सञ्चारमन्त्रीद्वारा हुलाक टिकटमा टाँचा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ मंसिर २०७१, बुधबार १६:४४

काठमाडौँ,२४  मङ्सिर   । हुलाक सेवा विभागले ‘सोची शीतकालीन ओलम्पिक–२०१४’ सम्बन्धी नयाँ हुलाक टिकट आजदेखि प्रचलनमा ल्याएको छ ।

शीतकालीन ओलम्पिकमा नेपालले पहिलोपटक सहभागिता जनाएकोमा सम्मानस्वरुप विभागले सोची ओलम्पिकको लोगोसहित हिँउमा स्केटिङ गरिएको संस्मरणात्मक टिकट प्रकाशन गरेको हो ।शीतकालीन ओलम्पिकको २२ औँ संस्करण रुसको सोची शहरमा सन् २०१४ को फेब्रुअरी ५ देखि २३ सम्म आयोजना भएको थियो जहाँ नेपाललगायत विश्वका ८९ मुलुकका करीब दुई हजार ८७३ खेलाडीहरुले भाग लिएका थिए ।

सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले आज हुलाक सेवा विभागद्वारा यहाँ आयोजित एक समारोहमा उक्त हुलाक टिकटमा प्रकाशनको पहिलो टाँचा प्रदान गर्नुभयो ।त्यस अवसरमा मन्त्री डा रिजालले विश्वकै चर्चित शीतकालीन ओलम्पिक प्रतियोगितामा नेपालको सहभागितालाई स्मरणीय बनाउने टिकट प्रकाशनले नेपाललाई विश्वमा पहिचान गराउनुको साथै नेपाल र रसियाबीचको लामो मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।मन्त्री रिजालले नेपालको शान्ति प्रक्रिया, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा उद्योग र पूर्वाधार विकासमा रसियाको महत्वपूर्ण सहयोगी भूमिका रहँदै आएको चर्चा गर्दै आगामी दिनमा पनि यस्ता प्रकारको सहयोग र सद्भाव जारी रहने उल्लेख गर्नु भयो ।कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनिलबहादुर मल्लले शीतकालीन ओलम्पिकसम्बन्धी हुलाक टिकट नेपालको पहिचानलाई स्थापित गराउन महत्वपूर्ण हुने बताउनुभयो ।

नेपालका लागि रुसी महासङ्घका राजदूत डा सेर्गेइ भेसिलीभिच भेलिच्किनले हुलाक टिकट इतिहासको महत्वपूर्ण कागजात भएको र यसले रसिया र नेपालको मैत्रीपूर्ण सम्बन्धलाई विस्तार गर्न मद्दत पुग्ने धारणा राख्नुभयो ।

हुलाक सेवा विभागका महानिर्देशक बाबुराम पाण्डेले नेपालले पहिलो पटक सहभागिता जनाएको ओलम्पिकलाई अविस्मरणीय बनाउन हुलाक टिकट प्रकाशन गरिएको बताउनुभयो ।

नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष डा रमेशकुमार श्रेष्ठले हुलाक टिकट प्रकाशनले नेपाल र रसियाबीचको सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने धारणा राख्नु भयो ।

प्रकाशित टिकटको नमुना हुलाक सेवा विभागका कलाकार पूर्णकला लिम्बू विष्टले तयार गर्नुभएको हो । दुई रुपिया मूल्यका १० लाख प्रतिटिकट प्रकाशन गरिएको विभागले जनाएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१