डाटामा एनसेलभन्दा टेलिकम अघि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ मंसिर २०७१, सोमबार १२:४५

एक वर्षको अवधिमा एनसेलको मोबाइल र डाटाको बजार हिस्सा घटेको छ। नियमन निकाय नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार सार्वजनिक गरेको एमआइएस रिपोर्ट अनुसार एनसेलको मोबाइल र डाटाको बजार हिस्सा घटेको हो।

गत भदौसम्मको तथ्यांकअनुसार एनसेलको भ्वाइस टेलिफोन प्रयोगकर्ता एक वर्षको अवधिमा ४९ प्रतिशतबाट ४८ प्रतिशतमा झरेको छ। पछिल्लो एक वर्षमा एनसेलको १ प्रतिशत बजार हिस्सा घटेको हो। समीक्षा अवधिमा एनसेलको डाटा प्रयोगकर्ता पनि घटेका छन्। गत वर्ष ४९ प्रतिशत रहेको बजार हिस्सा यस वर्ष ४४ प्रतिशतमा खुम्चिएको छ। बजार हिस्सा नबढेपनि एनसेलको टेलिफोन प्रयोगकर्ता प्रतिस्पर्धी कम्पनी नेपाल टेलिकमको भन्दा बढी छ। नेपाल टेलिकमको टेलिफोन प्रयोगकर्ता ४५ प्रतिशत मात्र रहेको छ भने एनसेलको ४८ प्रतिशत रहेको छ। डाटाको बजारमा नेपाल टेलिकम एनसेलभन्दा अगाडि छ। एनसेलको डाटाको बजार ४४ प्रतिशत रहेको छ भने नेपाल टेलिकमको डाटाको बजार हिस्सा ५४ प्रतिशत रहेको छ।
एक वर्षको अवधिमा नेपाल टेलिकमको डाटा र टेलिफोनको बजार हिस्सा बढेको छ। गत वर्ष ४३ प्रतिशत रहेको भ्वाइस सेवा यो वर्ष ४५ र ४८ प्रतिशत रहेको डाटा सेवा यो वर्ष ५४ प्रतिशतमा पुगेको छ।
एक वर्षको अवधिमा स्मार्ट टेलिकमले पनि बजार हिस्सा बढाएको छ। गत वर्षको भदौमा ४ प्रतिशत बजार हिस्सा रहेको स्मार्टको यो भदौमा ५ प्रतिशत पुगेको छ। सोहि अवधिमा युटिएलले भने बजार हिस्सा १ प्रतिशतले गुमाएको छ। गत वर्ष भदौमा ३ प्रतिशत रहेको बजार हिस्सा यो भदौमा २ प्रतिशतमा खुम्चिएको छ।
एक वर्षमा मुुलुकमा टेलिफोन घनत्व करिब १३ प्रतिशतले बढेको छ। सोही अवधिमा करिब ७ प्रतिशतले इन्टरनेट प्रयोगकर्ता बढेका छन्। तथ्यांकअनुसार मुलुकको ९५.६९ प्रतिशत जनसंख्या टेलिफोनको पहुँचमा रहेको छ। गत वर्ष भदौमा टेलिफोन प्रयोगकर्ता कुल जनसंख्याको ८२.४९ प्रतिशत थिए। एक वर्षकै अन्तरालमा १२.७९ प्रतिशत विन्दुले टेलिघनत्व बढेको हो।
एउटै प्रयोगकर्ताले विभिन्न सेवा प्रदायकको टेलिफोन सेवा प्रयोग गर्ने हुनाले तथ्यांकमा घनत्व बढेको देखिए पनि पहुँच त्यसैअनुसार हुँदैन। विभिन्न कम्पनीको सिम एउटै व्यक्तिले प्रयोग गर्ने हुनाले एक्टिभ सिमको आधारमा तथ्यांक निकालिने गरिन्छ।
गत भदौसम्ममा २७.१८ प्रतिशत इन्टरनेट प्रयोगकर्ता रहेकोमा यो भदौसम्ममा ३४.०९ प्रतिशत पुगेको छ। गत भदौमा २ करोड १८ लाख ५९ हजार ६ सय ४९ विभिन्न कम्पनीले सिम जारी गरेका थिए। यो भदौमा २ करोड ५२ लाख ४७ हजार ७ सय २० पुगेको छ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले टेलिकमले बजार हिस्सा बढाउन विभिन्न समयमा अफर र योजना ल्याएको बताए। ‘अहिले हामी प्रवर्द्धनात्मक कार्यक्रमसहित अफर र छुटमा लागेका छौं। गुणस्तर बढाउन पनि विभिन्न काम भइरहेको छ। त्यसैले बजार हिस्सा विस्तारै बढेको छ,’ उनले भने, ‘डाटातर्फ थि्रजी विस्तार गरेका छौं भने एक सयमा सिम दिइरहेका छौं। त्यसैले डाटा र भ्वाइस सेवामा बजार हिस्सा बढिरहेको छ।’ उनका अनुसार कम्पनीले नयाँ नेटवर्क स्थापना गरिरहेको छ। यसले गुणस्तरमा पनि केही सुधार आएको उनले बताए।
एनसेलका कर्पाेरेट कम्युनिकेसन एक्सपर्ट मिलनमणी शर्माले तुलनात्मक रुपमा थपघट भए पनि एनसेलको बजार हिस्सा बढिरहेको बताए। ‘हामीले अझै डाटाको बजार बढाउन सरलीकृत रुपमा आउँदै छौं। साथै योजना र स्किम पनि ल्याइरहेका छौं,’ उनले भने।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१