काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । प्रधानमन्त्रीले शुक्रवार साँझ ५ बजे बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ओली नेतृत्वको सरकार बनेपछि सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले १० सदस्यीय संयन्त्र बनाएका थिए ।
संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन्।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन्। सरकारले ल्याएको अध्यादेशमा राष्ट्रियसभामा बहुमत पुग्न नसकेको कारणले एक महिनादेखि अगाडि बढ्न सकेको छैन।
भोलिको बैठकले अलपत्र परेको अध्यादेशबारे निर्णय गर्ने स्रोतले जनाएको छ । भोलि नै अध्यादेशका लागि निर्णायक जसपा नेपालले पनि छलफल गर्दैछ ।
प्रतिक्रिया