काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष निमा नुरु शेर्पाले संघका तालिम पूर्ण रुपमा संचालन गर्न सफल भएको बताएका छन् । उनले भने, ‘यी तालिम कार्यक्रमहरू नेपाल सरकारको आर्थिक सहयोगबाट सञ्चालित छन् । त्यसैले, सरकारलाई धन्यवाद दिन चाहन्छु । साथै, योग्य जनशक्ति उत्पादन गर्ने यस महत्त्वपूर्ण कार्यका लागि निरन्तर सहयोगको अपेक्षा गर्दछु ।’
उनले थपे, ‘नेपालको पर्वतीय पर्यटनको उन्नतिका लागि दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक छ । यसले सरकारलाई पनि लाभ पुर्याउनेछ। त्यसैले, सरकारको निरन्तर सहयोग आवश्यक छ ।’
नेपालको पर्वतीय पर्यटनका लागि आवश्यक जनशक्ति उत्पादन गर्दै आएको नेपाल पर्वतारोहण संघले बिहिबार एक कार्यक्रमको आयोजना गरी माउन्टेन लिडर तालिमलाई अन्तर्राष्ट्रियस्तरको मान्यता दिइएको घोषणा गर्दै अध्यक्ष शेर्पाले कुरा बताएका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले प्रशिक्षार्थीहरू नेपालको गौरव अन्तर्राष्ट्रियस्तरमा बढाउन सक्षम हुने आशा व्यक्त गरे । उनले भने, ‘विश्वव्यापी तापमान वृद्धिका कारण हाम्रो हिमालहरूको अवस्था दिन प्रतिदिन बिग्रँदै गएको छ । अब, हिमालहरूको संरक्षण गर्ने हाम्रो पालो आएको छ । म विश्वस्त छु कि यी प्रशिक्षार्थीहरूले हाम्रो हिमालहरूको भविष्य सुनिश्चित गर्ने छन् र नेपाललाई अन्तर्राष्ट्रियस्तरमा गर्व गराउने छन् ।’
नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले सरकारलाई एनएमएलाई यस्ता तालिमहरू आयोजना गर्न सहयोग गर्न आग्रह गरे ।
टानका अध्यक्ष सागर पाण्डेले भने, ‘एनएमएको प्रयासका कारण अब यी दक्ष जनशक्ति नेपालका पर्वतीय पर्यटनलाई अगाडि बढाउन तयार छन् । यो महत्त्वपूर्ण कार्यमा एनएमएलाई सहयोग गर्नु हाम्रो सामूहिक जिम्मेवारी हो । नेपालको पर्वतारोहण उद्योगलाई अझ बढी दक्ष जनशक्ति आवश्यक छ । त्यसैले, सरकारले एनएमएलाई तालिम सञ्चालन गर्न निरन्तर सहयोग गर्नुपर्छ ।’
एनएमएका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे र महासचिव मोहन लाम्सालले सरकारबाट संघलाई छुट्याइएको रकम अझै नपुगेको बताए । महासचिव मोहन लाम्सालका अनुसार हालसम्म करिब ६ करोड रुपैयाँ एनएमएका लागि छुट्याइएको छ तर रकम उपलब्ध गराइएको छैन् ।
संघका पदाधिकारीहरूले सरकारलाई तत्काल छुट्याइएको रकम उपलब्ध गराउन आग्रह गरेका छन्, ताकि नेपालका पर्वतीय पर्यटन क्षेत्रलाई अगाडि बढाउन आवश्यक तालिमहरू अवरुद्ध नहोस् ।
सो कार्यक्रममा तालिमका सहभागी प्रशिक्षार्थीहरू र प्रशिक्षकहरूलाई प्रमाण-पत्र प्रदान गरेको थियो। संघले सञ्चालन गर्ने प्रमुख तालिमहरूमा आधारभूत पर्वतारोहण तालिम, उच्च पर्वतारोहण तालिम, हाई माउन्टेन रेस्क्यु ट्रेनिङ तथा अन्तर्राष्ट्रियस्तरको माउन्टेन गाइडहरू समेत रहेका छन् ।
नेपाल पर्वतारोहण संघले २०११ देखि माउन्टेन लिडर कोर्स सञ्चालन गर्दै आएपनि युनियन अफ इन्टरनेशनल माउन्टेन लिडर एसोसिएशन (यूआईएमएलए)को विधान अनुसार संघले सो संस्थाको सदस्यता लिन नसक्ने भएकाले, २०७४ असार ७ गते नेपाल माउन्टेन लिडर्स एसोसिएशन(एनएमएलए) स्थापना गरिएको थियो । स्थापनाकालदेखि नै एनएमएलएले उक्त तालिमलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन यूआईएमएलएको सदस्यता प्राप्त गर्ने प्रक्रिया सुरु गरेको थियो ।
सन् २०१७ मा एनएमएलएले यूआईएमएलएको एस्पिरयन्ट सदस्यता प्राप्त गर्न सफल भयो । यसपछि, नेपाल पर्वतारोहण संघले निरन्तर रुपमा तालिमहरू सञ्चालन गरी, नेपालको माउन्टेन लिडर कोर्सलाई सुदृढ बनाउँदै लग्यो । गत वर्ष, सन् २०२४ को नोभेम्बर २ तारिखमा, युरोपको उत्तर म्यासेडोनियामा सम्पन्न यूआईएमएलएको २०औं साधारण सभामा, नेपालले सर्वसम्मत भोट प्राप्त गरी अन्तर्राष्ट्रिय मान्यता हासिल गरेको एनएमएलएका अध्यक्ष दावा टासी शेर्पाले जानकारी दिए।
साथै कार्यक्रममा संघले सञ्चालन गर्ने विभिन्न तालिमहरूको पाठ्यक्रम प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)बाट स्वीकृत भएको सार्वजनिक गरिएको थियो।
प्रतिक्रिया