काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन राजा विरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको आयोग बनाएर छानविन गर्न जरुरी रहेको बताएका छन् । आज (शनिबार) समाजवादी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूहरुले तत्कालीन समयमा र गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री भएपछि पनि उक्त कुरा भन्दै आएको बताए ।
हिजो (शुक्रबार) सिन्धुपाल्चोकमा आयोजित पार्टीको कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई वंशनाश गर्ने ‘भाइमारा’, मूर्तिचोर र सुन तस्करीको नाइकेको संज्ञा दिएका थिए । सो सन्दर्भ उल्लेख गर्दै सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भने आफूले पुरानै तथ्यमा आधारित भएर अभिव्यक्ति दिएको बताए । प्रचण्डले एक पटक दरबार हत्याकाण्ड पुनः छानविनको आवश्यकता रहेको बताए ।
‘मैले हिजो जे बोलेको छु, त्यो धेरै पहिलादेखि नै बोलिराखेको कुरा हो । दरबार हत्याकाण्ड भएको लगतै, जतिबेला हामी भूमिगत थियौं, त्यतिबेला पनि यही कुरा बोलिएको थियो । म पहिलो चोटी गणतन्त्र नेपालको प्रधानमन्त्री भएपछि पनि त्यही कुरा बोलिएको थियो । मैले छानविन आयोग बनाउन जरुरी छ भनेर त्यतिबेला नै भनेको थिएँ ।’ प्रचण्डले भने, ‘तिनै कुरालाई अहिले जसरी फेरि पुनरुत्थानको कोशिस भएको छ, त्यो सन्दर्भमा स्मरण गर्न आवश्यक ठानेर मैले भनेको छु– यो जनतालाई लागेको छ भन्ने भाषा छ त्यहाँ । जनताको मनमा यी प्रश्न छन् । यसको उत्तर खोज्नै पर्छ भन्ने हिसाबले भनिएको हो । पुरानै तथ्य, पुरानै प्रमाण र आम नेपाली जनताको मनमा जे छ, त्यो कुरा मैले मुखरित गरेको हो ।’
प्रतिक्रिया