काठमाडौं । समुद्री आँधीले निम्त्याएको उच्च वर्षाका कारण अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा केही व्यक्ति हताहत भएका र उक्त आँधीका कारण तीन लाख ३० हजारभन्दा धेरै घरधुरी बिद्युत् विहीन भएका छन् ।
अल्फ्रेड नाम दिइएको उक्त आँधीका कारण एक जनाको मृत्यु भएको र र उद्धारका लागि खटिएका १३ सैनिक घाइते भएका अस्ट्रेलियाली अधिकारीहरूले जनाएका छन् । आँधी मत्थर भएर अहिले वर्षामा परिणत भएको छ । तर आँधीको प्रभाव जमिनमा आइपुग्न बाँकी रहेको कारण स्थानीय प्रशासनले यसको खतरा अझै ‘नटरेको’ बताएका छन् ।
उक्त आँधी जमिनमा अवतरण हुनअघि नै रूख र बिजुलीका प्रसारण लाइनहरू ढालेका थिए। होचा क्षेत्रमा सडकहरू डुबानमा परेका छन् ।
उद्धारका लागि गइरहेका सैनिकहरू सवार एउटा ट्रक चिप्लिएर पल्टिएको र अर्को ट्रक त्यही पल्टिएको ट्रकमा गएर ठोक्किँदा १३ जना सैनिक घाइते भएको अधिकारीहरूले बताएका छन् । अल्फ्रेड आँधीले नेपालीहरूको समेत उल्लेख्य बसोबास रहेको ब्रिसबेनमा असर पुर्याउने पूर्वानुमान गरिएका छन् ।
आँधीको बाटोमा पर्ने स्थानहरूबाट दशौँ हजार मानिसहरूलाई उद्धार गरेर अन्यत्रै सारिएको छ । बाँकी मानिसहरूलाई पनि घर बाहिर ननिस्कन भनिएको छ । क्विन्स्ल्यान्ड र उत्तरी न्यू साउथ वेल्सका करिब ४० लाख मानिसहरू आँधीको जोखिममा छन् । दुवै क्षेत्रमा मौसमका दर्जनौँ चेतावनीहरू जारी गरिएका छन् ।
ऊर्जा वितरक कम्पनी इनर्जेक्सले उत्तरपूर्वी क्विन्स्ल्यान्ड क्षेत्रमा दुई लाख ८७ हजार उपभोक्ताहरू बिजुलीविहीन भएको बताएको छ । अर्को कम्पनी इसेन्सिअल इनर्जीले न्यू साउथ वेल्सका ४२ हजार घरहरूमा बिजुली बन्द भएको बताएको छ ।
बिजुलीका प्रसारण लाइनहरू ढलेका छन् र सयौँ रूखहरू बगैँचा, पार्क र मुख्य सडकहरूमा ढलेका छन् । उक्त क्षेत्रमा ठूलो मात्रामा भग्नावशेषहरू देखिएका छन् ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनेजीले गोल्ड कोस्ट भनिने तटीय क्षेत्रमा ‘सबैभन्दा खराब अवस्था आउन बाँकी नै रहेको’ भन्दै सुरक्षाका सम्भावित सबै उपाय अवलम्बन गर्न नागरिक र उद्धारकर्ताहरूलाई निर्देशन दिएका छन्।
प्रतिक्रिया