काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिकामा बृत्ति मार्गनिर्देशन सेवा इकाइ स्थापना भएको छ । आइतबार नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले एक कार्यक्रमका बीच इकाइको स्थापना गर्नु भएको हो । केन्द्रमा सञ्चालन गरिएको वृत्ति मार्गनिर्देशन सेवा कक्षा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू सहित युवाहरूलाई व्यक्तिगत र सामूहिक परामर्श मार्फत प्रदान गरिनेछ ।
मेयर कार्कीले दक्ष र समर्पित व्यक्तिको विकासमा वृत्ति मार्गनिर्देर्शन महत्त्वपूर्ण भएको बताउनुहुँदै वृत्ति मार्गनिर्देशन सेवाबाट पेशाको बारेमा जानकारी गराई उपयुक्त वृत्ति मार्ग छनोट गर्न‚ पेशा अपनाउन र रोजगारीको बजारसँग जोड्न मद्दत पुग्ने विश्वास ब्यक्त गर्नुभयो । वृत्ति मार्गनिर्देशन सहजकर्ता र मनोविज्ञानमा ज्ञान भएको परामर्शकर्ताहरुबाट सेवा प्रदान हुनेछ । त्यसै गरी डिजिटल प्लेटफर्ममा योग्यता परीक्षण गरि उनीहरूको रुचि, खुबी र श्रम बजारको मागको आधारमा सम्भावित वृत्ति मार्गहरू पहिचान गरिनेछ ।
वृत्ति मार्गनिर्देर्शन सेवा केन्द्रले शिक्षा र रोजगारी बीचको खाडललाई कम गर्न, सूचना एवम् तथ्याङ्कका आधारमा युवाहरुले निर्णयहरू लिन र उनीहरूको व्यक्तिगत र व्यावसायिक लक्ष्यहरूसँग मिल्ने अवसरहरू प्रयोग गर्न सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पुस्प ढकालले बताउनुभयो ।
प्रतिक्रिया