दाङ ,९ मङ्सिर। विश्वको सबैभन्दा ठूलो त्रिशूल भित्र्याएर संसारको ध्यान तान्न सफल दाङ धारपानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा केही दिन अघि अनौठो चमत्कार भएको छ ।
त्रिशूल स्थापनाका लागि स्थान बनाउने क्रममा डोजरले ढालेको साजको रुख उठेपछि अहिले त्यहाँ ठूलो हलचल भएको छ । रुख उठेपछि त्यस ठाउँलाई अहिले विशेषरुपले संरक्षण गरिएको छ । मन्दिर व्यवस्थापन समितिले स्थानीय पूजारी हरिप्रसाद न्यौपानेलाई त्यहाँको पूजारीमा नियुक्त गरेको छ । घट्नाका प्रत्यक्षदर्शी समेत रहेका मन्दिर व्यवस्थापन समितिका सचिव विष्णु आचार्यका अनुसार यो घट्ना गत कार्तिक २९ गते भएको थियो । उनले घटनाको बारेमा यसरी बताए ‘अचम्मै भयो । त्रिशूल स्थापना स्थल बनाउने क्रममा डोजर लगाएका थियौं । रुख ढाल्ने निकै प्रयास गरियो । तर ढलेन । डोजरको दाँत नै भाँचियो । त्यसपछि अर्को डोजर मगायौ । त्यसले पनि ढाल्न सकेन । त्यसको पनि दाँत भाँचियो । अन्तिम प्रयास गर्दा डोजरले ढालेको थियो । तर आफै उठ्यो । त्यसपछि हामी डराऔं । भोलिपल्ट एकजना महिला मन्दिरमा आएर काँप्नु भयो । उहाँले यो पशुपतिनाथका दोस्रो ठाउँ हो भन्दै बक्नु भयो । त्यसपछि हामीले त्यसलाई संरक्षण गरेका छौं । स्थानीय पूजारीको पनि व्यवस्था गरेका छौं ।’ अहिले त्यहाँ त्यस रुखलाई हेर्न मानिसहरुको घुइँचो लागेको छ । एकातिर विश्वको सबैभन्दा ठूलो त्रिशुले सबैलाई त्यतातिर तानेको छ भने त्यो रुखले पनि सबैलाई आकर्षित गरिरहेको छ । यसको वैज्ञानिक कारणबारे पनि कतैबाट पुष्टि भएको छैन ।
प्रतिक्रिया