काठमाडौं। सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेता, कर्मचारीलगायतको चरित्र नबदलिएसम्म मुलुक नबन्ने बताएका छन् । आज (मंगलबार) नेपाल दूरसञ्चार प्राधिकरणको २७औं वार्षिकोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सबैले आफ्नो चरित्रमा सुधार गर्नुपर्छ भन्ने महशुस नगरेसम्म दुई तिहाइ वा सर्वसम्मतको सरकार बनेपछि मुलुक नबन्ने बताएका हुन् । उनले कर्मचारीतन्त्र, सेना, प्रहरीदेखि मन्त्रालयसम्मै भ्रष्टाचार व्याप्त रहेको बताए ।
‘दुई चार वटा कारणले मुलुक बिग्रिएको छ । सबैले सुधार्नुपर्छ भन्ने महशुस गरेन भने मुलुक बन्दैन । दुई तिहाइको सरकार बनेपनि, सर्वसम्मत सरकार बनेपनि मुलुक बन्दैन । जबसम्म हाम्रो क्यारेक्टर बद्लिँदैन । भ्रष्टाचार आज हाम्रो कल्चर भइसक्यो । वैधानिक होस् वा अबैधानकि होस्, हेर्दा केही देखिँदैन । तर, त्यहाँ घुस, कमिसन छ । यो करम्पसनको कल्चर छ, त्यसलाई अन्त्य गर्नुपर्यो नि । भ्रष्टाचार गरेर ल्याएको छ कि चोरेर ल्याएको छ थाहा छैन । महल बनायो, गाडी चढ्यो भने त्यही चाहीँ हिरो हुन्छ । यो प्रचारको अन्त्य कसरी हुन्छ हामीले अन्त्य गर्नुपर्छ । त्यो व्युरोक्रेशीमा व्याप्त छ, सेनामा, प्रहरीमा, मन्त्रालयमै पनि छ । हाम्रो सबैभन्दा ठूलो समस्य यही हो,’– उनले भने ।
साथै, नेपाल असल शासनप्रति प्रतिवद्ध नै नभएको उनले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय शतर्कता केन्द्र, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) लगायतका संस्थाहरु हु्ँदा पनि नेपाल ग्रे लिस्टमा परेको प्रति उनले असन्तुष्टि व्यक्त गरे । ‘गुड गभर्नेन्सको हामी ‘ग’ पनि प्रयो गर्दैनौं । गुड गभर्नेन्सको लागि त सबैभन्दा पहिलो मेरिटोक्रेशीमा विश्वास गनुपर्यो । असल मान्छेहरु चाहिन्छ असल शासन चलाउनका लागि । खराब, कमजोर र बेइमान मान्छेलाई त्यो कुर्सीमा राखेर असल शासन आउँदैन । त्यसकारण असल शासनको पहिलो आधार नै असल मान्छे, असल पदाधिकारी, असल मन्त्री चाहिन्छ,’– उनले भने ।
प्रतिक्रिया