कहाँ गए कलेजबाट हराएका १ सय मान्छेका मस्तिष्क ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ मंसिर २०७१, बुधबार १२:२०
विश्वविद्यालयबाट १ सय जना मानिसका मस्तिष्क हराएका छन् । मान्छे नै हराएका हुन् की मस्तिष्क मात्र ? कतै यो प्रतिभा पलायनलाई उल्लेख गर्न खोजिएको लाक्षणिक कुरा त होइन ? शीर्षक पढेपछि यो प्रश्न सहजै उठ्छ । तर अमेरिकाको टेक्सास विश्वविद्यालयबाट साँच्चीकै १ सय वटा सक्कली मानव मस्तिष्क गायव भएका गार्जियनले उल्लेख गरेको छ ।
मानिस मरिसकेपछि उसको मस्तिष्क निकालेर त्यसलाई फर्माल्डिहाइड रसायनको झोलमा डुबाएर जारमा राखिएको थियो । त्यसरी संग्रहित मस्तिष्कहरु मध्ये झण्डै आधाजसो मस्तिष्कहरु एकाएक गायब हुँदा सबै आश्चर्यमा परेका छन् । त्यसरी हराएका मस्तिष्क मध्ये एउटा मस्तिष्क क्लक टावर हेर्ने कर्मचारी तथा कुख्यात हत्यारा चाल्र्स हि्वटम्यानको रहेको बताइएको छ ।
मानव मस्तिष्क संग्रहकर्ता तथा स्याहारकर्ता मध्येका एक प्राध्यापक टिम स्कारलेटले कोहीकसैले ती मस्तिष्क लगेको आफुले ठानेको तर कसले लग्यो भन्न नसकिने बताएका छन् । अर्का संग्रहकर्ता लरेन्स कम्र्याकले भने स्नातक तहसम्मका विद्यार्थीहरुले संग्रहित मस्तिष्क लगेको आशंकामा उनीहरुको बस्ने कोठामा खोजतलास गरिएको बताए ।
अस्टिन स्टेट अस्पतालले एक सम्झौता बमोजिम २८ वर्षअघि ती मानव मस्तिष्क टेक्सास विश्वविद्यालयलाई हस्तान्तरण गरेको थियो । ती मध्ये १ सय वटा मस्तिष्कलाई मनोविज्ञान प्रयोगशाला कक्षमा राखिएको थियो भने बाँकी आधालाई भुइँतलाको कोठामा थन्काइएको थियो । तर भुइँतलाको कोठामा राखिएका सबै मस्तिष्कहरु एकाएक हराएका छन् ।
विश्वविद्यालयले मस्तिष्क हराएको विषयमा अनुसन्धान भैरहेको जनाएको छ । बँचेका १ सय वटा मस्तिष्कलाई अर्को भवनमा सारेर सुरक्षित साथ राखिएको छ । यसैबीच हराएको भनिएका मानव मस्तिष्कहरु सन् २००२ मै नष्ट गरिएको विश्वविद्यालयका अधिकारीहरुले बताएका रोयटर्सले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१