छुरी हानेर कान्तिपुर कलेजकी छात्राको हत्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ मंसिर २०७१, सोमबार ०६:५५
काठमाडौँ,२२ मङ्सिर । नयाँ बानेश्वरस्थित कान्तिपुर कलेजमा अध्ययनरत एक छात्राको दिन दहाडै छुरी हानी हत्या भएको छ ।घटना भएको २४ घण्टा बितिसक्दा पनि प्रहरीले हत्यारालाई समाउन नसकेको भन्दै अनेरास्ववियु लगायतका विद्यार्थी संगठनले आइतबार सिंहदरबार नजिकै मृतक छात्राको तस्वीर बोकेर प्रदर्शन गरेका छन् ।
शनिबार दिउँसो मैदीदेवीस्थित सेतोपुल भन्दा केही तल अनामनगरतर्फ हिँडिरहेको अवस्थामा एक युवकले रीतु महासेठमाथि एक्कासी ५/६ पटक छुरी रोपेका थिए ।रीतुलाई तत्कालै ट्याक्सीमा हालेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुर्‍याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई महाराजगञ्जस्थित शिक्षण कलेजमा पुर्‍याइएको थियो । रीतुको शनिबार अपरान्ह साढे ४ बजे शिक्षण अस्पतालमा निधन भएको हो ।
जनकपुरबाट काठमाडौंमा उच्च शिक्षा अध्ययन गर्न आएकी रीतु मैतीदेवीस्थित ‘फेमिली गल्र्स होस्टल’मा बस्थिन् । उनी बानेश्वरको कान्तिपुर कलेजमा बीबीएस प्रथम वर्षमा अध्ययनरत थिइन् ।शनिबार दिउँसो साथीको विवाहका लागि होस्टलबाट निस्केकी रीतुमाथि दिनदहाडै छुरी प्रहार गरेर अपराधी उम्कन सफल भएको छ ।
राजधानीजस्तो देशको प्रशासनिक केन्द्रमा दिनदहाडै महिलामाथि छुरी प्रहार हुँदा पनि प्रहरीले अपराधीलाई समात्न नसकेको भन्दै विभिन्न विद्यार्थी संगठनले हत्यारालाई तत्काल कारवाहीको माग गरेका छन् ।स्रोतहरुका अनुसार रीतुलाई छुरी प्रहार गर्ने व्यक्तिको पहिचान हुन नसके पनि विद्यालयकालदेखि नै उनलाई एकतर्फी प्रेमका लागि पछ्याइरहेको जनकपुरतिरकै किशोरले आक्रमण गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
हत्यारा नसमातिए आन्दोलन : लामा
यसैवीच एमालेसमर्थित अनेरास्ववियूकी महासचिव नविना लामाले सरकारले तत्काल हत्यारालाई पक्राउ नगरे आन्दोलनमा उत्रने बताएकी छन् ।महिला विद्यार्थीमाथि हिंसा हुँदा पनि प्रहरी मूकदर्शक बनेको उनले बताइन् । यसबारे अखिलले गृहमन्त्री वामदेव गौतमलाई भेटेर ध्यानाकर्षण गराउने उनले बताइन् । रीतुका हत्यारालाई कारवाहीको माग गर्दै अनेरास्ववियू र मधेसी विद्यार्थी संगठनका नेताहरुले आइतबार हनुमानस्थानमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा तमलोपाका केही नेताहरु झण्डासहित आउन लागेको र आफूहरुले रोकेको नविनाले अनलाइनखबरलाई बताइन् । यस्तो घटनालाई राजनीतिकरण वा कुनै पनि रंग दिन नहुने र सबैले मिलेर महिला हिंसाको विरुद्ध लाग्नुपर्ने उनले बताइन् । हत्यारालाई फाँसी दिइनुपर्ने उनले बताइन् ।
हत्या विरुद्धको प्रदर्शनमा सहभागी पत्रकार राजेश अहिराजले सिंहदरबारको नजिकै विद्यार्थीको हत्या हुँदा पनि हत्यारा पक्राउ पर्न नसकेपछि बाहिरबाट काठमाडौंमा अध्ययन गर्न आउने विद्यार्थीहरुले असुरक्षित महसुस गर्ने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१