फोक्सो बिगार्ने नयाँ रोग नेपालमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ मंसिर २०७१, सोमबार १२:४४

काठमाडौँ २२ मङ्सिर । नेपालमा पहिलोपटक पानीबाट सर्ने नयाँ रोग भेटिएपछि सरकारले सतर्कता अपनाइएको जनाएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो रोग नेपालमा कसरी आयो भन्नेबारे अहिले अध्ययन अनुसन्धान भैरहेको र त्यसको लागि पानी परीक्षण गर्ने तयारी भैरहेको छ ।
पानी परीक्षणको लागि विदेश पठाउनुपर्ने भएकाले केहि समय लाग्ने महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीले बताउनुभयो । उहाँका अनुसार विदेशमा लगेर परीक्षण गरी यसको रिपोर्ट आउन एक महिना लाग्छ । परीक्षण गर्न धाराबाट आउने पानी र एयर कन्डिसनरबाट झर्ने पानीका थोपा पठाउने तयारी भएको उहाँले बताउनुभयो । उपचारका क्रममा काठमाण्डूका २ जनामा पानीबाट सर्ने लिगिनायर्स डिजिज पाईएको हो । तर यो रोग नेपालकै नभई विदेशबाट आएका नेपाली वा विदेशीबाट नेपालमा प्रवेश गरेको महाशाखाको अनुमान छ ।
पहिलोपटक यस्तो रोग देखिएपछि महाशाखाले काठमाडौंका सबै अस्पतालमा सुरक्षा सतर्कता अपनाउन छलफलको तयारी पनि गरेको छ । रुघाखोकी लाग्नु, ज्वरो आउनु, सास फेर्न गार्हो हुनु र पखाला लागे जस्तो हुनु यो रोगको लक्षण हो । यो रोगका किटाणु पानीका थोपाबाट श्वासप्रश्वासमार्फत फोक्सोमा पुग्छ । तरुन्त उपचार नगरे कडा निमोनिया हुने ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीले बताउनुभयो ।
यो रोगबाट जोगिन पानी उमालेर मात्र पिउने र अरु प्रयोगका लागि पनि पानी उमाल्नुपर्ने उहाँको भनाई छ । एयर कन्डिसनर, पानीका फोहरा, स्पा तथा नुहाउँदा प्रयोग हुने सावर, पौडी पोखरी, अस्पतालमा बाफ दिन प्रयोग गरिने मेसिन आदीबाट यो रोगका किटाणु सर्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१