बैंकर ज्ञानेन्द्र ढुंगानालाई गभर्नर बनाउने विषयमा प्रधानमन्त्री ओली र देउवाबीच उच्चस्तरको समझदारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ चैत्र २०८१, बुधबार ०६:२८

काठमाडौं । सत्ता गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नेपाल राष्ट्र बैंकको गभर्नर कांग्रेसको कोटाबाट ल्याउने समझदारी बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच  मन्त्रिपरिषद् बैठकअघि नयाँ गभर्नर बनाउने विषयमा छलफल भएको थियो ।

मन्त्रिपरिषद् बैठकले पनि गभर्नरको नाम सिफारिसका गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । समितिमा अर्थमन्त्री पौडेलसहित पूर्व गभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल छन् ।

गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल यही चैत २४ गते सकिँदैछ । यसअघि नै सिफारिश समिति गठनको लागि प्रक्रिया थालिएको थियो । तर, गभर्नर कसको भागमा पार्ने भन्ने विषयमा कांग्रेस र एमालेबीच समझदारी हुन सकेको थिएन । नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्र हितेन्द्र देव शाक्यलाई नियुक्त गरेपछि गभर्नर कांग्रेसको कोटामा परेको हो ।

गभर्नरको लागि कांग्रेस सभापति देउवाले बैंकिङ सेक्टरमा प्रसिद्धि कमाएका ज्ञानेन्द्र प्रसाद ढुंगानालाई अघि बढाउन चाहेका छन् । उनी गभर्नर बन्दा एमाले नेतृत्व पँक्तिपनि सकारात्मक बन्नेछ । सिफारिश समितिले आज/भोलिभित्रै नयाँ गभर्नरको लागि नाम सरकारसमक्ष सिफारिश गर्ने भनिएको छ ।

तर, सिफारिश समिति गठन गर्नुअघि नै प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच उच्चस्तरको समझदारी बनिसकेको छ । ढुंगाना नेपालको बैंकिङ सेक्टरको उच्च तहमा बसेर काम गरिसकेका बैंकर हुन् । उनी नेपाल बैंकर एशोसिएनको अध्यक्ष भैसकेका छन् । उनले सन् २०१५ म्यानेजर अफ द इयरको उपाधिसमेत पाएका थिए ।

ढुंगाना देशको अर्थतन्त्रको आवश्यकताबमोजिम विषम परिस्थितिमा समेत कुशल नेतृत्वको क्षमता राख्ने बैंकरको रूपमा परिचित छन्। पेशाले चार्टड एकाउन्टेन्ट रहेका ढुंगाना नबिल बैंकमा प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्नु पूर्व नेपाल बंगलादेश बैंक (एनबी) लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेको अनुभव ढुंगानासँग छ।

नेपाल राष्ट्र बैंकमा समेत ढुंगानाले डाइरेक्टरको रुपमा काम गरेका छन् । भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका ढुंगानालाई नेपालको बैंकिङ क्षेत्रमा पुर्‍याएको उत्कृष्ट योगदानका लागि सन् २०२२ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवा श्री पदकद्वारा विभुषित गरिएको थियो।

 

प्रतिक्रिया