमले विद्यालयहरु विद्यार्थी परिचालनको प्रक्रिया अन्यौलमा रहेको बताए । उनले जिल्लाका मावि तथा उमाविले शिक्षा कार्यालय निर्देशन पखिरहेको बताए ।
हालसम्म साक्षरता कक्षा नै सञ्चालन नभएका टिटिहिरिया, बनकटवा, बेलहरी, गङ्गापुर, कटकुइँया, सोनपुर, बेतहनी, उढरापुर, कालाफाँटा, प्रिप्रहवा, बनकटटी, रनियापुर, गनापुरमा २४ हजार ८५८ जनालाई यस वर्ष साक्षर गराइने शिक्षा कार्यालयका विद्यालय निरीक्षक उद्धवराज श्रेष्ठले जानकारी दिए ।
त्यस्तै बिनौना, फत्तेपुर, कम्दी, नेपालगन्ज नगर, कोहलपुर, मनिकापुरमा ८ हजार १२२ जनालाई पुनः कक्षा संचालन गरी साक्षर बनाउने श्रेष्ठले बताए । साक्षरता अभियान सञ्चालनका लागि सामुदायिक अध्ययन केन्द्र, विद्यालय, सङघ संस्थाको छनौटको लागि अनौपचारिक शिक्षा समितिले जिल्ला शिक्षालाई अधिकार दिएको समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी भुसालले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१