सोलुखुम्बु, वैशाख । घर र गोठमा नै सन्तान जन्माउने सोलुखुम्बुका गर्भवती महिला अहिले अस्पतालसम्म जान थालेका छन् ।
आफूलाई सुरक्षित ठान्दै अस्पतालमा नै बच्चा जन्माउन आउने गरेका प्रसूति सेवा केन्द्र फाप्लुका प्रमुख सानी शेर्पाले बताउनुभयो । पछिल्लो तथ्याङ्कअनुसार साउनदेखि हालसम्म जिल्ला अस्पताल फाप्लुमा १२५ जना बच्चा जन्माइसकेका छन् ।
त्यस अवधिमा फाप्लुमा आएकामध्ये ४० जनालाई काठमाडाँै सिफारिस गरिएको छ । लामो समयसम्म व्यथा लागेको, बच्चाको टाउको ठूलो भई जन्मन समस्या भएकालाई काठमाडौँ सिफारिस गरिएको प्रसूति सेवा केन्द्र प्रमुख शेर्पाले बताउनुभयो ।
यसैगरी साउनपछि प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा ४५ जना, सल्यानमा २४ जना, स्वास्थ्य चौकी बेनीमा आठ जना, चौलाखर्कमा १५ जनाले सुरक्षित प्रसूति गराएका छन् । त्यस्तै स्वास्थ्य चौकी गोराखानीमा १७ जना, गार्मामा पाँच, जुवुमा १५, नेलेमा २३ जना, लुक्लामा १८ जना र बासामा २१ जनाले सुरक्षित प्रसूति सेवा लिएका जिल्ला स्वास्थ्य कार्यालय फाप्लुले जनाएको छ ।
स्वास्थ्य संस्थामा गई सुत्केरी गराउने सबैले यातायात खर्चबापत प्रतिसुत्केरी रु एक हजार ५०० पाउने व्यवस्था रहेको छ । त्यस्तै नियमित गर्भ परीक्षण गरेबापत थप रु ४०० समेत पाउने व्यवस्था रहेको छ ।
प्रतिक्रिया