बुटवलमा तेह्रौं औद्योगिक प्रदर्शनीको तयारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ मंसिर २०७१, शुक्रबार ०६:२०

10861036_625175470941650_1782620552862679504_o ५ लाख दर्शक र १५ करोड करोबारको लक्ष्य
कपिल ज्ञवाली/ बुटवल, २६  मङ्सिर  ।
रुपन्देही उद्योग संघ बुटवल र नेपाल उद्योग परिसंघ काठमाडौंको संयुक्त आयोजनामा बुटवलमा हुन लागेको तेह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । ‘स्वदेशी उत्पादन प्रयोग गरौं, राष्ट्रिय अर्थतन्त्रको विकास गरौं’ भन्ने मूल नाराका साथ पुस ७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा स्वदेशी उद्योगका उत्पादन र सेवाका पांचसय स्टल रहने रुपन्देही उद्योग संघका अध्यक्ष एवं महोत्सवका संयोजक बोनिन पियाले बताउनुभयो । बुटवल–१२ स्थित बुटवल मण्डपमा १५ दिनसम्म चल्ने प्रदर्शनीमा ५ लाख बढी दर्शक र १५ करोड रुपैयां बढीको आर्थिक कारोबार हुने लक्ष्य लिएको संयोजक पियाले जानकारी दिनुभयो ।
महोत्सवका लागि अकार्षक प्रवेशद्वार, सचिवालय, औद्योगिक प्रतिष्ठानहरुका लागि स्टल, कृषि पेभिलियन लगायतका पुर्वाधार निर्माणका कामहरु अन्तिम चरणमा पुगेका संघका महासचिव विष्णुकुमार श्रेष्ठले बताउनुभयो । प्रदर्शनीमा कृषिजन्य ४०, हस्तकला ४०, ठूला औद्योगिक प्रतिष्ठान ५०, गार्मेन्ट ४०, खाद्यान्न ४०, सुचना प्रविधि, बैंक तथा कन्सल्टेन्सी ४०, छाला जुत्ता चप्पल ३०, फर्निचर २०,बेकरी २०, होटल तथा रेष्टुरां ३०,हर्बल १०,प्लास्टिक १० र आयुर्वेदका १० स्टल दर्ता भैसकेको महोत्सवका प्रचारप्रसार संयोजक जीवकान्त काफ्लेले बताउनुभयो । यस्तै सुचना केन्द्र, सामाजिक संघसंस्था र विविध गरी ५ सय बढी स्टल सहभागी हुनेछन् । महोत्सवमा अवलोकनकर्ताको मनोरन्जन र आकर्षणका लागि दैनिकरुपमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, लोक संस्कृतिमा आधारित गायन तथा नृत्य, दोहोरी गीत र राष्ट्रिय महिला भलिबल प्रतियोगिता,वाल उद्यान, पानी घट्ट आदि रहने आयोजकले जनाएका छन् । ‘देशभरका स्वदेशी उद्योगका उत्पादनको एकैथलोमा प्रदर्शनमार्फत बजार प्रवद्र्धन गर्ने, उद्योगी र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क गराई उपभोक्ताको रुचि र चाहना बुझ्ने तथा नेपाली उत्पादनको गुणस्तर बृद्धिका लागि उद्योगीलाई उत्प्रेरित गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको अध्यक्ष पियाको भनाइ छ ।
महोत्सवले उद्योगीहरुबीच प्राविधिक र व्यवस्थापकीय अनुभवको आदान प्रदान,कृषिको व्यवसायिकरण र आधुनिकरण, लगानीका नयां अवसरको खोजी, औद्योगिक विकासका वाधक नीति र प्रकृयाको पहिचान गर्न समेत टेवा पुग्ने बताइएको छ । घरेलु तथा साना उद्योग विभाग,ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्र,जिल्ला विकास समिति रुपन्देही र बुटवल नगरपालिका सहआयोजक तथा उद्योग मन्त्रालय,कृषि तथा सहकारी मन्त्रालय नेपाल पर्यटन बोर्ड र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड प्रवद्र्धक रहेका महोत्सवमा आर्थिक, औद्योगिक,कृषि र पर्यटनका विषयमा विज्ञहरुको सहभागितामा राष्ट्रियस्तरको गोष्ठी तथा सेमिनार समेत आयोजना गरिने छ । महोत्सवका लागि स्थायी प्रदर्शनीस्थल नहुंदा अस्थायी संरचना निर्माण र अन्य व्यवस्थापनमा गरी करिब १ करोड खर्च लाग्ने छ । २०४५ सालमा पहिलो औद्योगिक प्रदर्शनी गरेको संघले यस अघि २०६८ सालको १२ औं प्रदर्शनीमा ४१५ स्टल सहभागी गराई ४ लाख दर्शक र १२ करोडको कारोबार गरेको थियो । बुटवलमा बुटवल उद्योग बाणिज्य संघ,रुपन्देही उद्यँेग संघ र रुपन्देही ब्यापार संघले पालैपालो औद्यँेगिक प्रदर्शनी गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१