काठमाडौं। नेकपा (माओवादी केन्द्र) सहित चार दल आवद्ध रहेको समाजवादी मोर्चाले प्रतिगामी हर्कको खिलाफमा हजारौं जनता काठमाडौंमा उतारेर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । आज (मंगलबार) बसेको मोर्चाको बैठकले आगामी चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा र प्रतिगामी हर्कतको खिलाफमा हजारौं जनता उतारेर विरोध प्रदर्शन गर्ने निर्णय भएको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए ।
साथै, देशको पछिल्लो राजनीतिक परिस्थितिलाई बैठकले गम्भीर रुपमा विश्लेषण गरेको पनि उनले बताए । ‘देशको पछिल्लो राजनीतिक परिस्थिति जो छ, त्यसको बारेमा गम्भीर विश्लेषण गरेको छ । एउटा वस्तुगत निश्कर्ष निकालेको छ र यो स्थितिलाई ट्याकल गर्नका निम्ति केही कार्यक्रम र योजनाहरु तय गरेको छ,’– बैठकपछि निर्णय सार्वजनिक गर्दै उनले बताए ।
साथै, मोर्चाले नेपाली जनताले आफ्नो व्यवस्था, मुक्ति र स्वाधीनताको निम्ति धेरै ठूलो संघर्ष गरेर प्राप्त गरेको र स्थापित गरेको गणतन्त्रको विरुद्धमा गम्भीर षड्यन्त्र सुरु भएको निश्कर्षसमेत निकालेको छ । नेता विश्वकर्माका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ विकसित कसरी गर्ने, अहिलेको समस्याहरु जे–जस्ता छन् त्यसलाई कसरी समाधान गर्ने र व्यवस्था अझ यो भन्दा कसरी उन्नत बनाउने भनेर चिन्तन गरिरहेका जनताले इतिहासमा तिरस्कृत भइसकेको राजतन्त्रलाई स्वीकार नगर्ने मोर्चाको निश्कर्ष छ ।
मोर्चाले जनताले तिरस्कार गरिसकेको राजा र राजतन्त्रलाई फेरि पुनर्स्थापित गर्ने हर्कतलाई ‘ठूलो धृष्टता, देश र जनताको विरुद्धमा ठूलो प्रतिगामी षड्यन्त्र; संज्ञा दिएको छ । काण्डले अहिलेको परिस्थितिलाई सशक्त रुपमा प्रतिकार गर्नका निम्ति आम नेपाली जनताको बीचमा समाजवादी मोर्चाको तर्फबाट अपिल गरिने पनि बताए । उनले यस्ता विषयमा जनताको बीचमा परामर्श पनि जरुरी रहेको बताउँदै आगामी चैत १ गते विहान नेपालका बुद्धिजीवी नागरिक समाजसँग परामर्श र छलफलको कार्यक्रम तय भएको पनि बताए ।
प्रतिक्रिया