स्थायी जागिर छाडेर प्रहरीमा आएका ३१औँ प्रहरी महानिरीक्षक दीपक थापा को हुन्?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ चैत्र २०८१, मंगलवार ०७:१५

काठमाडौँ ।  सरकारले पहिलो नम्बरमै रहेका एआईजीपी दीपक थापालाई नै प्रहरी महानिरीक्षक (आईजीपी)मा पदोन्नति गरेको छ।

ज्येष्ठताका आधारमा आईजीपी नियुक्त गरेकाले सरकार यसपालि पनि विवादित हुनबाट जोगिएको छ। अघिल्लो पटक पनि ज्येष्ठताकै आधारमा आईजीपी नियुक्त गरिएको थियो। विगतमा आईजीपी नियुक्ति विवादमा पर्ने गरेको इतिहास छ।

आज बसेको मन्त्रिपरिषद्‍ बैठकले नेपाल प्रहरीको ३१औँ महानिरीक्षक (आईजीपी)मा दीपक थापालाई नियुक्त गरेको हो। आज राति १२ बजेबाट हालका आईजीपी वसन्तबहादुर कुँवर अवकासमा जान लागेपछि आजै मन्त्रिपरिषद्‍ले थापालाई आईजीपीमा पदोन्नति गरेको हो।

उनले भोलिबाट महानिरीक्षकको कार्यभार सम्हाल्ने छन्। प्रहरीसम्बन्धी कानुनी व्यवस्था यथावत रहे थापाले अब झण्डै ६ महिना प्रहरीको नेतृत्व सम्हाल्ने छन्।

उनी विसं २०४८ सालमा स्थायी शिक्षक थिए। शिक्षकको जागिर छाडेर उनी २०५२ मा प्रहरी सेवामा प्रवेश गरेका हुन्। विसं २०५० मा प्रहरीको जाँच छाडेर विहे गर्ने तरखर गर्दै गर्दा परीक्षा पनि सरेपछि उनले विहे सकेर परीक्षामा सामेल हुने मौका पाए। विसं २०५१ चैत ५ गते नाम निकाल्न सफल भए।

परीक्षा पास भएर पनि ६ महिना ढिला गरी उनलाई २०५२ मा नियुक्त गरिएको थियो। त्यसबेला ५० जनासम्मले नियुक्ति पाए। नाम ५५ मा निस्किँदा आफू नपरेको र ६ महिनापछि नियुक्ति पाएको नवनियुक्त महानिरीक्षक थापाले थाहाखबरसँगको कुराकानीमा बताए।

थापा हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) प्रमुख छन्। विसं २०५२ भदौ १९ गते प्रहरी निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थापाको जन्म २०२८ मंसिर ८ गते भक्तपुरको सिपाडोलमा भएको हो।

राजनीतिकशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका उनी २०६३ भदौ ८ गते डीएसपी बने। २०७२ साउन ८ मा एसपी बनेका थापा २०७५ फागुन ६ मा एसएसपीमा बढुवा भए। २०७९ असार १७ मा डीआईजी बनेका उनी २०७९ चैत ६ मा एआईजी भए।

कानुनमा स्नातकसमेत गरेका थापाले काठमाडौँ उपत्यकाको महानगरीय प्रहरी वृत्त महाराजगञ्जको प्रमुखसहित रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवन जिल्लाको प्रमुख पनि बने।

अख्तियारको सुर्खेत र बुटवल प्रमुखको जिम्मेवारीसमेत सम्हालेका थापाले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रधान कार्यालयको प्रबन्ध निर्देशनालय, प्रशासन विभाग, काठमाडौँ उपत्यका प्रहरी कार्यालयको पनि जिम्मेवारी प्राप्त गरेका थिए।

शान्ति मिसनमा सुडान र लाइबेरिया पनि गए। थापाले प्रबल जनसेवाश्री, सुप्रबल जनसेवाश्रीसहित ८ वटा पदक तथा विभूषण प्राप्त गरेका छन्।

प्रतिक्रिया