काठमाडौं । नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले गुहेश्वरी-तिलगङ्गा ट्र्याक खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको शून्य समयमा बोल्दै सांसद चालिसेले सुन्दरीजलबाट बागमती करिडोर खोलेर गुहेश्वरीसम्म आए पनि नेपाल ट्रस्टको एक सय मिटर पर्खाल भत्काउन नसक्दा यातायात आवतजावतमा समस्या भएको बताए ।
काठमाडौंका धेरै सडकमा अत्याधिक ट्राफिक जामका कारण नागरिकले सास्ती पाइरहेको भन्दै उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्। गुहेश्वरीदेखि तिलगङ्गासम्मको ट्र्याक खोलेमा गौशाला क्षेत्रको ट्राफिक जाम हल हुने उनको भनाइ थियो ।
उनले भने, ‘सुन्दरीजलबाट बाग्मती करिडोर खोलेर गुहेश्वरीसम्म आएको तथा नेपाल ट्रस्टको एक सय मिटर पर्खाल भत्काउन नसक्दा गुहेश्वरीदेखि तिलगङ्गासम्मको ट्र्याक बन्द भएको छ । चाँडै समस्या समाधान गर्न आग्रह गर्छु।’
त्यहाँको सडक एकपटक खोलिएको थियो । तर, विश्व सम्पदा सूचीमा रहेको क्षेत्रलाई मासेर सडक बनाउन नहुने भन्दै चौतर्फी विरोध भएपछि पुनः बन्द गरिएको हो ।
७ वर्षअघि संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) ले यो सडकमा सवारी आवागमन नरोकिएमा विश्वसम्पदा सूचीबाट हटाउने चेतावनी दिएको थियो ।
सर्वोच्च अदालतले पनि युनेस्कोको मापदण्ड विपरीत बनेका संरचना हटाउन आदेश दिएको भन्दै पशुपति क्षेत्र विकास कोषले तिलगंगा ताम्रगंगा सडक सधैंका लागि बन्द गरेको छ ।
प्रतिक्रिया