काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले जनताले प्राप्त गरेको अधिकार खोस्ने दुस्साहस गरिरहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) सुनसरीको गढी गाउँपालिकामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संविधानबाट जनताले पाएका उपलब्धीहरु खोस्ने प्रयत्न भइरहेको बताएका हुन् । उनले यस्तो परिस्थितिमा आफूहरु भने उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको पक्षमा रहने पनि बताए ।
‘पुराना केही पार्टीहरुले जनताले प्राप्त गरेको अधिकारलाई पनि चुनौती दिने दुस्साहस गर्दैछन् । जनताले पाएका जेजति उपलब्धी छन्, संविधानबाट ती उपलब्धी खोस्ने दुस्साहस पनि गर्दैछन् । यो परिस्थितिमा हामी उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायसँग हाम्रो सम्बन्ध कमजोर हुँदा प्रतिकृयावादीहरु, दलालहरु, भ्रष्ट तत्वहरु हाबी हुने खतरा देखियो,’– अध्यक्ष प्रचण्डले भने ।
आफूहरुले अहिले हुलाकी राजमार्गअन्तर्गतको अभियानमा खाली भाषणमात्रै नगरेर जनताहरुको पीडा सुन्न र संहदरबारमा आवाज मुखरित गराउन आएको बताए । उनले राष्ट्रिय स्वाधिनताको रक्षा, लोकतन्त्रको सुदृढीकरण र आर्थिक विकासको पक्षमा माओावदीलाई साथ दिन आग्रह गरे । ‘हामीलाई साथ दिनुस्, हामी तपाईँलाई पहिचान, अधिकार र समृद्धि दिनेछौं,’– अध्यक्ष प्रचण्डले भने ।
आफूले सरकारको नेतृत्व गर्दैगर्दा भ्रष्टाचारीहरुको विरुद्ध, सुशासनको पक्षमा, सामाजिक विभेद, अन्यायको विरुद्धमा, सामाजिक न्यायको पक्षमा र आर्थिक सुधारको पक्षमा काम उनले गरेको बताए । अहिले सदनमा भ्रष्टाचारी र भ्रष्टाचारलाई संरक्षण गर्न चाहने, विचार र तत्वहरु एकातिर र भ्रष्टाचारको विरोधी, सुशासनको पक्षधर र जनताको पहिचानको पक्षधर आफूहरु अर्कोतिर रहेको उनले बताए ।
प्रतिक्रिया