अब एसएलसीमा सबै उत्तीर्ण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ मंसिर २०७१, बिहीबार १२:३५

SLC

काठमाडौँ, २५ मङ्सिर  । एसएलसी परीक्षामा अनुत्तीर्ण हुने प्रावधान खारेज गरेको छ । शिक्षामन्त्रीको अध्यक्षतामा बुधबार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले विगत ८१ वर्षदेखि लागू हुँदै आएको एसएलसी परीक्षामा अनुत्तीर्ण हुने प्रावधान खारेज गरेको हो ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुङ्गेलले विद्यालयबीचको अस्वस्थ प्रतिस्पर्धा उन्मूलन गर्न र विद्यार्थीलाई मानसिक तनावबाट मुक्त पार्न एसएलसी परीक्षामा अनुत्तीर्ण हुने व्यवस्था अन्त्य गरेका छौँ भन्दै बताउनुभयो, “अबदेखि विद्यार्थीको हातमा अनुत्तीर्ण भएको प्रमाणपत्र थमाइने छैन । ”
उहाँका अनुसार यस्तो व्यवस्था यस वर्ष प्राविधिकतर्फको एसएलसी परीक्षामा परीक्षणका रूपमा लागू गर्ने र आगामी २०७२ सालको एसएलसी परीक्षादेखि साधारणतर्फ पनि लागू गरिनेछ । परिषद्को बैठकले प्रतिशतका आधारमा गरिँदै आएको परीक्षाको मूल्याङ्कन पद्धतिलाई विस्थापित गरी ‘लेटर ग्रेड’का आधारमा मूल्याङ्कन गर्ने पद्धतिलाई स्वीकृत गरेको छ ।
केन्द्रका कार्यकारी निर्देशक ढुङ्गेलका अनुसार ९० देखि एक सय प्रतिशत अङ्क ल्याउनेलाई ‘ए प्लस’ (विशिष्ट), ८० देखि ८९ प्रतिशत अङ्क ल्याउनेलाई ‘ए’ (उत्कृष्ट), ६० देखि ७९ प्रतिशत अङ्क ल्याउनेलाई ‘बी’ (धेरै राम्रो), ४० देखि ५९ प्रतिशत अङ्क ल्याउनेलाई ‘सी’ (राम्रो), २५ देखि ३९ प्रतिशतसम्म अङ्क ल्याउनेलाई ‘डी’ (कमजोर) र २५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई ‘ई’ (धेरै कमजोर) भनी प्रमाणपत्रमा उल्लेख गरिनेछ ।
“डी र ई श्रेणी प्राप्त गर्नेहरू अनुत्तीर्ण हुने छैनन् । त्यस्ता विद्यार्थीले चाहेमा परीक्षाफल प्रकाशित भएको एक वर्षभित्र मूल वा पूरक परीक्षामा सम्मिलित हुन सक्ने छन् । पुनः परीक्षामा सम्मिलित भई माथिल्लो ग्रेड प्राप्त भएमा सोही बेहोरा खोली थप प्रमाणपत्र उपलब्ध गराइनेछ” उहाँले थप्नुभयो, “कलेजले त्यस्ता विद्यार्थीलाई भर्ना नलिन पनि सक्दछ । भर्ना लिएमा उनीहरू कक्षा ११ मा भर्ना भई अध्ययन गर्न सक्नेछन् । ”
दक्षिण एसियाली मुलुकहरूमध्ये नेपाल ‘लेटर ग्रेडिङ’ प्रणाली अपनाउने पछिल्लो मुलुक बन्नेछ । भारत र भुटानले सबैभन्दा कमजोर विद्यार्थीको प्रमाणपत्रमा ‘सन्तोषजनक नभएको’ भनि लेख्ने गरेको छ भने माल्दिभ्स, बङ्गलादेश र पाकिस्तानले त्यस्ता विद्यार्थीलाई ‘अनुत्तीर्ण’ भनी प्रमाणपत्र थमाइदिने गरेका छन् । भारत र भुटानले २१ देखि ३२ प्रतिशत अङ्क हासिल गरेका विद्यार्थीको प्रमाणपत्रमा ‘सुधार आवश्यक’ भनी उल्लेख गर्ने गरेका छन् । नेपालले १९९० सालदेखि नै प्रतिशतका आधारमा विद्यार्थीको ल्याकत मूल्याङ्कन गर्दै आएको छ ।
उहाँले यस वर्ष प्राविधिकतर्फको एसएलसी परीक्षामा सम्मिलित हुन तम्तयार भएका करिब साढे चार हजार विद्यार्थीमाथि परीक्षणका रूपमा नयाँ प्रणाली लागू गरिने जानकारी दिनुभयो । हाल देशका ७५ जिल्लाका ९९ विद्यालयमा प्राविधिक शिक्षा लागू गरिएको छ । केन्द्रका कार्यकारी निर्देशक ढुङ्गेलले उत्तरपुस्तिका परीक्षण अङ्कमा हुने र त्यसलाई परीक्षा नियन्त्रण कार्यालयले अक्षर (ग्रेड)मा रूपान्तरण गर्ने जानकारी दिँदै भन्नुभयो, “सैद्धान्तिक र प्रयोगात्मक विषयमा अलग अलग उपलब्धिस्तर खुल्ने गरी ग्रेडका आधारमा मूल्याङ्कन गरिनेछ । ”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१